दक्षिण एसियाली बिचमा नेपाल फुटबलसहित ६ खेलमा सहभागी हुने


अजय फुयाल, काठमाडौं, असोज १५- श्रीलंकाको हम्बान्टोटामा असोज २१ देखि २९ सम्म हुने पहिलो दक्षिण एसियाली बिच खेलकुद (बिच साग) मा नेपालले फुटबलसहित ६ खेलका ३६ खेलाडी सहभागी गराउने भएको छ। अन्तिम समयमा फुटबलले भाग लिने जनाएपछि सरकारी साथबिना क्षेत्रीय खेलकुदको प्रतिष्ठित खेल महोत्सवमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ६ खेलमा भाग लिने पक्का गरेको हो। फुटबलसहित भलिबल, बास्केटबल, टेन्टपेकिङ, ह्यान्डबल र कबड्डीमा पनि नेपालको सहभागिता रहनेछ। ‘फुटबलको सहभागिता सुखद कुरा हो। यो बिच सागको पहिलो संस्करण भएकाले हाम्रा खेलाडीले भाग लिने अवसर पाउनु राम्रो हो, यसले खेलाडीको अनुभवमा फाइदा पुग्छ। साथमा यस्तो क्षेत्रीय खेलकुदमा भाइचारा र मित्रता सबैभन्दा महŒवपूर्ण कुरा हो, त्यसैले हामीबाट जति बढी सहभागिता भयो त्यति नै राम्रो हो,’ सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको एनओसीका महासचिव जीवनराम श्रेष्ठले नागरिकसँग भने।
उनका अनुसार फुटबलको सहभागिता अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम समयमा मात्र पक्का गरेको थियो। राष्ट्रिय टोली आसन्न साफ च्याम्पियनसिप र नेपालमै हुने एएफसी च्यालेन्ज कप तयारीमा दसैंलगत्तै मैत्रीपूर्ण खेलका लागि विदेश भ्रमणमा जाने भएकाले एन्फाले विच सागलाई राष्ट्रिय टोलीमा नपरेका ८ खेलाडी छनोट गरेको छ।

एन्फाले छनोट गरेका खेलाडीमा बौद्ध फुटबल क्लबका उत्तम गुरुङ, सामसुङ जावलाखेलका प्रविण कार्की, आरसिटीका ऋषि राई, यती हिमालयन शेर्पाका रुपक श्रेष्ठ र सोमबहादुर मल्ल, मेगा थ्री स्टारका बुद्ध चेम्जोङ, एपिएफका निराजन मल्ल र एनआरटीका दिपेन कार्की छन्। श्रीलंकामै प्रशिक्षक प्रशिक्षण लिएका यामबहादुर पुनले प्रशिक्षण जिम्मेवारी सम्हाल्ने छन्।

एन्फा अध्यक्ष एएफसी प्रेसिडेन्टस कप दौरान चाइनिज ताइपेइ भ्रमणमा रहँदा श्रीलंकाली फुटबल संघबाट विशेष अनुरोध आएपछि नेपालले फुटबलमा पनि सहभागिता जनाउने निर्णय गरेको एन्फाका एक वरिष्ठ अधिकारीले बताए। ‘अध्यक्षज्यू ताइपेइमा रहँदा श्रीलंकाका साथीहरूले पहिलो पटक हुन लागेको बिच खेलकुदमा सहभागिता जनाएर सफल पार्न सहयोग गर्नुपर्‍यो भनेर अनुरोध गर्नुभयो। श्रीलंका फुटबलमा हाम्रो राम्रो सम्बन्ध छ, त्यसैले हामीले अन्तिम समयमा भए पनि सहभागिता जनाउने निर्णय गर्‍यौं,’ ती अधिकारीले भने।

यसैगरी भलिबल र कबड्डीमा नेपालबाट पुरुष र महिला दुवै टोलीले सहभागिता जनाउने छन्। भलिबल पुरुषमा प्रहरीका खेलाडी इम राना र संजय अर्याल तथा महिलामा नीता शाह र चूडा खड्काले प्रतिनिधित्व गर्ने छन्। बास्केटबलमा नयना शाक्य, सदीना श्रेष्ठ, सुजाता राई र दीपिका उप्रेती नेपाली टोलीमा रहने छन् भने टेन पेकिङमा सेनाका ध्रुवप्रसाद अर्याल, खड्गबहादुर कार्की, लालबहादुर कुँवर तथा खिलध्वज खडकाले सहभागिता जनाउने छन्। नेपालमा घोडचढीको छुट्टै संघ नभएकाले एनओसीले सेनाका खेलाडीलाई सिधै सहभागी गराउन लागेको हो। सन्देश रेग्मीको कप्तानीमा रहने ह्यान्डबल टोलीमा विपीन विष्ट, विशाल बस्नेत र अमर श्रेष्ठ रहने छन्। अन्तिम छनोटमा कोही खेलाडी फिट नदेखिएमा भने टोलीमा वैकल्पिक खेलाडीका रूपमा अभ्यास गरिरहेका दीपक बोहराले मौका पाउने नेपाल ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी गराए।

दुई संघ अस्तित्वमा रहेको कबड्डीमा भने सहभागीको नाम सार्वजनिक गरिएको छैन। अन्तर्राष्ट्रिय मान्यताप्राप्त संघ र एनओसीले मात्र सहभागिता जनाउन पाउने प्रावधानअनुसार सुनिल राजकर्णिकार अध्यक्ष रहेको कबड्डी संघबाट सहभागिता जनाउने तयारी गरिरहेको छ, तर राष्ट्रिय मान्यताप्राप्त लालकुमार लामा अध्यक्ष रहेको कबड्डी संघको समेत सहमतिमा सहभागिता गराउन लागेको एनओसीका एक वरिष्ठ अधिकारीले बताए।

बिच सागको पहिलो संस्करणमा आयोजकले भलिबल, कबड्डी, बास्केटबल, ह्यान्डबल, नेटबल, क्रिकेट, शारीरिक सुगठन, वाइन्ड सर्पिङ/सेलिङ, ट्रायथोलन, समुद्री पौडी तथा बिच (फुटबल) गरी ११ खेल समावेश गरेको छ। त्यसमध्ये नेटबलमा महिलातर्फ मात्र स्पर्धा हुनेछ भने क्रिकेट, शारीरिक सुगठन र फुटबलमा भने पुरुषको मात्र प्रतिस्पर्धा हुनेछ। नेपालले इन्डोनेसिया विच खेलकुदमा शारीरिक सुगठन र भलिबलमा सहभागिता जनाएको थियो भने २०१० को ओमान बिच एसियाली खेलकुदमा कबड्डी र शारीरिक सुगठनमा भाग लिएको थियो। यसबाहेक भलिबल टोलीले स्वस्फूर्त रूपमा अन्तर्राष्ट्रिय आमन्त्रण बिच भलिबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ।

राष्ट्रिय मान्यता नभएको एनओसीले सहभागिता तयारी गरिरहेकाले बिच सागका लागि राज्यको तर्फबाट कुनै सहयोग नहुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिच सागका लागि बजेटमा व्यवस्था नरहेकाले आर्थिक सहयोग गर्न नसके पनि अन्तर्राष्ट्रिय सहभागितामा असहयोग नगर्ने जनाएको छ। सदस्यसचिव युवराज लामाले अन्तर्राष्ट्रिय सहभागिता जनाउने विषयमा आफ्नो असहयोग नहुने प्रस्ट्याउँदै खेलाडीलाई रोक्ने कुनै मनसाय नभएको बताएका छन्। ‘हामी खेलाडीलाई खेल्नबाट रोक्ने पक्षमा छैनौं। समयमै जानकारी नपाउँदा बजेटमा बिच सागको शीर्षक राख्न नसकिएकै हो र सहभागिता जनाउने विषयमा चाहिँ अन्तर्राष्ट्रिय मान्यताको भरमा देशको इज्जत ख्याल गरिएन भने त्यो चाहिँ राज्यलाई स्वीकार्य हुँदैन। संघहरूले बिच सागमा सहभागिताको जानकारी गराएका छन्, संघको कार्यक्रममा हाम्रो शुभकामना छ,’ लामाले नागरिकसँग भने।

Posted by: Shiva PAudel

Source: Nagariknews

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.