आचार्य प्रभा, क्लोराडो
पुस्तक चर्चा:
निक्कै पहिलादेखी नै साहित्य र श्रीजनामा लगनशिल दीप्स शाहलाई कबिता यात्रामा सिद्धहस्त नै मान्न सकिन्छ । नेपाल छँदादेखी नै पत्रकारितामा समर्पित दीप्सका संग्रहहरु मध्ये “आगो” कबिता संग्रह दोश्रो हो । “प्रसून” साहित्यिक सँगालो पछीको यो “आगो” संग्रह अहिले टाढै भएपनी कोशेली स्वरूप मेरो हातमा आएको छ । उसो त दीप्सले समय समयमा उन्का कबिताको स्वाद मेरो फेसबुकको आँगनमा नछरेकी होइनन् र मैले पनी उन्का कबिताहरुबाट आँत भरुन्जेल तिर्खा नमेटेकी भने होइन । म त्यही समयदेखी नै दीप्सका शब्दरुपी भावको अनुरागी बनी सकेकी थिएँ । मलाई उन्को लेखकीय कला मन पर्छ । हुन त मैले मन पराउँनुको अर्थ दीप्सको रचना सबै उत्कृष्ट नै हुन्छ भन्ने पनी होइन । सबैका बुझाई, हेराई र महसुश गराई भिन्नाभिन्नै हुन्छन् तर मेरो बुझाईमा भने उन्का औसत कबिताहरुले मलाई त्रिप्त पारेकै छन् । यो संग्रहमा पनी उन्का हरेक कबिताहरुले यथार्थता ओकलेको छ । यहाँ सबै कबिताहरुको चित्रण गर्न त सकिन्न तर केही मेरो मनलाई छोएका कबिताहरुको म आफुले बुझे सम्म भावर्थ खोल्न चाहन्छु ।
दीप्सको अती चर्चा गर्नै पर्ने कबिता मध्ये एक कबिता हो “आगो” हुन त यो कबिता मैले रोजी हालेँ। यस्को’boutमा केही बोल्नलाई तर मलाई नै हिम्मत छैन कि यो कबिताको म कसरी ढोका उघारौं ? मेरो अर्थ यो हो कि उन्को यो कबिताका शब्दहरु क्लिष्ट नभएर सरल शब्दमा नै छन् तथापी कबिताभाव नै गहन छन् जस्लाई मैले बुझेर पनी बुझ्न सकिरहेकी छैन र नबुझेर पनी यसको बिषयमा केही भन्न आतुर छु । कबयित्रीले आगोलाई यसरी अर्थ्याएकी छिन् कि आगो साँच्चै बिध्वँश हो जस्ले क्षणभरमा नै सबै ध्वस्त गर्छ त्यसैले उनी आफुले नै आगोलाई निलेर अर्थात यस्को अस्तित्वलाई पलायन गरेर आफ्नी आमाको बर्बादी बँचाउँन चाहन्छिन् वा आगोको बिनाशकारी बन्न चाहन्छिन् । उता फेरि कबयित्री आगोलाई अर्को रूपमा हेर्छिन् र भन्छिन् । “आगो” चेतना, सभ्यता, शक्ती आदी आदी । यसैले उनी फेरि आगोलाई सकारात्मकताको रूप दिँदै भन्छिन् । म आगोलाई ह्वाल्ह्वाल्ती ओकल्न चाहन्छु । जो चेतना हो, साहस हो, शक्ती हो । जस्लाई ओकलेर उनी समस्त जनलाइ आगोको परिचय दिन चाहन्छिन् र भन्न चाहन्छिन् कि आगो झैँ सबै शक्तिशाली, साहसी र चेतनशिल बनुन् । यही कबिताको अन्तमा उनी निरश बन्दै भन्छिन् यती हुँदा हुँदै पनी आगो सबैसँग अल्पपरिचित छ । आगोको आशयबाट सबै अनभिज्ञ छ यस्को परिचय बिना नै यस्लाई सबैले परिभाषित गरिरहेका छन् । त्यसैले उनी आमालाई बिन्ती गर्दै भन्छिन् अब आगो म नै निल्छु । उद्दार संहार जे हुन् ताकी भविष्यमा आगो के हो ?भन्ने सबै सन्ततिले चिनुन् अर्थात कबयित्री आगोलाई निडरसँग निलेर वा प्रयोग गरेर सारा सन्ततिलाइ आगोको प्रत्यक्षदर्शी बनेर देखाउँन चाहन्छिन् । यसरी कबयित्रीले “आगो”जस्तो बिषयलाई यसरी दर्शाएकी छिन् । त्यस्तै उन्का अर्का कबिता “हामीलाई पूर्णबिराम चाहिन्न” बाट केही अंश ।
“पुर्ख्यौली अंशको पाखो
बाजेले रोपेका बर-पिपल,चौतारी
कानको दुलोमा
स्थिरताको तेल भरेर
निष्काम कुम्भकर्णहरु सुतिरहन्छन्
तर म देख्दैछु
छेवैबाट
एकहुल कलम किसानहरु
डोकोभरी कबि फूलका बेर्ना बोकी
ब्रिक्षा रोपणमा निस्केका छन्
युगका गर्हा र पाटोहरुमा
कलम जोत्न । ”
हुन त यो कबिताको बर्णनमा कलमकर्मीहरुको मात्र बर्णन नभएर अन्य ब्यक्तिहरुको पनि बर्णन छन् । तर यी माथीका हरफहरुले नै पूर्णताको आभास दिएको छ । माथीका हरफहरुमा कबयित्रीले पुर्खाको सम्पत्तिमा राज गरेर अल्छे आँग तान्दै खान पल्केका सन्तानहरुलाई उपहास गर्दै ब्यङ्यबाण गरेर कलमकर्मीहरुलाई कलमी किसानहरुको पर्याय बनाएर साँच्चै कबि लेखकलाई मज्जाले हौस्याएकी छिन् । यसरी उन्का कबिताहरुमा मिठासपूर्ण भाव र अर्थपूर्ण शैलीहरु पाइन्छन् । अन्त्यमा दीप्सका कबिताहरुसँग रुमल्लिँदा म उन्का सबै कबिताहरुमा निर्लिप्तसँग डुबेँ । मलाई यस्तो भान भयो कि उन्ले कबिता रच्न खर्लप्प नेपाली शब्दकोश खाइनन् न त उन्ले कबितालाई अझ गहन देखाउँन क्लिष्ट शब्दहरुको नै प्रयोग गरेकी छिन् । यसैले उन्का रचनाहरुमा सहजता, सरलता र असली चित्रण पाईन्छ ।
अब एउटी पाठक र चिर्फारकर्ताको हिसाबले दीप्सको कलमी यात्रालाई नियाँल्दा मलाई यस्तो भान भयो कि कबयित्रीको भावना अती नै कोमल र सरल छ तथापी उनी अरु लेखक झैं शोक र बिव्हल्तामा डुबेर त्यती रोएकी छैनन्, आफ्ना कबिताहरुमा अर्थात उन्ले अरु प्रबासी लेखक मनहरुले झैं परदेशिनुको पीडा पर्याप्त मात्रामा पोखेकी छैनन् । सबै रचनामा उन्ले आफ्नो बर्गतले भ्याएसम्म आफ्नो शब्द,चयन श्रीजनालाई भरपुर कसी लगाएकी छिन् तापनी उन्का कबिता लेखनको बिषयमा “देशप्रतिको” बिषय बस्तु अलिक कम नै पाइेयो । यस्को अर्थ यो होइन कि उन्मा देशभक्ती भाव नै छैन भन्ने । मलाई भने सबै प्रबासी कलमहरुको संग्रहमा “देश पीडा” नै औसत जस्तो बाचन गर्ने बानी परेकोले दीप्सको यो संग्रहमा यो बिषय नपाउँदा अलिकती खल्लो महसुश भने भयो । शायद अब आउँने संग्रहको लागी पो दीप्सले साँचेकी हुन् कि ? हुन त उन्को एउटा कबिता “मैले माटो बेचिन”मा भने देशप्रेम झल्किएको आभास छ तर मेरो नजरले त्यो मात्र पर्याप्त पाएन र मैले यसै भनें। यो मेरो मात्र जिद्दी भने होइन । अन्त्यमा सम्पूर्ण पाठकहरुले पढ्नै पर्ने कलम हो दीप्स शाह । “आगो” जस्ले पाए उस्को मन पग्ल्यो । जस्ले पाउँन बाँकी छ उस्को पनि मन पग्लिनेछ । जस्ले पाउँने चेष्टा गर्नेछ “आगो” उस्को निम्ती न्यानोपनको आभास बनेर कबिता मुस्लो बनेर छाउँनेछ ।
“आगो”लाइ झनै मुस्लो बनाएर तेजिलो पार्ने जिम्मा अर्का बहुप्रतिभावान चित्रकार खगेन्द्र पन्धाक (चुम)ले आफ्नो कलाद्वारा पुस्तकका छातीभरी अर्थपूर्ण रंगहरु पोँतेर अझ उच्च कोटिमा पुर्याएका छन् । दीप्सलाइ आत्मिक भावले र ओजपूर्ण प्रेरणाले थुम्थुमाएर फेसबुककै मित्रहरुले अझै प्रेरणा दिएको पनि उन्ले उजागर गरेकी छन् । यसैले “आगो” सबैको प्रेरणा र उमङको उपज हो भन्नमा अत्युक्ती हुन्न । यस्लाइ सबैले एकपटक प्रेरणाको “आगो” सम्झेर ताप्ने प्रयास गरेमा कठ्याङ्रिएको मनमा अवश्य पनि न्यानोपनको आभास मिल्ने नै छ । अन्त्यमा म कुनै समिक्षक नभएर एउटी पाठक र दिदीको नाताले भविष्यमा अझै यो यात्रामा उर्जा मिलोस् भन्ने हेतुले यती लेखिदिने हिम्मत गरें । यो कुनै समिक्षा नभएर हौशलाका शब्दहरु हुन् वा हुनेछ । अस्तु…
Posted by: Jay Ale