मैले धन कमाएर बिलासिताको जिन्दगी जिउने उद्देश्यले तालिम केन्द्र खोलेको होइन: बाल कुमार गुरुङ्


जय आले, कुवेत

अन्तर्वार्ता:
कुवेतको नेपाली समाजमा बाल कुमार गुरुङ् (बालक) कुनै नौलो नाम होइन । बैदेशिक रोजगारिको सिलसिलामा सन् १९९१ को सेप्टेम्बरमा कुवेत आउनु भएका ४३ वर्षिय युवा, बाल कुमार गुरुङ् चाहेर पनि मेटाउनै नसकिने नाम हो कुवेतवासी नेपालीको मन मष्तिस्कबाट । 

जागीरे जीबनसँगै खेलकूद, सामाजिक सेवा, लेखन विधा एवं संगितको दुनियाँमा समेत प्रवेश गरिसकेका गुरुङ् विधार्थी जीबनकालदेखी नै भाषा र साहित्यमा अत्याधिक रुचि राख्नुहुन्थ्यो भनें अहिले समाजसेवी, युवाकवी, गीतकार, साहित्यकार एवं संगितकारको रुपमा आफुलाई स्थापित गरिसक्नु भएको छ वहाँले । हङ्कङ्को लौकनामा जन्मनु भएका गुरुङ् भोजपुर-मोरङ्ग हुँदै धरानमा स्थाई बसोवास गर्नुहुन्छ । २२ बर्षे प्रबासी जीबनको अनुभवसँगै गत फेब्रुअरी २०११ मा मातृभूमी नेपाल फर्कनु भएका गुरुङ् व्यवसायको सिलसिलामा नेपाल फर्केपश्चात अहिले तेश्रोचोटि कुवेत आउनु भएको छ ।

हमेशा हाँसेर बोल्न सक्ने प्रतिभाका धनी गुरुङ्को व्यक्तिगत जीबनमा झाँकेर हेर्दा, लाग्छ.. जीबनका आरोह-अवरोहहरुमा हर तरहका संयोग एवं बियोगान्त पलका असंख्य अनुभवहरु छन वहाँसँग । श्री गुरुङ् बिगत १२ वर्षदेखी कुवेतको नेपाली समाजमा कृयाशिल संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको संस्थापक हुनुहुन्छ । क्लवमा ३ वर्ष सचिव, ६ वर्ष अध्यक्ष र २ वर्ष बरिष्ट सल्लाहाकारको नेतृत्व सम्हाली सक्नु भएका गुरुङ् हाल क्लवको प्रमुख संरक्षक र NRNA कुवेतको सल्लाहाकार समेत हुनुहुन्छ ।

भाषा, साहित्य र संगितको कुनै सिमा नहुने र यो क्षेत्रमा आफुले अझ धेरै कार्यहरु गर्न/सिक्न बाँकी नै रहेकोले आफुलाई एउटा बालककै रुपमा देख्नुहुने गुरुङ्ले बिशेषगरी कलाकृति र भाषा-साहित्यका खुराकहरुमा आफुलाई बालक गुरुङ् भनेर चिनाउन चाहनुहुन्छ । बालक गुरुङ्को पहिलो गिती संग्रह धीरज राईको एकल स्वरमा “स्टार” सन् २००७ काठमाण्डौमा, “साथीलाई कविता” कविता संग्रह सन् २००९ कुवेतमा बिमोचित भएका थिए भनें हाल काठमाण्डौमा “कर्म” नामक गिती एल्बम बिमोचन भएको छ । नेपालका सुपर स्टार गायक/गायिकाले आफ्नो स्वर दिनु भएको कर्ममा शिलाबहादुर मोक्तान र गणेश गुरुङ् जस्ता संगितका हस्तिहरुले संगित भरेका छन । यति मात्र नभई सामाजिक क्षेत्रमा समेत आफुलाई समर्पित गर्दै गुरुङ्ले खाडी राष्ट्रहरुमा घरेलु कामदारको रुपमा जाने महिला दिदीबहिनीहरुलाई लक्षितगरी काठमाण्डौमा एउटा अभिमूखिकरण तालिम केन्द्रको स्थापना गर्नु भएको छ भनें स्वयं तालिमकर्ता हुनुहुन्छ । आउनुहोस, यिनै बिषयबस्तुमा कुवेतनेपाल डटकमले वहाँको कुवेत भ्रमणको सिलसिलामा लिएको अन्तर्वार्ता पढौं:

सर्वप्रथम यहाँलाई कुवेतनेपाल डटकम एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छौं ।

१) लामो समयको प्रबास बसाई पछि नेपाल फर्कनु भयो कस्तो छ नेपालको बर्तमान अवस्था ?

– बिचित्र । भनेर साध्य छैन, औल्याएर साध्य छैन, यो सब हुनु भनेको यसको जिम्मेवारी पक्ष जो राष्ट्रलाई हाँक्न नेत्रित्व तहमा बस्नेहरु स्थायित्व भएर सरकारमा रहन नसक्नु नै हो जसले गर्दा नेपालको अवस्था एकदमै अन्यौलमा छ ।

२) जागिरे जिन्दगीको लामो अनुभव पछि जन्मभूमी फर्केर एउटा व्यवसाय शुरु गर्नु भएको सुन्नमा आएको छ । त्यो कस्तो किसिमको व्यवसाय हो र उद्देश्य के हुन ? छर्लङ्ग पारिदिनु हुन्छ कि ?

– मैले यहाँदेखी गएर जुन व्यवसाय अपनाएको छु त्यो खाडी मुलुकमा घरेलु रोजगारिको लागि आउने महिलाहरुलाई दक्ष जनशक्ती तयार गर्ने हो । यस सम्बन्धमा मैले कुवेत छाडनुपुर्व कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाहरुदेखी लिएर दूतावाससम्म यो बिषयको प्याकेज लिएर गएको थिएं, जसलाई सबैले सहर्ष स्विकार गर्दै हर तरहका सहयोग गर्ने बचनका साथ जुनै हालतमा पनि मैले त्यो काम गर्नुपर्छ भन्ने हौसला पाएको थिएं र त्यही भएर नै मैले यो तालिम केन्द्र सञ्चालन गरेको हुँ । अब किन भन्ने सवाल गर्नुहुन्छ भने, तपाईंहरुलाई थाहै छ, कुवेतदेखी साउदी, कतार, ओमान, दुबई सबै मुलुकहरु एउटै रीतिरीवाज, भाषा, धर्म-संस्कृति र परिवेश भएका मुलुक हुन । जसमा कुवेतकै एउटा उदाहरण लिउँ कि यहाँ आएर नेपाली महिला दिदीबहिनीहरुले कतिसम्म तड्पिनु परेको छ, सास्ती उठाउनु परेको छ र कयौंले जिबननै गुमाउनु परेको छ, रोजगारदाताहरुसँग रोजगारकर्ताहरुको आपसमा असमझदारी बढिरहेको छ । यद्दपी, यस्तो अवस्थामा पनि यि समस्या समाधानको लागि न त कुनै सरकारी अंग, न त कुनै गैर-सरकारी संस्थाहरुबाट पहल भएको छ । इत्यादी कुराहरुलाई ध्यानमा राख्दै मैले जुन प्याकेज ल्याएं, कि जो कोही पनि खाडी मुलुकहरुमा घरेलु कामदारमा जान चाहन्छन भनें उनीहरुलाई रोक लगाउने होइन, ताकी आउनुपुर्व यहाँ आएर गर्नुपर्ने कामको ’boutमा तालिम, बोल्नु पर्ने भाषा सम्बन्धी ज्ञान र यहाँ हुने गरेका जुन बिकृतीहरु छन त्यो सम्बन्धी पूर्ण जानकारी दिन सक्यौं भनें यहाँ आईसकेपछी उनिहरुलाई रोजगारको क्रममा सरलता एवं सहजताको बातावरण सृजना हुनुका साथै रोजगारदातासँग समेत राम्रो सम्बन्ध कायम हुनसक्छ भन्ने मेरो सोंच थियो र यो तालिम केन्द्र खोलिनुको मुख्य उद्देश्य पनि यिनै हुन । तर साँच्चै भन्नु नै पर्दा हालसम्म तालिम लिएर आउनुपर्छ भन्ने सवालमा महिला दिदीबहिनिहरुलाई अलिकती स्पष्ट भईसकेको छैन र तालिमको लागि आउने क्रम पनि उल्लेख्य रुपमा बढीरहेको छैन जसको लागि मैले संघर्ष गरी नै रहेको छु र कुवेतमा कृयाशिल सँघ-संस्था, नेपाली दूतावासदेखी लिएर नेपाल सरकारसँग पनि मैले परामर्श लिई राखेको छु ।

३) तपाईंको तालिम केन्द्रको नाम ?

– टप हिल मल्टिपल ट्रेनिङ्ग सेन्टर हो मैले खोलेको तालिम केन्द्रको नाम । कता कता माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव सँगै मिल्दोजुल्दो पाउनु हुनेछ ।

४) मानौं, टप हिल तालिम केन्द्रबाट एउटा प्राथामिक तहको “अभिमुखिकरण” तालिम त नेपाली महिलाहरुले लिएर आउने भए तर यहाँको अझ बिकराल समस्या भनेको यौन शोषणमा पर्नु हो, के त्यस सम्बन्धी पनि केही टिप्सहरु दिईने गरिन्छ तपाईंको तालिम केन्द्रमा ?

– अब प्राक्टिकल्ली यस सम्बधी तालिम नहुने हुँदा र बोल्नै लजाउने, सुन्नै लजाउने नेपाली चेलीबेटीहरुको अवस्था भएकोले पनि सेल्फ डिफेन्सको लागि मैले पाठ्यक्रममा चाँही यस सम्बन्धी पनि बुंदाहरु राखेको छु ।

अब प्रसंग अलिकती रमाईलो पक्षतिर:
५) MESC को वार्षिक अन्तर नेपाली भलिवल प्रतियोगितामा टुप्लुक्क आईपुग्नु भयो । तपाईंले सृजना गरिदिनु भएको प्लेट फार्ममा अहिले हामी लगायत कयौं नयाँ चेहराहरु कार्यरत छन, एउटा संस्थापकको हैसियतले कत्तिको सन्तुष्ट हुनुहुन्छ कलवको वर्तमान कार्यशैली प्रति ?

– सन्तुष्टिको सवालमा १०० मा १०० चाँही नभनौं, ९९ % म सन्तुष्ट छु । तर आफु संस्थापक भएर पनि मैले चाहेजती, मेरो आत्मले मागेजती तपाईंहरुलाई साथ दिन सकिरहेको छैन यो एउटा समयको खेल हो । तर मेरो तन, मन र धन तपाईंहरुसँगै थियो, छ र रहनेछ । राष्ट्रको पहिचान, गौरव र नेपाली म्याजोरिटीको लागि बिदेशी भूमिमा पनि तपाईंहरु जुन ढंगले दिलोज्यान दिएर निरन्तर रुपमा लागि पर्नु भएको छ, क्लवलाई माया गरेर खटिनु भएको छ, त्यो सबैभन्दा ठुलो उपलब्धी हो यसमा म एकदमै खुशी छु । माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव हिजो अस्ती उदाएको कुनै एउटा संस्था होइन, हिजो अस्ती पलाएको कुनै पालुवा होइन । यसले एउटा दशक नै पार गरिसकेको छ, यसको छुट्टै एउटा इतिहास छ, यसको नेपाली समाजमा छुट्टै पहिचान छ र जसलाई सदैव हामीले यसरी नै अगाडि बढाएर लैजान सकियो भनें भविष्यमा पनि यो जिवान्त रहनेछ भन्ने मलाई विश्वास छ । र जब म अन्तर नेपाली भलिवल प्रतियोगितामा टुप्लुक्क आउन सफल भएं साँच्चै नै त्यो क्षण मलाई नेपालबाट आउँदै गरेको भएपनी कुवेतमै छु जस्तो लागिरहेको थियो ।

६) क्लवको प्रमुख संरक्षकको हैसियतले आगामी दिनहरुमा क्लवलाई अझै सुधारेर जानुपर्ने हजुरले देखेका सम्भावनाहरु के छन ?

– इमान्दारिताका साथ भन्ने हो भने खासै मैले त्यस्ता त्रुटिहरु केही देखेको छैन । तपाईंहरु एकदमै समावेशी ढंगले जहाँ सहकार्यको एउटा माध्यम हुन्छ, एउटा पोलिसी हुन्छ जसलाई समन्वय गर्दै कार्यकारिणी समितिबीच तपाईंहरु अगाडि बढ्नु भएको छ, यसलाई यसरी नै निरन्तरता दिनुहोस्, क्लवको पवित्र मिडिया कुवेतनेपाल डटकमलाई पनि यसरी नै उच्च महत्वका साथ सञ्चालन गर्नुहोस र पनि अझ सशक्त भएर अगाडि बढ्न हामीले माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको तर्फबाट कुवेतवासी नेपालीहरुलाई अली पृथक किसिमका कार्यक्रमहरु, खेलकुदहरु देखी लिएर कल्चरल प्रोग्रामहरु जस्तो कि सन् २००५ मा हामीले E-SAF-C खेलाएका थियौं त्यस्तो किसिमका अन्तर्राष्ट्रिय टुर्नामेण्टहरु पनि बेला-बेलामा हामीले दिन सक्यौं भने प्रबासमा रहेर पनि माउण्ट एभरेष्ट स्पोर्टइङ्ग क्लव र यसका कार्यकारिणी समितिले साँचै नै एउटा महत्वकांछी कार्य गरेको देखिनेछ र साँचै नै माउण्ट एभरेष्ट (सगरमाथा)कै उचाईमा क्लवको नाम रहनेछ जसमा पक्कै पनि सबैले गौरव गर्नुपर्ने हुन्छ ।

अब प्रसंग अर्कोतिर:
७) तपाईं नेपालमा भएपनी NRNA कुवेतको सल्लाहाकार समितिमा हुनुहुन्छ, आगामी अक्टोबर १२ देखी १४ सम्म हुने NRNA को पाँचौं महाधिबेशनमा १७ लाख खाडीबासी नेपालीहरुलाई सम्बोधन गर्न के-कस्ता एजेण्डाहरु खाडीका NCC हरुले पेश गर्नुपर्ला र यो बारम्बार उठ्ने दोहोरो नागरिकताको मुद्दा कत्तिको सान्दर्भिक छ ?

– NRNA (गैर-आवासिय नेपाली सँघ)ले दोहोरो नागरिकताको मुद्दालाई मात्र अगाडि बढाउनु ठुलो भुल हुनेछ । हो, दोहोरो नागरिकताको लागि सँघर्षरत र आवश्यक पर्ने नेपालीहरु पनि हुनुहुन्छ, किनकी वहाँहरु त्यो ठाउँमा हुनुहुन्छ र वहाँहरुलाई त्यो हुनु पनि पर्छ । तर यही दोहोरो नागरिकता र लगानीको कुराहरुलाई NRNA ले महत्वपूर्ण बिषयबस्तु बनाएर खाडी मुलुकका नेपालीहरुको जती पनि ज्वलन्त समस्याहरु छन, जसलाई वहाँहरुले पनि सुनिराख्नु भएको छ, देखिराख्नु भएको छ र विश्वभरी गुञ्जिरहेको छ । यस सन्दर्भमा जबसम्म NRNA ले सम्बोधन गर्न सक्दैन पक्कै पनि वहाँहरुलाई असर पर्नसक्छ । त्यसैले आउने कार्यक्रममा बिशेषगरी खाडीमा भएका समस्याहरुलाई सम्बोधन गर्नसक्नु भयो भने, खाडीमा रहेका लाखौं कार्यकर्ताहरुसँग सहकार्य गर्न सक्नुभयो भने पक्कै पनि NRNA ले खाडी मुलुकमा कार्यरत नेपालीहरुबाट पनि माया र ममताको साथमा सहकार्य र सहयोग पनि प्राप्त गर्न सक्नु हुनेछ अन्यथा यो सोंच-बिचारमूलक नै छ ।

८) तपाईं NRNA कुवेतको सल्लाहाकार एवं स्वयं लामो समय खाडी बसाईको अनुभवी व्यक्तित्व, के सम्म गर्न सक्ने सम्भावनाहरु छन र खाडीवासी नेपालीको लागि NRNA ले ?

– NRNA ले खाडीवासी नेपालीको लागि के गर्न सक्छ र के गर्न सक्दैन भन्ने बिषयबस्तुमा जतिपनी मैले बुझे अनुसार, खाडीमा कार्यरत नेपालीले खेप्नु परेको सास्ती, घरेलु रोजगारमा आउने महिला कामदारहरुले भोग्नु परेको ज्यादतिहरु नै हुन । जसलाई वहाँहरुले सुनेपनी व्यवहारिक रुपमा देख्नु भएको छैन, भौतिक रुपमा भोग्नु भएको छैन र यसमा अनभिज्ञ नै हुनुहुन्छ जसले गर्दा वहाँहरुले खाडीवासी नेपालीहरुको समस्यालाई सहज रुपमा लिई राख्नु भएको छैन भनें खाडीका NRNA-NCC हरुले वहाँहरु समक्ष यस्ता यावत समस्याका पोकाहरु लगेर खोली राख्नु भएको छ र ध्यानाकर्षण गराउने क्रम जारी नै छ । फेरीपनि वहाँहरुले आगामी महाधिबेशनमा खाडीवासी नेपालीहरुको समस्यालाई साँचै नै विधिवत एवं व्यवहारिक रुपमा सम्बोधन गर्न सक्नु भएन भने म हेक्का राखेर भन्छु भोली गएर NRNA पनि नेपालका राजनीतिक पार्टिहरु जस्तै NRNA युरोप र NRNA मध्यपूर्व बनेर फाट्नेछ, दुई ध्रुवमा बाँडिनेछ ।

९) दोहोरो नागरिकताको पछाडि खाडीवासी नेपाली कहिलेसम्म र किन भाग्ने ?

– खाडी राष्ट्रहरुमा सम्भावना नै नभएको दोहोरो नागरिकताको पछाडि खाडीवासी नेपालीहरु  भाग्नु भनेको मुर्खता हुनेछ । हो, युरोपियन NRNA हरुलाई दोहोरो नागरिकताको आवश्यकता छ र त्यसको छुट्टै बिशेषता पनि होला र जहाँसम्म एउटा बौद्विमताको दृष्टिकोणले हेर्ने हो भनें वहाँहरु पनि एक नेपाली हुनुहुन्छ, नेपाली भनेर परिचित हुन चाहनुहुन्छ, आफुले कमाएको सम्पत्ती, श्रोत-साधन र विवेक नेपालमै लगानी गर्न चाहनुहुन्छ भने वहाँहरुमा अझै पनि नेपाली पन, नेपालको माया, नेपाली मन र नेपाली रगतले भरिएको देखिन्छ । तसर्थ: पनि खाडीवासी नेपालीहरु दोहोरो नागरिकताको पछाडि नभागेर भएपनि एउटा नेपाली भाइचाराको नाताले वहाँहरुको यस अभियानमा सहमती चाँही जनाउनै पर्छ र जसले नेपाल सरकारलाई समेत त्यस्तो  कुनै अप्ठ्यारो पर्दैन भन्ने पक्षमा म छु ।

१०) यहाँ लगानीको कुरा आयो । नेपालीमा एउटा उखान छ “ताक परे तिवारी नत्र गोतामे” तपाईंलाई लाग्दैन- कि नेपालको आर्थिक एवं राजनैतीक परिवेश राम्रो हुँदा लगानीदेखी सबै काम गर्ने नत्र झोलितुम्बा बोकेर कुलेलाम ठोक्ने ?

– अवश्य लाग्छ । तर, त्यसको लागि नेपाल सरकारले नै एउटा बिधिवत रुपमा बातावरण बनाउनु पर्ने हुन्छ । जस्तो अहिले एउटा कार्डको व्यवस्था गरिदिएको छ । कति बेला र कुन ठाउँमा लगानी गर्न पाउने र कुन ठाउँमा गर्न नपाउने भनेर जुन एउटा क्राईटेरिया तोकिनु पर्छ त्यो काम सरकारको हो जसमा हामीले बोल्न नमिल्ने हुन्छ ।

११) तपाईं एउटा सामाजिक क्षेत्रमा भिजेको व्यक्तित्व । खेलकुद सम्बन्धी एउटा संस्था स्थापना गरिदिनु भयो, गित-संगितमा पनि उत्तिकै रमाउनु हुन्छ, हाम्रैबीचमा साथीलाई कबिता भन्ने कृति बिमोचन गरेर एउटा रमाईलो क्षण छाडेर जानु भएको छ र हाल तपाईंको फेरी एउटा गिती एल्बम बजारमा आएको सुन्नमा आएको छ त्यस’bout केही बताई दिनुहुन्छ कि ?

– मैले कुवेत छाडेर गएपछी “कर्म” नामक गिती संग्रह तयार गरें जसलाई हालै बिमोचन गराएको छु । कर्माका दुईवटा गितहरुमा मैले आफै संगित पनि भरेको छु भनें कर्मामा स्वर ‘गायकहरु’ सत्य राज, स्वरुप राज, राजेश पायल राई, अन्जु पन्त र दिपक लिम्बुले दिनु भएको छ भने शिला बहादुर मोक्तान र गणेश गुरुङ् दाजुको संगित रहेको छ । खासगरी मैले यस एल्बमलाई नेपाली सुगम संगितमा साँचै एउटा छाप बनाउने हिसाबले करिब १ बर्षदेखी लागि पर्दै आएको थिएं र आफैले २ वटा गितहरुमा संगित भरेको र मेरो संगितलाई श्रोताहरुले मात्र नभई श्रष्टाहरुले पनि औधी मन पराइदिनु भएको छ । बिदेशमा बसेर पनि यतिसम्म तपाईंले गर्नु भएको रहेछ, जो हामी नेपालमा बसेर पनि गर्न सम्भब भएन, यसलाई निरन्तरता दिनुहोस् र आउनुस् सँगै मिलेर काम गरौं भन्ने जस्ता जुन आश्वासनहरु मैले पाएको छु जसबाट गित-संगितमा म त्यती सक्षम नभए पनि एउटा साहश र उत्साह भने जागेर आएको छ र आशा छ भविष्यमा अझ राम्रा गितहरु बनाउन सक्नेछु ।

१२) हामीले कहिले सुन्न पाउँछौं ?     

– कर्मका गितहरु नेपालका सम्पूर्ण टिभी च्यानलहरुमा गुञ्जिसकेका छन र कुवेतमा सिडी, क्यासेटहरु वितरण गर्ने सम्बन्धमा म जान भन्दा अगावै फैसला गरेर जानेछु ।

१३) तपाईंको एल्बमको नाम कर्म भन्ने बित्तिकै अलिकती भाग्यरेखातिर अंकित गर्दछ । पहिला पनि तपाईंले अलि ट्र्याजिक किसिमका कविताहरु लेख्नु हुन्थ्यो । कर्माका गितहरु रमाईलो पक्षमा पनि छन कि बियोगान्ततिरै मोडिएका छन त ?

– बियोगान्त र बिपन्नताले भरिपूर्ण भएको एल्बम नै कर्म हो । कता कता यसमा भावना र चाहनाका कुराहरु पनि उठेका छन । तर, गित चाँही हुबहु एउटा आधुनिक गितमा हुनुपर्ने भावुकतामै समेटिएका छन ।

१४) आजको अन्तर्वार्तामा छुट्फुट भएका त्यस्ता केही कुराहरु छन जो कुवेतनेपाल डटकम मार्फत बताउन चाहनु हुन्छ ?  

– हजुर । यही तालिम केन्द्रको बिषयमा म केही भन्न चाहन्छु, खासगरी यो मेरो आक्रोश पनि हो । मैले कुनै धन कमाएर काठमाण्डौमा पजेरो चढ्ने सपनाले यो तालिम केन्द्र खोलेको होइन । तालिम केन्द्र खोल्नुपूर्व मैले कुवेतका बिभिन्न सँघ-संस्था, बुद्दिजिवी, दूतावास र मेनपावर व्यवसायीहरुसँग सहकार्य गरेको थिएं । सबैले मलाई खोल्नको लागि एकदमै उत्साहित गराउनुका साथै हौसला दिनुभएको थियो । तर अहिले म स्पष्ट भन्न चाहन्छु कि, मेनपावर व्यवसायीहरुले तालिम लिनको लागि महिलाहरुलाई सहभागी गराई रहेका छैनन् र कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, NRNA र दूतावासले समेत तालिम दिएरै कामदार ल्याईनु पर्छ भन्ने बिषयमा मेनपावर व्यवसायीहरुलाई दबाब दिईरहेका छैनन, यसमा म एकदमै दु:खी छु । किनकी कुवेतमा महिलाहरुले दु:ख पाएर हिंडेको हामी सबैले प्रत्यक्ष देखेका छौं । साथै, म अरबिक एवं अङ्ग्रेजी भाषा सम्बन्धी पढ्न, लेख्न र बुझ्न, बुझाउन सक्ने क्षमता भएको द्वैभाषिक भएकोले पनि सबैको हौसलामा आफैले तामिल दिलाउने सुविधासहित यो टप हिल मल्टिपल तालिम केन्द्र मैले स्थापना गरेको हुँ र यस केन्द्रमा मेरो साथमा दुई जना अरु प्रशिक्षकहरु पनि हुनुहुन्छ ।

१५) तालिम केन्द्र भन्ने बित्तिकै शिक्षाको एउटा उज्यालो मार्गतर्फ लैजाने भनेर बुझिन्छ । तपाईंले स्थापना गर्नु भएको तालिम केन्द्रमा जतिपनी सिलेबस छन के ति सिलेबसहरु श्रम तथा बैदेशिक रोजगार बोर्डबाट लागु भएका हुन या तपाईं आफैले डिजाईन गर्नु भएको हो ?

– हजुर, मैले आफै डिजाईन गरेर श्रम तथा बैदेशिक रोजगार बोर्डबाट पारित गराएको हुँ ।

१६) अन्त्यमा कुवेतवासी नेपालीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?

– कुवेत साँचै नै रोजगारिको एउटा राम्रो गन्तव्य मानिएको छ । जहाँ नेपालीहरुको उल्लेख्य जम्काभेट हुनेदेखी बिभिन्न नेपाली कार्यक्रमहरु भईरहने हुनाले मलाई लाग्छ नेपालको एउटा प्रान्तै कुवेतमा छ । अन्य मुलुकको तुलनामा यहाँ नेपाली कार्यक्रमहरु धेरै हुने गरेका छन, नेपालीहरु कुनै न कुनै माध्यमबाट संगठित भएका छन, धेरै नेपाली सँघ-संस्थाहरु कृयाशिल छन यो एकदमै राम्रो पक्ष हो र एउटा मानव जीबनमा हुनुपर्ने बिशेषताहरु पनि यिनै हुन र यसरी नै अझ कुवेतमा नेपालीहरु संगठित भएर जाउन, एक-आपसमा हातेमालो गर्दै अझ राम्रा कामहरु गर्न सकुन, बिदेशी भूमिमा नेपाल र नेपालीको पहिचान गराउन सकुन यही नै मेरो आउँदै गरेको बिजया दशमी तथा दिपावलीको अवसरमा समस्त कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनिहरुलाई मंगलमय शुभकामना छ ।

धन्यवाद ।

3 responses to “मैले धन कमाएर बिलासिताको जिन्दगी जिउने उद्देश्यले तालिम केन्द्र खोलेको होइन: बाल कुमार गुरुङ्

  1. It is very nice progress Bal Kumar Tamu Jii, please keep continue your efforts. We will fully supports to you

    Tamu Samaja Kuwait.

  2. dherai ramro lagyo bal kumar dai ko bichar haru.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.