– गौरी मल्ल,
बर्षौपछि आज एकपटक फेरि
अतितलाई पुनर्जागरण गर्दैछु
लाग्छ कसैले उपन्यासको अन्तिम पृष्ठबाट
मुख्य पृष्ठसम्म पल्टाउँदैछ फरर र र र
अनि म आफ्नै कहानि उल्टोबाट पढ्दैछु
ओह.. कति बसन्त कति पतझड
एकएक गर्दै रिभर्स गिएरमा गए जस्तो
कैयन् क्षण गुज्रिसकेछन्
पल, दिन, हफ्ता, महिना हुँदै
बर्ष बर्षौंमा परिणत भैसकेछन
लाग्थ्यो,
आफु त्यहिं छु, समय त्यहिं छ
तर कहाँ ?
समय सङ्गै आफुमा
कति परिवर्तनका रेखाहरु कोरीसकेछन् थाहा नै भएन
परिस्थिति अनुकुल सामान्य गराउन
गरिएका निर्णयहरु
आज आएर निरर्थक लाग्दैछन्
लाग्छ, समयलाई उसकै बहावमा बग्न दिएको भए
जिन्दगी कति सरल हुन्थ्यो
तर आज….
हातमा पश्चातापको रित्तो थालि बाहेक केहि देखिंदैन
स्वचालित नभै सन्चालित
मशिन सरह कहिले कता कहिले कता
हिंडीरहेको जस्तो, चलाइरहेको जस्तो, फरर र र र
पल्टिरहेका पानाहरु सङ्ग सङ्गै
कतै आत्मियताका संगित गुन्जेझै
कतै बियोग अनि रोसको श्राप परेझै
कतै कर्तब्य परायणको बोध
कतै उद्देश्य बिहिन भौंतारिरहेको यात्रि झै
पल पल द्रिश्य -परिद्रिश्य
एकएक गरि पास हुँदैछन्
जसरी हाइस्पिडमा गैरहेको गाडीको
झ्यालको शिशाबाट माइलस्टोन पास भएको देखिन्छन्
मलाइ त पत्तो पनि भएन समय,
समय म उपर अत्तहास गर्दै
कति तमाशा देखाएर भागिसकेछ
आज कसलाई गुनासो गरुँ ..
कसलाई सुनाउँ ब्यथा ?
कुनै ठाउँ नै खालि रहेनछ..
कुनै ठाउँ नै खालि रहेनछ !!
Posted by: Jay Ale Source: NepaleeNews