प्रतिनिधि दर्ता आजसम्म
२४ असोज, काठमाण्डौ । बुधबारबाट सुरु हुने गैरआवासीय नेपाली संघ-एनआरएन) को पाँचौ बिश्व सम्मेलनका लागि काठमाण्डौंमा भेला भएका बिश्वभरका नेपालीहरुलाई चुनावी तातो लागेको छ । चुनावको पूर्वसन्धामा बिभिन्न ५३ वटा मुलुककबाट नेपालमा आएका अधिवेशन प्रतिनिधिहरुले कुन उम्मेदवारलाई सघाउने भन्ने बिषयमा समुह समुहमा छलफल गरिरहेका छन् । अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा क्षेत्रीय संयोजकका पदमा बिभिन्न मुलुकमा बस्ने एनआरएनहरुले यसअघि नै आ-आफ्नो उम्मेदवारी एजेण्डासहित घोषणा गरेका कारण उम्मेदवारीको औपचारिक दर्ता अघि नै चुनावी माहौल तातेको छ ।
राजधानीका मुख्य रेष्टुँराहरुमा बिभिन्न देशका अधिवेशन प्रतिनिधिहरु समूह समूहमा बाँडिएर सहमति जुटाउने प्रयास गरिरहेका छन् । अध्यक्षमा वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले उम्मेदवारी दिएका छन भने दुई उपाध्यक्षका लागि बिभिन्न मुलुकका चार जना, महासचिवका लागि दुई जना र कोषाध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।
हिराचनलाई उम्मेदवारी फिर्ता लिन लगाएर जीवा लामिछानेसहित सवै टीम सर्वसम्मत चयन गर्न पनि प्रयास भइरहेको छ । जसअनुसार हिराचनलाई संरक्षक बनाउने, जीवा लामिछानेले एक कार्यकालमात्र अध्यक्ष चलाउने, महासचिव वा कोषाध्यक्षमध्ये एक पदमा जापानलाई दिने लगायतका प्रस्ताव गरिएको छ । तर अहिलेसम्म हिराचनले आफ्नो उम्मेदवारी फिर्ता लिन मानेका छैनन भने तुलनात्मकरुपमा जीवाको स्थीति बलियो देखिएको छ ।
दर्ता समय आजसम्म
यसैवीच बिभिन्न मुलुकबाट एनआरएन सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरुको दर्ता गर्ने अन्तिम समय आज साँझ ५ बजेसम्म रहेको छ । ५३ मुलुकबाट करिव ८ सय प्रतिनिधि दर्ता हुने अनुमान एनआरएन सचिवालयले गरेको छ । सम्वन्धित मुलुकको एनआरएन समितिको सिफारिससहित १ सय अमेरिकी डलर शुल्क तिरेमा एनआरएन अधिवेशन प्रतिनिधि बन्न पाइनछ । जापान, वेलायत, युएई लगायत कतिपय मुलुकबाट करिव १ सय जना अधिवेशन प्रतिनिधि आउने बताइएको छ ।
यसैवीच गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले आज बिहान स्वयम्भू पुगेर शान्तिको कामना गरेका छन् भने त्यसलगत्तै पशुपति क्षेत्रमा निर्मित बृद्धाश्रमको उद्घाटन गरिएको छ । एनआरएनका संस्थापक उपेन्द्र महतोको प्रयासमा पशुपति क्षेत्रमा सुबिधासम्पन्न बृद्धाश्रम निर्माण गरिएको थियो ।
Posted by: Shiva Paudel
Source: nlinekhabar