प्रतिपक्षी कांग्रेस, एमालेसहितका दलले हत्याका आरोपी भूमिसुधारमन्त्री प्रभु साह र राष्ट्रियताविरोधी अभिव्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीलाई बर्खास्त नगरेसम्म संसद् चल्न नदिने निर्णय गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराई निकै अप्ठ्यारोमा परेका छन् । दुवै दलले दुई मन्त्रीलाई बर्खास्त नगरे प्रधानमन्त्रीकै राजीनामा माग्ने चेतावनी दिएका छन् । पछिल्लो समय मन्त्री भण्डारीको बर्खास्तगी’bout माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री भट्टराई स्वयं सहमत देखिएका छन् तर सत्ता समीकरणमा असर पर्ने भएकाले कार्यान्वयनमा जान हिच्किचाइरहेका छन् । माओवादी उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा पक्षले त भण्डारीको राजीनामा माग गर्दै सडकमा राँको नै बालिसकेका छन् । पार्टीभित्र र बाहिरको चर्को विरोधपछि प्रधानमन्त्री भट्टराई स्वयं अध्यक्ष रहेको माओवादी संसदीय बोर्डको बिहीबार बिहान बसेको बैठकले संसद्मा रक्षामन्त्रीको राजीनामा माग्ने निर्णय गरेको थियो । दाहालले पनि बिहीबार बेलुकी पत्रकार सम्मेलन गरी रक्षामन्त्री भण्डारीले राजीनामा दिनु उचित हुने बताएका छन् । अहिलेको ‘वेस्ट मिनिस्टेरियल’ खालको संसदीय पद्धतिमा प्रधानमन्त्रीले नचाहेको व्यक्ति मन्त्रिपरिषद्मा रहनै सक्दैन । तर प्रधानमन्त्री भट्टराईले आफ्नै अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकको निर्णय कार्यान्वयन गर्न सकेका छैनन् । रक्षामन्त्री भण्डारीलाई हटाउँदा सत्ता समीकरणमै संकट पर्ने भएकाले प्रधानमन्त्रीले घुमाउरो पाराले आफू अध्यक्ष रहेको बोर्डबाट निर्णय गराएर राजीनामा दिन संकेत गरेको उनीनिकट स्रोतले बतायो । प्रधानमन्त्रीको कदमलाई माओवादीसँगको सत्ता साझेदार मधेसी मोर्चाले रक्षामन्त्रीलाई राजीनामा दिन स्पष्ट संकेत गरेको रूपमा बुझेको छ । ‘प्रधानमन्त्रीबाट राजीनामाका लागि स्पष्ट संकेत आएको छ । साझेदारसँग सल्लाह नै नगरी माओवादी अध्यक्ष र प्रधानमन्त्री दुवैले गठबन्धनको संस्कार विपरीतको काम गर्नुभएको छ,’ सञ्चारमन्त्री तथा मोर्चासम्बद्ध फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले भने । भण्डारीका विषयमा सरकार, माओवादी र मोर्चाले पहिल्यै आशय गलत नभएको भनी स्पष्ट पारिसकेको उनले बताए । ‘तर पनि राजीनामाको कुरा चर्काउनुका पछाडि सरकारलाई घेराबन्दीमा पार्ने प्रयास हो । यसलाई माओवादी र मधेसवादी दुवैले बुझ्नुपथ्र्यो,’ उनले भने, ‘तर माओवादी संस्थापन पक्षले नै प्रभु साहबाट ध्यान हटाउन भण्डारीजी’bout प्रोएक्टिभ कदम चालेको छ ।’ माओवादी अध्यक्ष र प्रधानमन्त्रीको धारणा बुझ्न शुक्रबार भेट्न खोजेको तर समय नमिलेको उनले जनाए । दुवैसँग यो विषयलाई गम्भीर रूपमा उठाउने र उनीहरूको धारणा बुझेपछि मोर्चाको बैठक बसी आवश्यक निर्णय लिने उनले बताए । कांग्रेससँग नजिकिन माओवादीले मोर्चा नभए पनि हुन्छ भनेर भण्डारीको राजीनामा मागेको हो कि ? भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘मोर्चा पनि अनिच्छाएको साझेदारका रूपमा बसिरहन लालायित छैन ।’ प्रधानमन्त्रीनिकट स्रोतका अनुसार हिन्दु युवा संघका अध्यक्ष काशी तिवारीको हत्याको अभियोग लागेका मन्त्री साहलाई हटाउने सम्बन्धमा भने तीनवटा कठिनाइ छन् । पहिलो, उनी भट्टराईका पि्रय पात्र हुन् र मधेसमा भट्टराईको पार्टी संगठन बलियो पार्न उनको ठूलो भूमिका छ । मधेसमा भट्टराईको पार्टीभित्रको संगठन बलियो मानिन्छ र केन्द्रीय सदस्यसमेत भएकाले भट्टराईको पक्षमा बढीभन्दा बढीलाई संगठित गर्न मन्त्री साहले नेतृत्वदायी भूमिका खेल्दै आएका छन् । माओवादीको पालुङटारमा भएको विस्तारित बैठकमा भट्टराईको पक्षमा उभिनेमा मधेस क्षेत्रका बढी थिए । त्यसैगरी भट्टराईले चलाएको हस्ताक्षर अभियानमा १७/१८ जना सभासदको समर्थन जुटाइदिन साहको भूमिका अहम् रहेको स्रोतले बतायो । आफ्नै मानिसलाई पनि संरक्षण गर्न नसकेको भन्दै त्यो संगठन भत्किने खतरा प्रधानमन्त्रीले देखेका छन् । दोस्रो, माओवादीले तेस्रो ‘जनआन्दोलन’ को नाम दिएर २०६६ चैतमा सुरु गरेको आन्दोलन परिचालन कमिटीको संयोजक भट्टराई थिए र तिवारीको नेतृत्वमा पर्सामा त्यसको प्रतिकार भएको थियो । पूर्वयुवराज पारस शाहलाई पर्सामा भव्य स्वागतसमेत गरेका तिवारीलाई माओवादीको त्यही ‘जनआन्दोलन’ को प्रतिकार गरेको भन्दै हत्या गरिएको आशंका छ । त्यसैले तिवारी हत्यामा केन्द्रीय सदस्य साहको मात्र नभई ‘माथिल्लो’ तहकै संलग्नता हुन सक्ने र साहको कारबाही अगाडि बढ्न दिए उनले अरूलाई पनि पोल्न सक्ने आंशका गरिएको छ । र, तेस्रो कारण साहविरुद्धको कारबाही अगाडि बढाए त्यही नजिरका आधारमा विगत सशस्त्र युद्धताकाका घटनासमेत जोडेर सबै माओवादी नेताविरुद्ध मुद्दा अगाडि बढाउन सक्ने प्रधानमन्त्रीको अनुमान छ । माओवादी केन्द्रीय सदस्य महेन्द्र पासवान सबैतिरबाट प्रश्न उठेपछि मन्त्री साहले पदमा रहिरहन उचित नहुने बताउँछन् । ‘नैतिक रूपमा बस्न मिल्दैन तर यो स्वयं व्यक्तिमा निर्भर हुने कुरा हो,’ उनले भने । मधेसमा आफ्नो पक्षमा एक जना पनि नभएपछि भट्टराईले चुनबाङ बैठकपछि साहलाई अघि बढाएको उनले बताए । केही व्यक्तिलाई प्रलोभन दिएर भट्टराईको पक्षमा पारे पनि अहिले तिनै मानिसहरू साहविरुद्ध भएको पासवानले जनाए । ‘साहको पक्षमा १७/१८ जना सांसद भएकाले भट्टराईले कारबाही गर्न हिच्किचाएको भन्ने कुरामा सत्यता छैन, अहिले उनीसँग दुई/चार जना पनि छैनन्,’ उनले भने । मन्त्री साहकै गृहजिल्ला रौतहटका भट्टराई पक्षधर इन्चार्ज सुरेन्द्र जयसवालले भने विगतमा साहको पकड राम्रै भएको बताए । ‘विगतमा त्यो सत्य हो तर वर्तमानमा होइन । पालुङटार बैठकसम्म बाबुरामजी मधेसमा जति बलियो हुनुहुन्थ्यो, अहिले त्यसमा एक सय ८० डिग्रीमा परिवर्तन आएको छ,’ उनले भने, ‘तर यसको कारण बाबुरामजी होइन, प्रभुजी हो । यसले हामीलाई पनि चिन्तित बनाएको छ ।’ इन्चार्ज जयसवालकै नेतृत्वको एक टोलीले साहको मनोमानी बढेको, आर्थिक रूपमा अपारदर्शी भएको भन्दै उनलाई केन्द्रीय सदस्य र कानुन मन्त्रीबाट हटाउन माग गर्दै दुई महिनाअघि काठमाडौं आएर माओवादी अध्यक्ष दाहाल र उपाध्यक्ष भट्टराई लगायतलाई ज्ञापनपत्र बुझाएको थियो । ‘प्रभुजी पार्टीको धारणाभन्दा पनि खासगरी बारा, पर्सा र रौतहटमा मनोमानी ढंगले प्रस्तुत हुनु भएपछि हामी डेलिगेसनमा गएका थियौं । हामी बाबुरामजीको विचारको मान्छे हो, कुनै व्यक्तिको पछि लाग्ने होइन । त्यसैले कुनै व्यक्तिको गल्तीले विचार छाड्ने कुरा हुँदैन तर बाबुरामजीले साहलाई नसच्याए मधेसमा उहाँको विचार कमजोर बन्न सक्छ,’ जयसवालले भने । मन्त्री साहलाई हटाउँदा मधेसको पार्टीभित्रको आफ्नो संगठन कमजोर हुन्छ कि भन्ने प्रधानमन्त्रीको अनुमान गलत भएको मधेसबाट प्रतिनिधित्व गर्ने उनी पक्षधर सभासदहरूको भनाइ छ । ‘हामी शान्ति र संविधानको बाबुरामजीको विचारको पक्षमा छौं, कुनै व्यक्तिको पक्षमा होइन । कुनै व्यक्तिले हामीलाई भजाउन सक्दैन,’ भट्टराई पक्षधर बाराका सभासद शिवचन्द्र कुशवाहाले भने । भट्टराईको पक्षमा रहेका सप्तरीदेखि पर्सासम्मका सबै सभासद र नेताहरू साहप्रति रुष्ट रहेको उनी पक्षधर नेताहरू नै बताउँछन् । अर्कोतर्फ, माओवादीको भोजपुरा राज्यव्यवस्था समितिका सहइन्चार्ज साह संविधानसभाको न्यायप्रणालीसम्बन्धी समितिका सभापति पनि छन् । यसअघि कानुनमन्त्री रहेका उनले अहिले भूमिसुधार मन्त्रालय हात पारेका छन् । मन्त्रीसरहकै सुविधाको समिति सभापति भएर पनि पटक-पटक आफैं मन्त्री बनेकाले उनीनिकटकै नेताहरू रुष्ट भएको र यो मुद्दा उछालेको वैद्य पक्षधर नेता पासवानको छ ।
Posted by: Dambar Rimal Source: ekantipur