सुरेन्द्र पौडेल/काठमाडौं, असोज १७- नेपालको शिक्षा, स्वास्थ्य र सिचाइँ क्षेत्रमा पाँच अर्ब रुपैयाँ लगानी गर्ने उद्देश्यले साउदी अरबको परराष्ट्र, अर्थ र विकास निर्माणसहित तीन मन्त्रालयको एक/एक पदाधिकारी सम्मिलित उच्चस्तरीय प्रतिनिधि मण्डल मंसिर पहिलो साता आउने भएको छ । विश्वको १९ औं धनी साउदी अरबका राजकुमार अल-वलिद विन तलालले गत वर्ष नेपाल भ्रमणका बेला गरेका प्रतिबद्धता कार्यन्वयन गर्न उक्त प्रतिनिधिमण्डल आउन लागेको हो ।
‘तीन मन्त्रालयका पदाधीकारी सम्मिलित उच्चस्तरीय साउदी अरबको प्रतिनिधिमण्डल मंसिर पहिलो साता नेपाल आउने तयारी गर्दैछ,’ साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘प्रतिनिधिमण्डलको नेतृत्व एक उपमन्त्रीले गर्नेछन् ।’
भ्रमण दलमा कति सदस्य रहने र को रहने भन्ने छलफल भइरहेको उनले बताए । राजदूत पाण्डेका अनुसार विदेशमा गरिने लगानीसँग अर्थ, विकास निर्माण र परराष्ट्र मन्त्रालयको सम्बन्ध रहने भएकाले भ्रमणमा यी तीन मन्त्रालयका उच्च पदाधिकारी रहने छन् । यी तीनमध्ये एक मन्त्रालयका उपमन्त्रीले भ्रमण नेतृत्व गर्ने उनले बताए ।
पहिला भ्रमण असोज तेस्रो साता तय गरिए पनि दसैं परेकोले भ्रमण मंसिर पहिलो साता सारिएको उनले जानकारी दिए। झन्डै ७ लाख नेपाली कामदारलाई रोजगारी दिइरहेको साउदी सरकारले नेपालमा पनि लगानी गर्न गरिएको अनुरोध स्वीकार गदै लगानीका क्षेत्र निर्धारण गर्न उच्चस्तरीय प्रतिनिधि मण्डल पठाउन लागेको हो । ‘शिक्षा, स्वास्थ्य र सिचाइँ- नेपालका तीन क्षेत्रमा साउदीले लगानी गर्ने इच्छा देखाएको छ,’ पाण्डेले भने, ‘सुरुमा पाँच अर्ब रुपैयाँ लगानी गर्ने उनीहरूले जानकारी दिएका छन् ।’
दुई महिनाअघि नेपालका लागि साउदी अरबका गैरआवासीय राजदूत अब्दुल्लाह विन नसिर अल बुसाइरी नेपाल आएका बेला सरकारसँग भ्रमण तथा लगानी प्रस्ताव राखेका थिए। सोहीबमोजिम लगानीका लागि द्विपक्षीय छलफल भइरहेको छ।
पाण्डेका अनुसार साउदीले सिधै पैसा नेपाललाई दिने छैन । नेपालसँग संयुक्त परियोजना सञ्चालन गर्ने उनीहरूको योजना छ । साउदीले आफ्नै मान्छे खटाएर ‘पूर्वाधार निर्माण कार्य सकी हस्तान्तरण गरी फर्कने’ मोडलअनुसार लगानी गर्न चाहेको छ । ‘साउदीले नेपालमा गर्ने लगानीबाट फाइदा खोजेको छैन,’ पाण्डेले जानकारी दिए, ‘उनीहरू पाँच अर्ब रुपैयाँ बराबरको शिक्षा, स्वास्थ्य र सिचाइँको क्षेत्रमा पूर्वाधार निर्माण गरी नेपाललाई हस्तान्तरण गर्ने योजनामा छन् ।’
साउदीले विशेषतः मुस्लिम समुदायको बाक्लो बसोबास रहेको तराईका विभिन्न भागमा लगानी गर्न चाहेको राजदूत बताउँछन्। ‘तराई क्षेत्रलाई साउदीले बढी प्राथमिकता दिएको छ। अन्य क्षेत्रमा पनि उनीहरूको रुचि छ,’ उनले स्पष्ट पारे।
३५ वर्षअघि नेपाल र साउदी अरबबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसको एक वर्षपछि २०३४ सालमा नेपालले साउदीमा दूतावास खोलेको थियो । साउदीले भने नेपाललाई बंगलादेशस्थित दूतावास मार्फत हेर्दै आएको छ । नेपालमा दूतावास खोल्ने तयारी गरिरहेको साउदीले यसको मिति पनि भ्रमणका बेला तोक्ने जनाइएको छ ।
नेपालले दूतावास खोलेलगत्तै दुई राष्ट्रबीच आर्थिक सहयोग आदानप्रदान सुरु भएको थियो । खासगरी नेपालका मुस्लिम समुदायको जीवनस्तर उकास्न, कृषि क्षेत्रको विकास गर्न र आपत्कालीन सहायता साउदीको प्राथमिक सूचीमा छन् । मर्स्याङ्दीलगायत विभिन्न जलविद्युत परियोजना निर्माण गर्दा साउदी विकास कोषले ऋण सहायता गरेको थियो । बागमती सिचाइँ परियोजना, कमला सिचाइँ परियोजना निर्माण गर्दा पनि साउदीले नेपाललाई ऋण दिएको थियो ।
Posted by: Raju Gurung