आभूषणका रूपमा मात्र नभएर सुनको उपयोग आयुर्वेदिक तथा एलोप्याथिक औषधिहरू, जीव रासायनिक उत्प्रेरकहरू, पर्यावरण विज्ञान, इलेक्ट्रोनिक्स, नेनो टेक्नोलोजी, फोटोग्राफी एवं दन्त चिकित्सादेखि अन्तरिक्ष यानहरूसम्म हुन्छ। फरक यति हो कि अरू ठाउँमा प्रयोग गरिने भन्दा आभूषणमा यसको प्रयोग बढी हुन्छ। वास्तवमा सुन विशिष्ट धातु हो, जसमा जल वा साधारण अम्ल-क्षारको प्रभाव हुँदैन न त अक्सिजनको। यसलाई पिटेर फैलाउन सकिन्छ। एक ग्राम सुनबाट एक स्क्वायर मिटरसम्मको पाता बनाउन सकिन्छ। अतः आफ्नो सिर्जनात्मकता र कारीगरी देखाउन सुनभन्दा राम्रो धातु अरू केही हुँदैन। सायद त्यसैले यसको खपत पनि बढ्दो छ। यसको बढी मात्रामा उत्पादन अफ्रिकी महाद्वीपका साना-ठूला मुलुकहरूमा हुन्छ। यद्यपि दुःखको कुरा सुन उत्पादन गर्ने अधिकांश मुलुक आफै गरिब छन्। सुनको सभ्यताबाट अघि बढेको दक्षिण एसियाली परिवेश मात्र नभएर सुमेरियन सभ्यता एवं कालो सागरको किनारमा रहने मानव बस्तीमा ईशापूर्व ३ हजार र ४-५ हजारको कालखण्डमा सुनको उपयोगको प्रमाण पाइएको छ। जसरी मानव सभ्यताको विकास हुँदै गयो त्यसरी नै जीवनमा धातुको उपयोग पनि बढ्दै गयो। फलाम, तामा आदि भाँडाकुँडा, हँसिया, कुटो, कोदालो आदि आवश्यक वस्तुहरू बनाउने काममा प्रयोग हुन थाले, तर सुन धातुराज नै बनेर रह्यो। यसको उपयोग पुँजी संचय वा आभूषण बनाउन गरियो। सुनको स्वभाव बुझ्ने र जान्ने कलाकारले आफ्नो दक्षताका आधारमा पहिचान र सम्मान पनि पाएका छन्।
२४ क्यारेक्टर अर्थात् लगभग शतप्रतिशत शुद्धता भएको सुन सम्हाल्न र त्यसमा आभूषण बनाउन न सरल हुन्छ न त व्यावहारिक। पूर्ण शुद्धता भएको सुनमा बलियो ढंगले रत्न जडान गर्न पनि असम्भव हुन्छ। त्यसैले सुन्दर र रुचिकर गहना बनाउन कलाकारले सुनमा तामा, चाँदी र अन्य धातुलाई मिश्रण गर्न थालेका हुन्। विस्तारै सुनका आभूषणमा पनि अन्य धातुको मात्रा बढ्न थाल्यो। २२ क्यारेटर अर्थात् लगभग ९० प्रतिशत शुद्ध हुने सुनका आभूषणको नाममा १६ देखि १७ क्यारेक्टरसम्मका आभूषण धोका दिएर बेच्न थालियो। सुन आफैमा आभामय धातु भएकाले हेराफेरीका अगाडि तेज भन्दा तेज आँखा पनि धोका खान पुग्छ। तीव्र गतिमा बढ्दो यसको मूल्यले पनि सानो नोक्सानीमा पीडा बढेको देखिन्छ।
विगतमा स्वर्ण आभूषणमा क्रान्तिकारी परिवर्तन आएको छ। आभूषणका ग्राहकहरूको परिचय क्यारोमिटर’ सित भएको छ। यो मेसिनले आभूषणलाई नोक्सान नपुर्याई आभूषणको सुन कति क्यारेक्टर शुद्ध छ भन्ने कुरा बताउन सक्छ। क्यारोमिटर क्रान्तिले आम मानिसमा ब्रान्डेड ज्वेलरी र हलमार्क ज्वेलरीका विषयमा चर्चा हुने गरेको छ । सम्भवतः ब्रान्डेड ज्वेलरीका विषयमा चर्चाको अर्थ ती गहना कारखानामा बन्नु वा ती ब्रान्डको मार्गदर्शनमा बन्नु हो। बजारमा उतार्नुअघि सुनको शुद्ध छ कि छैन जाँच हुन्छ। खरिद गर्दा कम्पनीद्वारा स्वर्ण क्यारेक्टरको शुद्धताको सर्टिफिकेट र केसमेमो दिइन्छ जसमा सुनको तौल, बनावट, शासकीय कर आदिको कुल योग उल्लेख हुन्छ। यदि भविष्यमा ग्राहकले आभूषण बेच्न चाहे यही सर्टिफिकेट एवं त्यसमा उपलब्ध ग्यारेन्टी गरिएको सुनको शुद्धताका आधारमा बजार मूल्य पाइन्छ।
Posted by: Raju Gurung