मर्न बरु गाह्रो हुन्न.. गायक फत्तेमानले गाएको यो गीतजस्तो सजिलो छैन “मर्न बेलायतमा नेपालीलाई ।” मरेपछि अन्त्येष्टिका लागि लाग्ने महँगो खर्चले नेपालीको मृत्युलाई झन् कठिन बनाइदिएको हो । एक लाखभन्दा बढी नेपालीको बसोबास रहेको बेलायतमा एकाधबाहेक धेरैले अन्त्येष्टिका लागि चन्दा संकलन गर्नुपर्छ । पत्रपत्रिकामा नियमित जस्तो छापिने चन्दा संकलनको विज्ञापनले नेपालीको यस अवस्थाको पुष्टि गर्छ । विश्वको सर्वोच्च युद्धपदक मानिने भिक्टोरिया क्रस -भीसी) पाएका लछिमान गुरुङको अन्त्येष्टिका लागिसमेत नेपाली समुदायले चन्दा उठाउनु पर्यो भने अरूको के कुरा गर्ने ?
मृत्युदर्ता प्रमाणपत्रका लागि पनि पैसा तिर्नुपर्ने बेलायतमा मृत्यु संस्कारका कुनै पनि कुरा निःशुल्क पाइँदैनन् । हालै मात्र निधन भएका काशीराम थापाको अन्त्येष्टिमा सक्रिय गुल्मी जिल्ला समाज, यूकेका अध्यक्ष ओमप्रसाद थापाको अनुभवमा अन्त्येष्टिका लागि लाग्ने खर्च बेलायतको काउन्टी अनुसार फरक-फरक हुन्छ । “साह्रै मितव्ययी तरिकाले गर्दा पनि तीन हजारदेखि ३ हजार ५ सय पाउन्ड त लागिहाल्छ” थापा भन्छन् ।
भीसी लछिमान गुरुङको अन्त्येष्टिका दौरान सकृय तामाङ सोसाइटी, यूकेका अध्यक्ष धर्मबहादुर तामाङको भोगाइमा लन्डनमा अन्त्येष्टिका लागि करबि पाँच हजार पाउन्ड लाग्छ । “भीसी लछिमानको अन्त्येष्टिका लागि मात्र पाँच हजार पाउन्ड लाग्यो, सर्वसाधारणको पनि त्यही ठाउँमा अन्त्येष्टि गर्ने हो भने लाग्ने खर्च त्यति नै हो” तामाङ भन्छन् । उनकाअनुसार भीसी गुरुङको अन्त्येष्टि कार्यका लागि करबि एक हजार पाउन्ड खर्च लाग्ने हल ह्वोन्स्लो काउन्सिलले उपलब्ध गराएको थियो भने अन्त्येष्टिमा आएका पाहुनालाई खाजा र सत्कार खर्च बेग्लै बेहोरिएको थियो । सो खर्चका लागि पूर्वगोर्खा सैनिकको संगठन गेसोलगायतका स्थानीय नेपाली संस्थाहरूले चन्दा उठाएका थिए भने ब्रिगे अफ गोर्खाजले पनि त्यहाँ कार्यरतहरूबाट सहयोग संकलन गरेको थियो ।
त्यसो त बेलायतमा अन्त्येष्टि गर्नु नेपालीका लागि मात्र महँगो होइन । बेलायती दैनिक पत्रिका गार्डियनका अनुसार बितेका तीन वर्षमा अन्त्येष्टिमा लाग्ने खर्चमा ४८ प्रतिशतले वृद्धि भएको छ । पत्रिका लेख्छ, “अब सबै प्रक्रिया पुर्याइएको अन्त्येष्टि -फुल फ्युनेरल वक्र्स) कमैले मात्र गर्न सक्छन् ।” अर्को बेलायती दैनिक पत्रिका इन्डिपेन्डेन्टका अनुसार अन्त्येष्टि खर्च अझै पाँच वर्ष बढिरहने देखिन्छ । पाँच वर्षअघि करबि २ हजार ५ सय पाउन्ड रहेको सो खर्च अहिले करबि ५ हजार पुगेको र अझ वृद्धि भई सात हजार पाउन्डसम्म पुग्ने पत्रिकाको आकलन छ ।
अमेरकिन लाइफ सर्भेले सन् २००६ मा गरेको सर्भे अनुसार बेलायतमा अन्त्येष्टिका लागि औसत ३ हजार ३ पाउन्ड लाग्छ । तर, सन् २०१२ सम्ममा सो खर्च करबि ४ हजार ७ सय पुग्ने सर्भेको अनुमान छ । बर्सेनि करबि ४ लाख ७५ हजार मानिसको मृत्यु हुने बेलायतमा मृत्युपछि कानुनी प्रक्रियाका लागि अस्पताल लैजाँदादेखि नै खर्च सुरु हुन्छ । मृत्युदर्ता प्रमाणपत्रका लागि ठाउँ हेरी ७ देखि १० पाउन्डसम्म तिर्नुपर्छ भने अन्त्येष्टिका लागि ठाउँ नपाएसम्म ‘फ्युनेरल डाइरेक्टर’कहाँ शव राख्नुपर्दा प्रतिदिनका दरले खर्च लाग्ने गर्छ । “कहिलेकाहीँ त महिनादिनसम्म पालो कुरेर बस्नुपर्ने हुन्छ। शव राख्दा होटलमा बसेको भन्दा बढी शुल्क लाग्छ,” तमुधि यूकेका प्रमुख सल्लाहकार चन्द्रबहादुर गुरुङ भन्छन् ।
अन्त्येष्टिमा खटिने मजदुरको ज्याला सरकारले तोकिदिएको न्यूनतम ज्यालाभन्दा करबि सात गुना बढी छ । मिन्टेल रसिर्च कन्सल्ट्यान्सी, यूकेले सन् २०१० मा गरेको अध्ययन अनुसार अन्त्येष्टिमा खटिने फ्युनेरल डाइरेक्टरको ज्याला प्रतिघन्टा ३ हजार ५ पाउन्ड छ भने प्लम्बरको प्रतिघन्टा ३० पाउन्ड र इलेक्टि्रसियनको प्रतिघन्टा ३५ देखि ४५ पाउन्ड छ । जबकि, बेलायतमा सरकारले तोकिदिएको १८ वर्षमाथिका कामदारको न्यूनतम ज्याला ५ पाउन्ड ९३ पेन्स छ । त्यस्तै अत्येष्टि कार्यका लागि चर्चले करबि दुई सय पाउन्ड लिने गरेका छन् । चर्च अफ इङ्ल्यान्डले अन्त्येष्टिका लागि तीन सय पाउन्ड तोकेको छ ।
अत्येष्टिका लागि सरकारले दिने सहयोग भने नाम मात्रको छ । ट्याक्स क्रेडिट, पेन्सन क्रेडिट, जब सिकर एलाउन्स, हाउजिङ् बेनिफिट, डिसएबिलिटी बेनिफिट, चाइल्ड ट्याक्स क्रेडिट आदि सहुलियत लिइरहेकाहरूको हकमा अन्त्येष्टिका लागि सहयोग उपलब्ध हुने गरे पनि त्यो अपुग छ । “सरकारले दिने सात सय पाउन्डले केही खर्च पनि पुग्दैन,” तामाङ भन्छन् ।
अधिकांश नेपालीको अन्त्येष्टि समुदायले चन्दा संकलन नगर्दासम्म हुन सक्दैन । त्यसैकारण होला, बेलायतमा आफ्नो जातिपिच्छे र ठाउँपिच्छेका समाज खोल्नुपर्ने भएको। पुर्जा भन्छन्, “धेरैजसो नेपालीसँग तीन हजार पाउन्ड बचत हुने अवस्था छैन । भोलि केही भइहाल्यो भने चन्दाको भर नपरी नहुने बाध्यता छ । त्यसैले हामीले त समाजका सदस्यलाई सक्रिय र कम सक्रिय गरी दुई वर्गमा विभाजन गरेका छौँ । सक्रिय सदस्यको निधन भएमा ३०/३० पाउन्ड उठाउने गरेका छौँ ।”
उमेर पुगेका र काम गररिहेकासित केही रकम सञ्चित भए पनि बेलायतमा केही वर्षयता ह्वात्तै थपिएका वृद्धावस्थाका पूर्वगोर्खा र विद्यार्थीसित भने रकम अभाव हुनु स्वाभाविक छ । तामाङ भन्छन्, “पेन्सन क्रेडिट खाइरहेका वृद्ध पूर्वगोर्खा र विद्यार्थीलाई केही भइहालेमा चन्दा नउठाई शव उठ्न सक्दैन । जातीय र स्थानीय संस्थाहरूले चन्दा नउठाएसम्म कसैले आफैँले केही गर्नसक्ने अवस्था छैन ।” त्यसैले आफू आबद्ध तामाङ सोसाइटीको विधानमा भैपरी आएमा के गर्ने भनेर प्रस्टसँग व्यवस्था गरिएको उनी बताउँछन् ।
वृद्ध पूर्वगोर्खालाई बेलायतको आवासीय अधिकार दिलाउन पहलकदमी गरेको गेसोले भने अहिले आफ्ना सदस्य जोकोही मरे पनि प्रतिसदस्य १०/१० पाउन्ड उठाउने गरेको महासचिव महेन्द्रलाल राई बताउँछन् । भन्छन्, “पहिले नेपालमा पनि मर्दापर्दा आफन्त छिमेकीहरूले चामल, पैसा आदि सहयोग गर्ने चलन थियो । अहिले बेलायतमा पनि त्यही चलन चलाउन खोजेका छौँ ।”
कालले कसलाई कतिबेला बोलाउँछ, कसैलाई थाहा हुँदैन । बितेका दुई वर्षमा धेरै पूर्वगोर्खाका लागि चन्दा उठाउनुपरेको देखिन्छ । बेलायतका लागि आफ्ना ज्यान, हातखुट्टा दिएका पूर्वगोर्खाको अन्त्येष्टिका लागि चन्दा उठाउनु लाजमर्दो भएको बताउँछन् तामाङ । भन्छन्, “यस देशका लागि धेरै नेपालीहरू लडे, ज्यान दिए, हातखुट्टा चुँडाले तर बेलायत सरकारले अधिकार कागजमा मात्र दियो । उसले हेरविचार गर्ने कर्तव्य पूरा नगर्दा यो समस्या आइपरेको हो ।”
एकपछि अर्को गर्दै थपिँदा संस्था र एउटै व्यक्ति धेरै संस्थामा सक्रिय हुने कारण एउटै व्यक्तिले धेरै ठाउँमा चन्दा दिनुपरेकाले अन्त्येष्टिका लागि चन्दा उठाउने चलन दिगो नहुने देखिन्छ । तर, चन्दाको विकल्पका ’boutमा सोच्न र कार्यक्रम बनाइ हाल्न भने नेपाली समाज तयार भइसकेको देखिँदैन । समाजमा एक त रचनात्मक सोचको अभाव छ, अर्कोतिर अहिले हुँदै गरेको सहयोग पनि रोकिन्छ कि भन्ने भयले चन्दाभन्दा बाहिर जान नसकिएको संघसंस्थाका पदाधिकारी बताउँछन् ।
गुल्मी समाजका अध्यक्ष थापा भन्छन्, “चन्दा भन्दाभन्दै विकृति सुरु भइसकेको छ । आफैँ गर्न सक्ने औकात भएकाले पनि चन्दाको आशा गर्न थालिसकेका छन् । त्यसैले हाम्रो पुख्र्यौली सम्पत्तिबाट परिआएको खण्डका लागि सानो कोष खडा गर्नुपर्छ जस्तो लाग्छ । चन्दा उठाएर सधैँ सम्भव देखिँदैन । मान्छेहरू थाकिसकेका छन् ।”
पुर्जाको विचारमा चन्दाको विकल्प सोचनीय छ । बेलायतमा अन्त्येष्टिका लागि बिमा गराउने चलन पनि नभएको होइन । उनी भन्छन्, “अब नेपालीहरू पनि बिमा गर्नतिर लाग्नुपर्छ ।” गेसोका महासचिव राईका विचारमा विकल्पका ’boutमा बेलायत सरकार र स्थानीय सरकारले सोच्नुपर्छ । भन्छन्, “पूर्वगोर्खा सैनिकको सद्गत् गर्न चन्दा उठाउनु विडम्बना हो । मूल कुरा त यहाँको सरकारले नै यसमा ध्यान पुर्याउनुपनर्ने देखिन्छ ।”
आप्रवासी नेपाली समाज -एनआरएन)का अध्यक्ष सूर्य गुरुङ भने तत्कालका लागि चन्दाको विकल्प देख्दैनन् । भन्छन्, “कि त बेलायत सरकारसित माग्नुपर्यो । बेलायत सरकारको स्थानीय समुदायलाई अहिले सहयोग दिने प्रक्रिया हेर्दा त्यसले मात्र हामीलाई पुग्दैन । अहिले नै चन्दा माग्न छाड्यो भने अलपत्र हुन्छ । न दूताबासले हेर्नसक्छ, न त नेपाल सरकारले हेर्छ ।”
तर, संस्थाहरूको अग्रसरता भएमा चन्दाको विकल्प नभएको भने होइन । हरेक व्यक्तिबाट मासिक किस्ताबन्दीमा रकम संकलन गरेर कोष बनाएमा पनि चन्दा उठाइरहनु पर्दैन । थापा भन्छन्, “मज्जाले आफ्नै कोष बनाउन सकिन्छ । मैले अहिले बूढापाकालाई भन्ने गरेको छु, महिनाको पाँच पाउन्ड जम्मा गर्नूस् । हरेक काउन्सिलमा भएका नेपाली समाजले आपत्कालीन कोष बनाएमा चन्दा उठाइरहनुपर्ने छैन ।”
आफ्नै समाधिस्थल हुनुपर्छ भनेर मगर संघ, यूकेमा प्रस्ताव राख्ने उपाध्यक्ष हेम थापा सेँठ भन्छन्, “चन्दा उठाउँदा उठाउँदा अब त फलानो मर्यो रे भन्दा चन्दा दिनुपर्छ भनेर थाहा पाइनँ भन्ने अवस्था आएको छ । चन्दा दिँदादिँदा चन्दाकै लागि जागिर गरेजस्तो भएको छ ।” अरूभन्दा छुट्टै पहिचान दिन र आफ्नो संस्कारको संरक्षण गर्न आफूले छुट्टै समाधिस्थल हुनुपर्छ भनेर प्रस्ताव राखेको उनी बताउँछन् । सबै नेपाली मिलेर समाधिस्थल र जलाउने ठाउँ बनायो भने चन्दालाई विस्थापित गर्न सकिने उनको भनाइ छ । “सबै नेपालीसँग सल्लाह गर्यो भने सम्भव नहुने कुरा छैन” उनी भन्छन् ।
Posted by: Jay Ale Source: pokharastyle.com