दसैँमा करोडौंको बलि


“वर्षभरिमा धर्म-संस्कृति, चाँड वाँडहरुका नाममा दिइने बलिको खर्च जोड्ने हो भने पाँच करोड रुपियाँभन्दा धेरै हुन आउछ”

घुमिफिरी फेरि दसैँ आयो । मौसमी बहसमा रमाउने हाम्रो बानीले पक्कै पनि यो दसैँमा पनि बलिको बहस चलाउला । एकथरी विद्वान् बलि हाम्रो परम्परा हो । यसलाई रोक्नु भनेको धर्म-संस्कृतिमाथि प्रहार गर्नु हो भन्लान् । अर्काथरी विद्वान् आजको एक्काईसौं शताब्दीमा पनि बलि दिनु अमानवीय क्रियाकलाप ठान्लान् तर बलि दिन हुन्छ वा हुँदैन भनेर बहस गर्नु नै व्यर्थ भएको प्रा.डा. माधव भट्टराईले बताउनुभयो ।

बलिको विरोध गर्नेहरूलाई उहाँले भन्नुभयो- शास्त्र पढ्नुपर्‍यो, परम्परा बुझ्नुपर्‍यो, समाजको इच्छा के छ थाहा पाउनुपर्‍यो । त्यसै झण्डा बोकेर विरोध गर्नु भनेको धर्म-संस्कृतिमाथि प्रहार गर्नु हो ।

शास्त्रले बलि दिनै पर्छ भनेको त छैन । राँगा-बोका आदिको ठाउँमा कुभिण्डो, काँक्रो, मूला, घिरौंलाले पनि बलि पूजा गर्न सकिन्छ तर आफू चाहिँ मासु खाने देवी-देवतालाई चाहिँ बलि दिन्न भन्नु चाहिँ राम्रो नभएको उहाँको तर्क छ ।

संस्कृत शब्द बलिको अर्थ उपहार दिनु वा अर्पण गर्नु हो । मानिसले आफूभित्र भएका काम, क्रोध, लोभ, मोहजस्ता अवगुणलाई बलि दिनुपर्छ । राँगालाई क्रोधको प्रतीकका रूपमा बलि दिइँदै आएकोे हो तर आफूभित्रको अवगुणलाई चाहिँ कहिल्यै नफाल्ने खालि निरीह प्राणीलाई मात्र बलि दिनु राम्रो नभएको पशुबलिको विरोधमा आन्दोलनरत समूहका अगुवा तथा इतिहासविद् डा. गोविन्द टण्डनको विचार छ ।

मठ-मन्दिर फोहोर भएका होलान् सफासुग्घर गरौं । भत्केका होलान् जीर्णोद्धार गरौं । हाम्रो धर्म-संस्कृतिको संरक्षण त यसरी पो हुन्छ । नयाँ नेपालको नयाँ सोच त यो हो । यतातिर ध्यान छैन । पेट्रोल-डिजेल खाने मोटरलाई पशुको रगत दियो भने दुर्घटना हुँदैन भन्ने कहीँ नभएको चलन नेपालमा छ । त्यसैले डा. टण्डन त बलि प्रथालाई विकृतिकै रूप ठान्नुहुन्छ ।

हनुमानढोका दसैँ घरका पुजारी रघुनाथ आर्यल चाहिँ बलि देऊ वा नदेऊ भनेर भन्ने होइन । व्यक्तिलाई आˆनो इच्छा अनुसार गर्ने छुट छ तर अहिलेको समयमा राज्यले चाहिँ बलि नदिनु नै राम्रो हुने उहाँको धारणा छ ।

राज्यले कहाँ कति बलि दिन्छ त ?

महालेखा नियन्त्रण कार्यालय अन्तर्गत रहेको कौषी तोषाखाना कार्यालय, गुठी संस्थान, संस्कृति मन्त्रालय र नेपाली सेनाले बलिका लागि राँगा, बोका, हाँस कुखुरा, सुगुरलगायत आदि पशु खरिद गर्छन् । यसबाहेक हरेक सरकारी कार्यालयले सवारीसाधन र यन्त्रमा बडादसैँ र चैतेदसैँका अवसरमा बलि दिने चलन छ । डा. टण्डन भन्नुहुन्छ- राज्य कोषबाट वर्षभरिमा झण्डै चार-पाँच करोड रुपियाँ बलिका लागि खर्च हुने गरेको तथ्याङ्क छ ।

बडादसैँमा कौषी तोषाखाना कार्यालयले १७३ राँगा, १७८ बोका खरिद गर्छ । यी राँगाबोका भद्रकाली १ बोका, शोभाभगवती १ बोका, १ राँगा, गुहृयेश्वरी १ बोका, वनकाली १ बोका, छाउनी सङ्ग्रहालय १ बोका, हात्तीसार वन मन्त्रालयअन्तर्गतको कार्यालयमा १ बोका र बाँकी हनुमान ढोका दरवार क्षेत्रमा काटिन्छ । हनुमान ढोका दरवारको नासल चोकमा अष्टमी, नवमी र चतुदर्शी हरेक दिन ५४ राँगा र ५४ बोका बलि दिइन्छ ।

हनुमान ढोकाको देगु तलेजु, तलेजु र विभिन्न मठ-मन्दिरका लागि काठमाडौं गुठी कार्यालयले पनि १४ राँगा, ४८ बोका, १६ हाँस, १ कुखुरा र १ थुमा वडादसैँका लागि खरिद गर्ने गरेको कार्यालय प्रमुख जयप्रसाद रेग्मीले जानकारी दिनुभयो । यस्तै पाटन दरवार क्षेत्रको पूजआजा सबै ललितपुर गुठी कार्यालयले चलाउँछ । कार्यालयका प्रमुख हरिप्रसाद जोशीका अनुसार वडादसैँमा १४ राँगा, ४२ बोका, १९ हाँस, २ थुमा चाहिन्छ । यी राँगा, बोका, हाँस र थुमामध्ये ९० प्रतिशत पाटन दरवार क्षेत्रमा बलि दिइन्छ ।

भक्तपुर गुठी कार्यालयका सहायक प्रशासक मेघराज सापकोटाका अनुसार भक्तपुर दरवार क्षेत्र र मठ-मन्दिरमा बडादसैँमा ३९ राँगा, ९० बोका, ५ कुखुरा, ३९ हाँस बलि दिइन्छ । पहिले-पहिले तलेजु भवानीका लागि तित्रा पनि छाड्ने गरिएकोमा अहिले यो चलन नभएको उहाँले भन्नुभयो ।

यसैगरी कौषी तोषाखाना कार्यालयमार्फत नै नुवाकोट र गोरखा दरवारमा पनि बलि दिइन्छ । गणतन्त्र आउनुभन्दा अघि गोरखा दरवार क्षेत्रमा झण्डै हनुमान ढोका दरवार क्षेत्रसरह नै बलि दिइन्थ्यो । गणतन्त्र आएपछि यो सङ्ख्यामा धेरै कटौती भएको छ ।

गोरखा दरवारको दसैँ घरका पनि पुजारी भइसकेका रघुनाथ अर्यालयका अनुसार बडादसैँमा १६ राँगा, २२ बोका, ९ भेडा, ५ सुँगुर, ९ कुखुरा गोरखा दरवार क्षेत्रमा बलि दिइन्छ । नुवाकोट दरवारका द्वारे महेन्द्र शाहीका अनुसार बडादसैँमा यहाँ चाहिँ ७ राँगा, १७ बोका र १८ हाँस चढाइन्छ ।

बलि दिइएका यी राँगा, बोका, हाँस, कुखुरा आदि पुजारी, रकमी, नाइके, कामदार, गुठियार र कर्मचारीले खाने गरेको सम्बन्धित कार्यालयले जनाएका छन् । कौषीले हनुमान ढोकामा बलि दिइएका राँगा, बोका चाहिँ गणतन्त्र आउनुभन्दा अघि दरवारको मूल पुरोहितले भाग लगाउँथे भने अहिले कौषी र संस्कृति मन्त्रालयका कर्मचारी मिलेर भाग लगाउँछन् । यो भाग अहिले राष्ट्रपतिको कार्यालयदेखि विभिन्न मन्त्रालय, गुठियार, पुजारी, नाइके, रकमी, कामदार, कर्मचारी आदि कहाँ जाने गरेको छ ।

बडादसैँको अवसरमा यी कार्यालयहरूले मात्र २६३ राँगा र ३९७ बोका बलि दिने गरेको माथिको तथ्याङ्कले देखाउँछ । कौषीले राखेको मूल्य राँगा प्रतिगोटा दश हजार र बोका प्रतिगोटा तीन हजार तीनसय रुपियाँको हिसाबले पनि ३९ लाख ४० हजार एक सय रुपियाँ खर्च हुन्छ । अझ यी राँगा-बोकाका सङ्ख्यामा चोखा बोका र चोखा राँगा हुन्छन् (पूजा गर्नका लागि निश्चित रङ, तौल आदि भएको राँगा-बोकालाई चोखा राँगा-बोका भनिन्छ) । चोखा राँगाको १४ हजार ८ सय ७५ र चोखा बोकाको मूल्य चार हजार दुई सय रुपियाँ तोकिएको छ । वर्षभरि यी कार्यालय र अन्य सरकारी कार्यालयले गर्ने बलिको खर्च जोड्ने हो भने डा. टण्डनले भन्नुभएको पाँच करोड रुपियाँभन्दा पनि बढी निस्कन सक्छ ।

संविधानसभाको चुनावपछि एनेकपा माओवादीको नेतृत्वमा सरकार गठन भयो । राज्यले दिने
बलि हटाउने कुरो यो बेला उठ्यो । अर्थ मन्त्रालयले मातहतका कार्यालयलाई अबदेखि कुनै पनि बलि पूजा नगर्ने व्यहोराको परिपत्र गर्‍यो । यो परिपत्रले कौषीका हाकिम र कर्मचारीको टाउको दुःख्यो । त्यतिबेलाको घटना सम्झँदै कौषी तोषाखाना कार्यालयका उपसचिब कुलचन्द्र शर्मा भन्नुहुन्छ- ‘सरकारको यो निर्णयलगत्तै इन्द्रजात्रा आयो । इन्द्रजात्रामा हल्चोकको भैरवलाई बलि दिन राँगो दिनुपर्‍यो । सरकारी निर्णय हामीले गुठियारलाई देखायौं । बलि रोक्ने सरकारको निर्णयमा हल्चोक भैरवका गुठियार र कौषी तोषाखाना कार्यालयका कर्मचारी बीच तनाव नै उत्पन्न भयो । इन्द्रजात्रा मनाउँदा वसन्तपुरमा पनि ठूलो विरोध भयो । विरोधपछि तुरुन्तै सरकारले बलि दिन उपयुक्त वा अनुपयुक्त के हुन्छ राय दिन विदुर पौडेलसहितको विद्वान् समूहको एक टोली गठन गर्‍यो । यो टोलीले पशुबलि दिनैपर्ने, पशुबलि ‘हत्या’ नभएको, पशुबलि खर्चिलो र अवैज्ञानिक नभएको पशुबलिद्वारा पशुको जुनी मुक्ति हुने भनी सुझाव दिएपछि बलि पूजा कायम नै राख्ने निर्णय सरकारले गर्‍यो ।

हुन त सरकारले बलि पूजा रोक्ने निर्णय पनि हचुवाको भरमा गरेको थिएन । तत्कालीन वडागुरुज्यू तथा नायव वडागुरुज्यूसहित पुरातìव विभाग, हनुमान ढोका दरवार हेरचाह अड्डा, गुठी संस्थान र कौषीबीच भएको बैठकमा पशुबलिको सट्टा कुभिण्डो र नरिवल बलि दिन सकिन्छ भनी सुझाव आएपछि भएको थियो ।

सदियौं देखि चलिआएको बलि पूजा नगर्ने सरकारको निर्णयले माओवादी आयो, हाम्रो धर्मसंस्कृति सबै खाने भयो भन्ने भ्रम जनमानसमा पर्न गयो र निर्णय तुरुन्तै उल्टिएको डा गोविन्द टण्डन भन्नुहुन्छ । यसो हुनुमा मुख्य गरी जनचेतनाको कमी भएको पनि उहाँले औंल्याउनुभयो ।

सरकारले कुनै नीति नबनाई, विशेषज्ञको राय नलिई र समाजको चाहना के छ नबुझी बलि प्रथालाई हटाउने कुरो गर्न नहुने भनाइ प्रा.डा.माधव भट्टराईको छ । उहाँले भन्नुभयो- कतिपय ठाउँमा १०८ पशु बलि दिने चलन छ । किन १०७ वा १०९ भएन ? यसको अध्ययन नगरी त्यसै रोक्न हुन्छ ? बलिलाई कसरी कम गर्न सकिन्छ भन्नेमा त हामीहरू लागेकै छौं नि ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.