सिन्धुली, आश्विन २६ । बीपी राजमार्गबाट एक यात्रुबाहक बस सुनकोसी नदीमा खस्दा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । एकजनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको छ । १७ जना घाइते छन् । घाइते मध्ये गम्भीर चारजनालाई उपचारार्थ काठमाडौं पठाइएको छ ।
सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना.३.ख ९४१२ नम्बरको उक्त बस सिन्धुलीको झाँगाझोली-६ रिट्ठे भन्ने स्थानमा बिहीबार बिहान दुर्घटना भएको हो । बस राजमार्गबाट ७ सय मिटर जति तल खसेको छ । बस क्षतविक्षत भएको छ । मृतकमध्ये २७ जना पुरुष र १३ जना महिला छन् । मृतक मध्ये बस चालक प्रेम तामाङको मात्र पहिचान भएको छ । प्रमुख जिल्ला अधिकारी बेणिमाधव ज्ञवाली सहितको टोली घटानस्थलमा पुगेको छ । बसमा यात्रुको संख्या धेरै रहेकाले दुर्घटना भएको अनुमान गरिएको छ ।
बसका छतमा समेत यात्रु बसेका थिए । छतबाट हाम फालेर केही यात्रुले ज्यान जोगाएका छन् । प्रहरी र स्थानीयवासी उद्धार कार्यमा खटिएका छन् । थप विवरण आउन बाँकी रहेको छ । काभ्रेबाट कान्तिपुर संवाददाता मनोज वस्नेतले जनाएअनुसार धुलिखेल अस्पतालमा उपचारका क्रममा बन्दीपुरका ५० वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको छ । अस्पतालमा १२ जना घाइतेहरुको उपचार भइरहेको छ ।
Posted by: Jay Ale Source: ekantipur