मोवाइल मोह नभएका साहित्यकारहरु


– देवी सिग्देल – कोइराला

साहित्यिक कार्यक्रमहरूमा निमन्त्रणापत्र छापेर घर-ठेगाना खोज्दै धाउने प्रचलन क्रमशः घट्दैछ । टेलिफोन गरेर निम्तो गर्ने, मोबाइलमा सन्देश पठाउने, ईमेल गर्ने लगायतका सजिला र भरपर्दा माध्यमहरू बाक्लैगरी अपनाउन थालिसकिएका छन् । यसमा पनि मोबाइल फोन त झन् अत्यावश्यकजस्तै भइसकेको छ र पनि कतिपय साहित्यकारहरू चाहिँ यसलाई अझै पनि विलासिताको साधन, अनावश्यक, समयको दुरूपयोग गर्ने साधन मान्नुहुन्छ ।

वरिष्ठ साहित्यकार कमलमणि दीक्षित मोबाइल सुविधाको साधन भए पनि वैयक्तिक जीवनको बाधक हो हुन्नुहुन्छ । आफ्नो सुविधाका लागि हुनुपर्नेमा अरूको सुविधाका लागि बोकिदिएको जस्तो भएकोले उहाँ भरसक मोबाइलबाट टाढै रहन चाहनुहुन्छ । चाहिँदा-नचाहिँदा फोन आउने, सन्देश -म्यासेज) आउने, विना काम पनि बेलाबेलामा झस्किरहनुपर्ने भएकोले उहाँ मोबाइलबाट टाढै रहन रुचाउनुहुन्छ । कुनै अत्यन्तै जरुरी काममा एकाग्र भइरहेको बेला बज्यो भने के गर्ने ? निजी जीवनको बाधक ठान्ने दीक्षित बाहिर हिँड्दा चाहिँ ड्राइभरले सम्झाएको भरमा गाडीमा राख्ने गरेको बताउनुहुन्छ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, राष्ट्रकवि माधव घिमिरे, साहित्यिक अन्वेषक शिव रेग्मी, डा. सनतकुमार वस्तीलगायतका धेरै व्यक्तित्वहरू मोबाइलबाट टाढै रहन रुचाउनुहुन्छ । राष्ट्रकवि यसलाई साधनामा बाधा पुर्‍याउने साधन ठान्नुहुन्छ । अब बूढेसकालमा यस्तो झञ्झटमा किन पर्ने, टेलिफोनबाटै सबै चलेकै छ नि भन्नुहुन्छ उहाँ ।

जति आवश्यक हो, उत्तिकै नै बाधक पनि हो मोबाइल सत्यमोहन जोशीको विचारमा । चलाउन झञ्झट, जुनबेला पायो उही बेला बजेर काममा बाधा गर्ने र नबोक्दा पनि सजिलै जीवन निर्वाह भइरहेको अवस्थामा किन भिर्नु मोबाइल भन्नुहुन्छ उहाँ । जो शान्तिपूर्ण जीवन बिताउन चाहन्छन्, उनीहरूका लागि आवश्यक छैन । कार्यक्रमहरूमा गइरहनुपर्दा मोबाइल बन्द गर्नु भन्छन्, बिर्सियो भने बज्ला र यसले भनेको टेरेन भन्लान्, बरु बोक्दै नबोक्यो, त्यही राम्रो भन्नुहुने जोशी यसका गुण धेरै भए पनि आफूमा मोबाइल बोक्ने मोह नपलाएको बताउनुहुन्छ ।

घरमै बसेर साधना गर्ने आफूजस्तालाई आवश्यक नभएको ठान्नुहुने शिव रेग्मी मोबाइल भएर पनि प्रयोग गर्न रुचाउनुहुन्न । धेरै दौडदूप गर्नुपर्नेहरूलाई, व्यापारीहरूलाई, राजनीतिज्ञहरूलाई आवश्यक हुन्छ तर दिनचर्या निर्वाहमा आवश्यक देख्नुहुन्न उहाँ । बोक्नेहरूमा पनि भनेको ठाउँमा नलाग्ने, नसुनिने, कानका लागि पनि खतरा, यदाकदा पड्किएका समाचार आदिले गर्दा उहाँमा मोह पलाउन दिएका छैनन् ।

गजलकार डा. सनतकुमार वस्ती मोबाइल भनेको व्यस्त जीवन जीउनेहरूका लागि हो भन्नुहुन्छ । अरूलाई आफ्नो पहुँचमा ल्याउने र अरूसँग आफू पनि पहुँचमा रहिरहनेहरूलाई, दिनमा सय-दुईसय कल गरेर नाफाघाटा केलाउनुपर्नेहरूलाई आवश्यक ठान्नुहुने डा.वस्ती आफ्नो स्वभाव अतिरिक्त साधनमा लालायित नहुनेखालको भएको बताउनुहुन्छ । मोबाइल बोकेपछि जहाँतहीँ बज्छ- भीडमा, गाडीमा, कक्षामा, एकान्तिक गोप्य काममा, जसले अप्ठ्यारोमा पार्छ । जोसँग निरन्तर कुरा गरिरहनुपर्छ त्यस्तालाई चाहिने साधन हो भन्नुहुने वस्ती भावनात्मक जोसलाई मत्थर पार्ने यन्त्र मान्नुहुन्छ र आफूमा त्यस्तो जोस नभएको बताउनुहुन्छ । तीन ‘मो’ अर्थात् मोबाइल, मोमो र मोटरसाइकल प्रति आफूमा कहिल्यै मोह नभएको र मोबाइल निरन्तर फैलिन चाहनेहरूका लागि आवश्यक होला तर आफूजस्ता फैलिन नचाहने पनि धेरै होलान् भन्नुहुन्छ उहाँ । साहित्यकार एवं मानवअधिकारकर्मी पुरुषोत्तम दाहाल, कवि कलानिधि दाहालजस्ता लामो समयसम्म मोबाइलप्रतिको आकर्षणबाट टाढै रहनुभएकाहरूले पनि केही समययता बोक्न थाल्नु भएको छ । प्रयोग गर्ने साहित्यकारहरू धेरै छन् र प्रयोग नगर्नेहरू पनि अझै उल्लेख्य सङ्ख्यामा छन् । वरिष्ठ साहित्यकार मदनमणि दीक्षित माधवलाल कर्माचार्य, ईश्वरमान रञ्जितकार लगायतका स्रष्टाहरुले मोवाइल मोह देखाउनुभएको छैन ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.