“माओवादी पनि दोहोरो नागरिकताका पक्षमा”
काठमाडौं, २८ असोज
गैरआवासीय नेपाली (एनआरएन) बाट देशको सामाजिक तथा आर्थिक रुपान्तरणमा सक्रिय योगदान हुने भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले उनीहरूलाई दोहोरो नागरिकता दिनुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीको स्वागतार्थ शनिबार आयोजित कार्यक्रममा दुवै दलका शीर्ष नेताहरूले नयाँ संविधानमै दोहोरो नागरिकताको प्रावधान राख्ने आश्वासन दिए । संसद्मा प्रतिपक्षी दलको भूमिकामा रहेका दुवै दलले एनआरएनलाई नेपाली नागरिकता दिँदा मुलुकलाई कुनै बेफाइदा नहुने उल्लेख गर्दै नागरिकतालाई राष्ट्रियताको मुद्दा बनाउन नहुने बताएका छन् ।
संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अधिकारीहरूको सम्मानमा शनिबार छुट्टाछुट्टै आयोजना गरेका चियापान तथा स्वागत समारोहमा नेताहरूले एनआरएनलाई नेपाली नागरिकताका लागि आफूहरू नै लड्ने प्रतिबद्धता जनाए ।
कांग्रेस सभापति सुशील कोइरालाले आफूलाई ‘एनआरएनको नेपालस्थित प्रतिनिधि’ का रूपमा उभ्याउने वचन दिँदै दोहोरो नागरिकताका लागि सरकारसँग ‘लबिङ’ गर्ने आश्वासन दिए । “तपाईंहरू ढुक्क हुनुस् कि म तपाईंहरूकै प्रतिनिधि भएर सरकारलाई झक्झकाउनेछु,” उनले भने, “एनआरएनहरू नेपाली आमाकै सन्तान हुन्, उनीहरूलाई नागरिकता दिनुपर्छ भन्ने कांग्रेसको एजेन्डा हो ।” कोइरालाले एनआरएनएको पाँचौं विश्व सम्मेलनबाट पारित एजेन्डा लागू गर्न आफ्नो पार्टीले पनि सहयोग गर्ने बताए ।
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले संविधानसभाको विषयगत समितिमा विवाद भए पनि संविधान लेख्नेबेला आफूहरूले एनआरएनका पक्षमा दह्रो अडान राख्ने प्रतिबद्धता जनाए । “एनआरएनलाई परिचयपत्रले मात्रै हुँदैन, नागरिकता नै दिनुपर्छ भन्ने हाम्रो अडान हो,” उनले भने ।
एमाले अध्यक्ष झलनाथ खनालले ‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने एनआरएनको भावनालाई आफ्नो पार्टीले हृदयदेखि नै स्वागत र समर्थन गरेको बताए । एनआरएनको सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्न प्रमुख राजनीतिक दलहरूबीच मोटामोटी सहमति बनिसकेको उल्लेख गर्दै खनालले नयाँ संविधानमा दोहोरो नागरिकताको ग्यारेन्टी गर्न एमाले तयार रहेको बताए ।
“तपाईंहरू ढुक्क भएर जानुस्, तपाईंहरूले परिस्थितिबस जुनसुकै देशको नागरिकता लिनुभए पनि आफ्नो जन्मभूमिको नागरिकताबाट वञ्चित गरिनेछैन,” उनले भने । खनालले शुक्रबार सम्पन्न एनआरएनको पाँचौं विश्व सम्मेलनले पारित गरेको १७ बुँदे काठमाडौं घोषणापत्र कार्यान्वयनमा आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
एमाले विदेश विभाग प्रमुख केपी शर्मा ओलीले नेपाली नागरिकता भएको व्यक्तिलाई अर्को मुलुकले पनि नागरिकता दियो भन्दैमा उसको नागरिकता खोस्नु जरुरी नभएको बताए । अर्को मुलुकको सुविधा लिनकै लागि कसैले उक्त मुलुकको नागरिकता लिन्छ भने त्यसमा नेपालले टाउको दुखाइरहन नहुने उनको भनाइ थियो ।
“कुनै व्यक्तिले सम्मान गरेर वृद्धवृद्धालाई ‘मेरो बुबा’ भन्यो भने उसको बाबुले ‘अरुलाई बुबा भनिस्, तलाईं मेरो छोराबाट खारेज गर्छु’ भन्छ र ?” ओलीले प्रश्न गरे, “त्यसैले, अरु देशले सम्मान गरेर नागरिकता दियो भन्दैमा उसको नागरिकता नै खारेज गर्नु आवश्यक छैन ।” नेपालमा नरहेका बेला व्यक्तिको नागरिक अधिकार स्वतः निष्क्रिय रहने भएकाले यो मुद्दालाई चर्काइरहन आवश्यक नरहेको उनको भनाइ थियो ।
एनआरएनएका नवनिर्वाचित अध्यक्ष जीबा लामिछानेले आफूहरूले दोहोरो नागरिकता नभई ‘नेपाली नागरिकताको निरन्तरता’ चाहेको बताए । आफूहरू विदेशमा पहिलो पुस्ताको नेपाली भएकाले नेपालीको अपेक्षाअनुसार लगानी भिœयाउन नसके पनि सक्दो पुँजी भिœयाउन लागिपरेको उनले बताए ।
“नेपालमा लगानीमैत्री वातावरण नभए पनि हामीमा मातृभूमिलाई माया गर्ने नेपालीले यस्तै बेलामा सहयोग गर्नुपर्छ भन्ने भावना छ,” उनले भने, “नेपालमा जब लगानीमैत्री वातावरण बन्छ, त्यो बेलामा हामीले लगानी गर्नुपर्दैन, बहुराष्ट्रिय कम्पनी आफैं आउँछन् ।”
उनले आफूहरूको लगानीले नेपालमा लगानीमैत्री वातावरण बन्ने विचार व्यक्त गरे । नेपालका प्रमुख राजनीतिक दलले एनआरएनको नागरिकता समस्याका सम्बन्धमा राखेको स्पष्ट अडानबाट आफूहरू उत्साहित भएको उनको भनाइ थियो ।
कांग्रेसको चियापानमा लामिछानेले भने, “गिरिजाबाबु हाम्रो नागरिकता समस्याप्रति चिन्तित हुुनुहुन्थ्यो, उहाँको निधनपछि पनि कांग्रेस नेताहरूमा सोही गम्भीरता पाउँदा हामी हर्षित छौं ।”
निवर्तमान अध्यक्ष देवमान हिराचनले पाँचौं विश्व सम्मेलनमा आफूहरूले देखाएको एकताले नेपालका राजनीतिक दलहरूमा पनि सहमतिको राजनीति गर्ने सन्देश गएको बताए । “तपाईंहरू हामीप्रति सकारात्मक बन्नुभयो भने हामी मात्रै होइन, हाम्रा विदेशी साथीहरूको पनि लगानी भिœयाउँछौं,” उनले भने, “तपाईंहरूले हामीलाई आफ्नो भ्रातृ संगठनलाई चुनाव जिताउने अस्त्र बनाइदिनु भएन ।”
संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले राजनीतिक दलहरू मिले नेपाल पाँच वर्षमै समृद्ध हुने दाबी गर्दै कांगे्रस र एमालेजस्ता दलहरूले नै यसमा अग्रसरता लिनुपर्ने धारणा राखे । एनआरएनले अहिलेसम्म नेपालमा धेरै क्षेत्रमा हात हालेको स्मरण गर्दै उनले ती क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको बताए ।
माओवादी पनि दोहोरो नागरिकताका पक्षमा
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरू गैरआवासीय नेपाली (एनआरएन)लाई दोहोरो नागरिकता दिने पक्षमा रहेको स्पष्ट पारेका छन् । एनआरएनएका नवनिर्वाचित पदाधिकारीको स्वागतमा पार्टीद्वारा आयोजित चियापान समारोहमा उनले माओवादीमा यस’bout विवाद नभएको बताए ।
“हामीमा दोहोरो नागरिकता’bout विवाद छैन, नयाँ संविधानमा यस’bout प्रष्ट व्यवस्था गर्न तयार छौं,” उनले भने । सबै दलले सैद्धान्तिक सहमति जनाए पनि व्यावहारिक रूपमा धारणा आउन बाँकी रहेको दाहालको भनाइ थियो । उनले अहिले कुराभन्दा काम भइरहेको उल्लेख गर्दै शान्ति र संविधान निर्माणको काम पूरा गरेरै देखाउने दाबीगरे ।
एनआरएनएका नवनिर्वाचित अध्यक्ष जीवा लामिछानेले मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेला विदेशमा रहेका नेपालीले समेत सहयोग गर्नुपर्ने धारणा राखे । “त्यसैले हामी सबैले आ–आफ्नो क्षेत्रबाट सक्नेगरी नेपालमा लगानी गरौं,” उनले भने ।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले बोलेर मात्र नहुने हुँदा गरेर देखाउन सबैसँग आग्रह गरे । उनले नेताहरूलाई पनि समयमै नयाँ संविधान दिन आग्रह गरे । “हामीलाई बहुलाहा नबनाइदिनोस्, तपाईंहरूले पनि समयमै संविधान दिनुहोस्,” उनले भने ।
Posted by: Raju Gurung