विदेशिने र बसाइँ सराइँ बढेका कारण वृद्धिदर घट्यो, काठमाडौँमा अनुमानभन्दा थोरै जनसंख्या


ज्ञान न्यौपाने, काठमाडौं, असोज ११- नेपालको जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ पुगेको छ। दस वर्षअघिको तुलनामा करिब ३४ लाख ७० हजार थपिएका छन्। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको जनगणना २०६८ को प्रारम्भिक नतिजाले काठमाडौं उपत्यकामा धेरैको अनुमानभन्दा निकै थोरै जनसंख्या देखाएको छ।
राजधानी काठमाडौं, ललितपुर र भक्तपुरमा जम्मा २५ लाख १० हजार ७ सय ८८ जना बस्छन्। यी तीनै जिल्लाबाट विदेश गएकासमेत जोड्दा पनि साढे २६ लाख नाघ्दैन।
कुल जनसंख्यामा १ करोड २९ लाख २७ हजार ४ सय ३१ (४८.५६ प्रतिशत) पुरुष र १ करोड ३६ लाख ९३ हजार ३ सय ७८ (५१.४४ प्रतिशत) महिला छन्। जनघनत्व १ सय ५७ प्रति वर्गकिलोमिटरबाट १ सय ८१ पुगेको छ। काठमाडौंमा सबभन्दा बढी ४ हजार ४ सय ८ जनघनत्व छ भने मनाङमा सबभन्दा कम ३ छ।

जनसंख्या वृद्धिदर घट्यो
विभागका अनुसार नेपालको जनसंख्या वृद्धिदर ५० वर्षकै सबभन्दा कम १.४० प्रतिशतमा झरेको छ। यो दस वर्षअघिको जनगणनाभन्दा ०.८५ विन्दु कम हो। २०१८ को जनगणनामा १.३१ प्रतिशत वृद्धिदर थियो। त्यतिखेर कुल जनसंख्या ९४ लाख १३ हजार थियो। त्यसपछि २०५८ सम्म वृद्धिदर लगातार दुई प्रतिशतकै हाराहारी रह्यो।

किन घट्यो?
विभागको जनसंख्या महाशाखा प्रमुख रुद्र सुवालले बसाइसराइ बढ्नु र प्रजनन् दर घट्नुले जनसंख्या वृद्धिदर कम भएको बताए। ‘विदेश गएकाहरूको संख्या अत्यधिक वृद्धि हुनु पनि यसको कारण हो,’ उनले भने ‘यसले स्वदेशमा रहेको जनसंख्या घट्ने, विदेश जानेको बढ्ने भइरहेको छ।’

जनगणनाको तथ्यांकले १९ लाख १७ हजार ९ सय ३ विदेशमा रहेको देखाएको छ। यसअघि ७ लाख ६२ हजार १ सय ८१ विदेशमा थिए। विदेशिएकामध्ये ८६.७ प्रतिशत पुरुष र १३.३ प्रतिशत महिला छन्। त्यस्तै, ग्रामीण क्षेत्रका ८५.३८ र सहरी क्षेत्रका १४.६२ प्रतिशत विदेशिएका छन्।

जनसंख्या विशेषज्ञ सरदकुमार शर्मा विदेशिनेमा प्रजनन् दर बढी हुने उमेर समूहका युवा पुस्ताको बाहुल्य भएकाले समग्र जनसंख्या वृद्धिमा असर परेको बताउँछन्। ‘प्रजनन् दर घट्दा स्वाभाविक रूपले जनसंख्या वृद्धिदरमा प्रभाव पर्छ,’ उनले नागरिकसँग भने।

कहाँ कति?
काठमाडौंको जनसंख्या कति पुग्यो? धेरैको अनुमान थियो, ४० लाख वा ५० लाख। जनगणना २०६८ ले यो अनुमानलाई गलत साबित गरेको छ। राजधानी काठमाडौंमा सबभन्दा बढी १७ लाख ४० हजार ९ सय ७७ जना बस्छन्। ललितपुरमा ४ लाख ६६ हजार ७ सय ८४ र भक्तपुरमा ३ लाख ३ हजार २७ छन्। काठमाडौंबाट ९७ हजार, ललितपुरबाट २३ हजार र भक्तपुरबाट ९ हजारभन्दा बढी विदेशिएको तथ्यांक पनि जनगणनाले देखाएको छ।

धेरैले सोचेभन्दा कम जनसंख्या देखिए पनि जनसंख्याविद्हरू यसलाई स्वाभाविक भन्छन्। काठमाडौंमा शैक्षिक, प्रशासनिक लगायत विभिन्न कारणले जिल्लाबाट वर्षैभरि आउजाउ भइरहन्छ। तर, तिनीहरू यहाँका स्थायी होइनन्। काम सकेपछि फर्कन्छन्। यस्तो आउनेजाने क्रम वर्षभरि चलिरहन्छ। यसले एकचोटिमा ४०-५० लाखजस्तो भान भए पनि खास जनसंख्या त्यति धेरै हुँदैन।

काठमाडौंपछि दोस्रो बढी जनसंख्या भएकोमा मोरङ छ। यहाँ ९ लाख ६४ हजार बसोबास गर्छन्। तेस्रो स्थानको रुपन्देहीमा ८ लाख ८६ हजार, चौथोमा झापा ८ लाख १० हजार र पाँचौंमा कैलाली ७ लाख ७० हजार छ।

सबभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा ६ हजार ५ सय २७ छ भने मुस्ताङमा १४ हजारभन्दा कम। त्यसपछि डोल्पा, रसुवा र हुम्ला पर्छ।

कुल जनसंख्याको आधा तराई क्षेत्रमै छन्। दस वर्षअघि ४८ प्रतिशत तराईमा बसोबास गर्थे। हिमाली क्षेत्रमा ६.७४ र पहाडमा ४३.११ प्रतिशत छ। यसअघि हिमालमा ७ र पहाडमा ४४.३ प्रतिशत थियो।

विकास क्षेत्रका आधारमा सबभन्दा बढी मध्यमाञ्चल (३६.५ प्रतिशत) र सबभन्दा कम सुदूरपश्चिमाञ्चल (९.६ प्रतिशत) छ।

कुल जनसंख्याको १७ प्रतिशत सहरी र बाँकी ८३ प्रतिशत ग्रामीण क्षेत्रमा छन्। सहरी जनसंख्या वृद्धिदर ३.३८ र ग्रामीणमा १.०३ प्रतिशत छ। यसले ग्रामीणबाट सहरी क्षेत्रमा बसाइसराइ तीव्र रहेको देखाउँछ।

जनगणनाअनुसार २३ जिल्लामा जनसंख्या वृद्धिदर अघिल्लोभन्दा घटेको छ। खासगरी द्वन्द्वको चपेटामा परेका जिल्लामा जनसंख्या कम भएको देखिन्छ।

‘यो प्रारम्भिक नतिजा हो, पछि घटबढ हुनक्छ,’ सुवालले भने, ‘कम्प्युटर प्रोसेसिङका बेला
यसमा सामान्य परिवर्तन आउँछ।’

अघिल्लो जनगणनामा पनि प्रारम्भिकभन्दा केही फरक नतिजा आएको विभागले जनायो। महानिर्देशक उत्तमनारायण मल्लका अनुसार त्यतिखेर एक लाखभन्दा कम फरक परेको थियो।

दस वर्षमा १४ लाख परिवार थप
दस वर्षमा कुल १४ लाख ६ हजार ७ सय ६४ परिवार थप भएको गणनाले देखाएको छ। अहिले परिवार संख्या ५६ लाख ५९ हजार ९ सय ८४ छ। नतिजाअनुसार देशभर ४७ लाख ६७ हजार १ सय ९६ घर छन्। घर र परिवारको अनुपातमा प्रत्येक सय घरमा औसत १ सय १९ परिवारको बसोबास रहेको पाइएको छ।

जनगणनाले परिवारको आकार पनि पहिलेभन्दा सानो भएको देखाएको छ। यसअघि ५.४४ सदस्य रहेको एक परिवारमा अहिले ४.७० रहेको विभागले जनाएको छ।

छ दशकदेखिको जनसंख्या

वर्ष/वि.सं. जनसंख्या/हजारमा वार्षिक जनसंख्या वृद्धिदर/प्रतिशतमा
२०१८ ९,४१३ १.३१
२०२८ ११,५५६ २.०५
२०३८ १५,०२३ २.६२
२०४८ १,८४,९१ २.०८
२०५८ २,३१,५१ २.२५
२०६८ २,६६,२१ १.४०

बसोबास बढी भएका ५ जिल्ला
काठमाडौं- १७,४०,९७७
मोरङ – ९६४,७०९
रुपन्देही- ८८६,७०६
झापा- ८१०,६३६
कैलाली- ७७०,२७९

Posted by: Shiva Paudel

Source: Nagariknews

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.