२५ प्रतिशत नेपाली गरिबी


नेपाल जीवनस्तर सर्वेक्षण ०६६/६७ 

काठमाडौं, ३ कात्तिक, नेपाल जीवनस्तर सर्वेक्षण ०६६/६७ ले नेपालमा करिब २५ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको देखाएको छ । कृषिमा आश्रित, ठूलो परिवार संख्या र बालबालिकाको संख्यामा वृद्धिसँगै गरिबी बढ्दै गएको पाइएको छ । सहरी क्षेत्रमा १५ प्रतिशत र ग्रामीण क्षेत्रमा २७ प्रतिशत मानिस गरिबीको रेखामुनि रहेको सर्वेक्षणले देखाएको छ ।

केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार घरमुलीको शैक्षिक स्तर बढ्दै जाँदा गरिबी घट्दै गएको पाइएको छ । विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा गरिएको सर्वेक्षणले गरिबीको विश्लेषण पारिवारिक उपयोग खर्चका आधारमा गरिएको हो ।

सर्वेक्षणअनुसार एक जनामात्र भएको घरपरिवारको गरिबीको दर ३ प्रतिशत छ भने एकजना थप हुँदा गरिबी बढेर ७ प्रतिशत पुगेको देखिएको छ । सातजना र त्योभन्दा बढी आकार भएको घरपरिवारको गरिबीको दर ३८ प्रतिशतभन्दा बढ्ने अनुमान सर्वेक्षणले गरेको छ । त्यसैगरी, सात वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या बढ्दा गरिबी बढेको पाइएको सर्वेक्षणले औंल्याएको छ । सात वर्षभन्दा कम उमेरका बालबालिका नभएको घरपरिवारको गरिबी दर १२ प्रतिशत रहेकोमा त्यस्ता बालबालिका तीन जनाभन्दा बढी हुँदा गरिबीको दर ४७ प्रतिशतभन्दा बढी हुने अनुमान सर्वेक्षणले गरेको छ ।

परिवारमा मुलीले प्राप्त गरेको शैक्षिक स्तरका आधारमा गरिबी प्रत्यक्ष घटबढ भएको पाइएको छ । परिवार मुलीको शैक्षिक योग्यता बढी भएकोमा गरिबी कम र शैक्षिक स्तर कम हुँदा गरिबी बढेको देखिएको छ । ११ कक्षा वा सोभन्दा बढी शैक्षिक योग्यता भएको परिवार मुली भएको परिवारभन्दा निरक्षर परिवारमुली भएको परिवारमा गरिबी चार गुणा बढी हुने सम्भावना रहेको सर्वेक्षणले औंल्याएको छ । निष्क्रिय परिवार मुली भएका घर परिवारमुली भएका परिवारमध्ये १७ प्रतिशत घरपरिवार गरिब रहेको पाइएको छ ।

सर्वेक्षणले कृषियोग्य जमिनको मात्रासँगै गरिबीको दर घट्दै गएको औंल्याएको छ । एक हेक्टरभन्दा बढी कृषियोग्य जमिन हुने घरपरिवारको गरिबी भारी मात्रामा घटेको सर्वेक्षणले देखाएको छ । सहरी तथा ग्रामीण दुवै क्षेत्रमा कृषियोग्य जमिनको आकार बढ्दै जाँदा गरिबी घट्दै गएको देखिएको छ ।

त्यसैगरी परिवारको सुविधाको पहुँचअनुसार गरिबीको सम्बन्ध घटबढ भएको सर्वेक्षणले देखाएको छ । ३० मिनेटभित्र सार्वजनिक सेवाका सुविधामा पहुँच र गरिबीको अवस्थालाई हेर्दा उक्त समयमा नजिकको सुविधामा पहुँच हुने घरपरिवार औसत गरिबीभन्दा कम रहेको पाइएको छ ।

जीवनस्तर सर्वेक्षणले उपभोग खर्चमा असमानता झल्काउने गिनी सूचकांकको मान ०.३३ रहेको देखाएको छ । यो सूचांक दोस्रो सर्वेक्षणको तुलनामा घटेको पाइएको छ । यो सूचकांक ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा तीव्र रूपमा घटेको सर्वेक्षणले औंल्याएको छ ।

सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा गरिबीको दर, विषमता र गहनता सबैभन्दा उच्च देखिएको छ । हिमाली क्षेत्र सबैभन्दा गरिबीले ग्रस्त छ । सर्वेक्षणअनुसार गरबी औसत ४२ प्रतिशत छ । पहाड र तराई करिब २४ प्रतिशत गरिबी रहेको सर्वेक्षणमा देखाइएको छ । महिला परिवारमुली भएको घरपरिवारको गरिबी दर तुलनात्मक रूपमा केही कम देखिएको छ । कृषि क्षेत्रको ज्यालादारीमा लागेका परिवार अन्य क्षेत्रको ज्यालादारीमा लागेका परिवारभन्दा तुलनात्मक रूपमा बढी गरिब भएको पाइएको छ ।

परिवारको खाद्यवस्तु, गैरखाद्य वस्तु र बासस्थानका लागि भएका खर्चलाई जोडेर कुल पारिवारिक खर्चका आधारमा गरिबी मापन गरिएको हो । यसले प्रतिव्यक्ति प्रतिदिन २ हजार २२० किलो क्यालोरी खाद्यान्नलाई आधार मानेको छ । सात दिनको खाद्य उपभोगको खर्चको आधारमा खाद्य गरिबीको मापन गरिएको छ ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.