सार्वजनिक रुपमा टिकाटिप्पणी नगर्ने सहमति-
काठमाडौँ, कात्तिक ९ – एकीकृत माओवादीको स्थायी समितिको बैठकले बिपा विवादमा कुनै टुंगोमा पुग्न नसकेपछि केन्द्रीय समितिले यस’bout निर्णय गर्ने भएको छ। आज बिहान सम्पन्न बैठकले केन्द्रीय समितिले यस विषयमा निर्णय नगरेसम्म सार्वजनिक रुपमा यस विषयमा टिकाटिप्पणी नगर्ने सहमति पनि भएको छ।
यसअघि हिजो पार्टी मुख्यालय पेरिसडाँडामा भएको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा उपाध्यक्ष बाबुराम भट्टराई पक्षले वैद्य पक्षलाई पार्टीको नीतिअनुसार नचलेको आरोप लगाउँदै आफ्नो बाटो लाग्न चेतावनी दिएको थियो।
वैद्य पक्षले भने भारतसँग भएको व्यापार प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिपा) खारेज गरी प्रधानमन्त्री भट्टराईले राजीनामा गर्नुपर्ने जिकिर गरेको थियो।
सडकमा कालो झन्डा देखाएर र सदनमा विरोध गरेर वैद्य पक्षले पार्टी नीति नाघेको आरोप दाहाल-भट्टराई पक्षले लगायो।
बैठकमा सोह्रै जना स्थायी समिति सदस्यले आ-आफ्ना धारणा राखेका थिए। अबेर रातिसम्म चलेको बैठक कुनै निर्णयमा पुग्न नसकेपछि बुधबार बिहान ८ बजेसम्मका लागि स्थगन गरिएको थियो।
भारतसँग बिपा गर्दा पार्टीमा सञ्चार हुन नसकेको निष्कर्ष निकाल्दै दाहाल पक्षले त्यसलाई सर्मथन गरेको छ। ‘सम्झौता गर्दा पार्टीका अन्य साथीहरूसँग कम्युनिकेसन ग्याप भएको हो, सम्झौता ठिक छ भन्ने निष्कर्ष हाम्रो हो,’ दाहाल निकट एक स्थायी समिति सदस्यले भने।
वैद्य निकट अर्का स्थायी समिति सदस्यले भने पार्टी नीति विपरीत बिपामा हस्ताक्षर गरेकाले तत्काल सम्झौता खारेज गरेर प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफ्नो अडान कायमै रहने बताए। ‘पार्टीमा छलफल नै नगरी गरिएको हस्ताक्षरलाई मान्यता दिन्नौं,’ ती सदस्यले भने।
दाहाल निकट स्थायी समिति सदस्यले भने ‘पार्टीको कार्यक्रम गर्न नदिने, गुटको कार्यक्रम गर्ने, कालो झण्डा देखाउने, सदनमा विरोध गर्ने’ लगायत वैक्ष पक्षका क्रियाकलापको विरोध गरे। उनले भने, ‘पार्टी नीति नमान्नेहरू बस्न नसक्ने भए नबसे हुन्छ भन्ने एउटै धारणा सबैले राख्यौं।’
दाहाल निकटले वैद्य पक्षका क्रियाकलापलाई ‘गाइजात्रे’ संज्ञा दिएका थिए। ‘राजनीति भनेको इमान्दारी हो, यस्तो गाईजात्रा नदेखाऊ, आ-आफ्नो बाटो लाग्ने इच्छा भए गए हुन्छ,’ ती सदस्यले बैठकमा आफ्नो पक्षले राखेको अभिव्यक्ति उद्धृत गर्दै भने।
दाहालले मंगलबार बिहान आफू निकटहरूसँग सम्झौता ठीक भए पनि त्यसबेला पार्टी नेतृत्वसँग सञ्चार हुन नसकेको बताएका थिए। ‘अहिले बाबुरामलाई विफल बनाएर अर्को संकट निम्त्याउनु गलत हुन्छ, सम्झौता हुने बेला कम्युनिकेसन ग्याप भएको मात्रै हो,’ दाहाललाई उद्धृत गर्दै बिहानको छलफलमा सहभागी एक सदस्यले भने।
बिपा’bout उपाध्यक्ष तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ मौन बसेपछि दाहाल र भट्टराईलाई केही अप्ठेरो परेको ती सदस्यले बताए। दाहालले मध्यमार्गी बाटो निकाल्दै श्रेष्ठ, स्थायी समिति सदस्यहरू अमिक शेरचन, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेललाई सम्झौता गर्दा कम्युनिकेसन ग्याप भएको भन्नेमा सहमत पारेका थिए।
वैद्य पक्षले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने, महासचिव रामबहादुर थापाले अध्यक्ष दाहाल ‘रअ’ निकट रहेको आरोप लगाउने र सदनमा समेत सरकारले गरेको सम्झौताको विरोध गरेपछि ती विषयमा छलफल गर्न स्थायी समिति बसेको थियो।
दसैंअघि पदाधिकारी बैठकले कात्तिक १७ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरी विचार समूहले आफ्ना धारणा सार्वजनिक नगर्ने सहमति गरेको थियो। दसैंलगत्तै वैद्य पक्षले आफ्नो गुटको भेला गर्ने, पदाधिकारी बैठकको निर्णय खारेज गर्दै सार्वजिनक धारणा राख्ने, सडक आन्दोलनमा उत्रने गरेपछि स्थायी समिति डाकिएको थियो।
Posted by: Shiva Paudel
Source: Nagarik