नेपाल छाड्ने तयारी गर्दागर्दै संसार छाडे


दीपक दाहाल, काठमाडौं, असोज ९- ‘मैले नेपालमै बसेर समुदायमा आधारित स्वास्थ्यसम्बन्धी धेरै कुरा सिक्ने र सुरुवात गर्ने अवसर पाएँ, म अब जाँदैछु, तर जहाँ गए पनि नेपालमा सिकेको ज्ञान फैलाइरहनेछु।’ पाँच वर्ष लामो नेपाल बसाइ सकेर फिलिपिन्स जान लागेका ५८ वर्षे डा. पंकज मेहताले गत शुक्रबार आयोजित बिदाइ समारोहमा भनेका थिए, ‘नेपाल मेरो मुटुमा छ, सधैं रहिरहनेछ।’

 युनिसेफ नेपालमा काम गर्ने मेहताले यहाँको बालमृत्यु र मातृमृत्यु दर घटाउन उल्लेखनीय योगदान पुर्‍याएको सम्बद्ध विज्ञहरू बताउँछन्। सहकर्मीहरूका अनुसार नेपालमा उनले लागू गरेको समुदायमा आधारित नवजात शिशु, एकीकृत बाल बचाउ र पोषण कार्यक्रमको अवधारणा युनिसेफले धेरै विपन्न मुलुकमा अपनाउँदैछ।
अमेरिकी सहयोग नियोग (युएसएड) नेपालका स्वास्थ्य निर्देशक एन प्यानिस्टनको हात्तिसारस्थित घरमा भएको बिदाइ समारोहमा मेहताले नेपाल छाड्नुपरेकोमा घरिघरि दुःख व्यक्त गरे।
बसुञ्जेल यहाँका हिमालसँग लोभिएका र फेसबुकको ‘वाल’मा समेत हिमाली क्षेत्रमै खिचिएको तस्बिर राखेका उनले आफ्ना सहकर्मीहरूलाई भनेका थिए, ‘म एक वर्षअघि नै माउन्टेन फ्लाइटमा गइसकेँ, तर श्रीमती गएकी छैन। उसलाई एकचोटि नलगी म नेपाल छोड्दिनँ।’
नेपाल छाड्नुअघि अन्तिमचोटि श्रीमतीसित माउन्टेन फ्लाइटमा जाने त्यही धोकोले आइतबार ज्यान लियो मेहता र उनकी अन्दाजी ५५ वर्षीया श्रीमती डा. छायाँको।’माउन्टेन फ्लाइटमा जान्छु त भन्दै थिए, तर आजै जान्छु भनेर साथीभाइसँग सेयर गरेका थिएनन्, बिदाको दिन एक घन्टामै फर्किहालिन्छ भनेर होला,’ युनिसेफ नेपालमा कार्यरत उनका निकट सहकर्मी डा.सुधीर खनालले आइतबार नागरिकसँग भने।
‘नेपाल छाड्ने साता संसारै छाड्ने साता बन्यो।’

पाँचवर्षे बसाइ
 भारतको कोलकाता स्थायी घर भएका मेहता पाँच वर्षअघि युनिसेफको लैनचौरस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालयमा खोप परामर्शदाताका रूपमा आएका थिए। दुई वर्ष त्यहाँ रहेपछि युनिसेफ नेपालको राष्ट्रिय कार्यालयमा स्वास्थ्य प्रमुखका रूपमा काम गर्न थाले। यस अवधिमा उनले नेपालका धेरै दुर्गम ग्रामीण क्षेत्र चाहारे।

उनलाई बढुवा गरी पोषण, बाल स्वास्थ्य र एचआइभीसमेत हेर्नेगरी फिलिपिन्स खटाइएको थियो। उनी अर्को साता नेपाल छाड्दै थिए। उनकी श्रीमती छायाँ आँखा रोग विशेषज्ञ हुन्। उनी तीन वर्षदेखि किस्ट मेडिकल कलेजमा प्राध्यापन गर्दै आएकी थिइन्।

अन्तिम साताको नेपाल बसाइमा रहेका मेहता केही दिनयता सहकर्मीहरूले दिने बिदाइ भोजमा व्यस्त रहँदै आएका थिए। अघिल्लो शनिबार स्वास्थ्य सेवा विभाग र एक्स्टर्नल डेभलपमेन्ट पार्टनर (इडिपिज) का सदस्यहरूले त्रिपुरेश्वरको एउटा रेस्टुरेन्टमा बिदाइ भोज गरेका थिए। उक्त कार्यक्रममा उनले भनेका थिए, ‘म यो सरुवालाई नेपालमा सिकेको ज्ञान अन्यत्र फैलाउने अवसरका रूपमा लिन्छु।’

अर्को शुक्रबार युनिसेफका सहकर्मीले त्यस्तै भोज गर्ने तयारी थियो। ‘त्यो कार्यक्रममा युनिसेफका हामी सबै सहकर्मीले उनीसँग खिचाएका तस्बिर र त्यससँग जोडिएका सम्झना समेटिएको एउटा किताब तयार पारेर दिने चाँजो मिलाएका थियौं,’ उनले भने, ‘अब त्यो किताब उनको परिवारका सदस्यलाई भए पनि दिन्छौं।’

मेहताका जेठा छोरा कैयुर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमडी तेस्रो वर्ष अध्ययनरत छन्। आगामी नोभेम्बरमा कैयुरको बिहे गर्ने तय भएको थियो। कान्छो छोरा धबल अमेरिकामा पढ्दैछन्। ९० वर्षे पिता कोलकातामै बस्छन्।

योगदान
बाल र जनस्वास्थ्य विशेषज्ञ मेहताले नेपालको मातृ र बाल स्वास्थ्य क्षेत्रमा धेरै राम्रा काम सुरु गरेका थिए। उनले समुदायमा आधारित नवजात शिशु र एकीकृत बाल बचाउ कार्यक्रमलाई प्राथमिकतामा पार्न नेपाल सरकार र दातृ निकायमा समेत ‘लबिङ’ गरे।
सहकर्मीहरूका अनुसार पोषण क्षेत्रमा ‘बहुक्षेत्रीय योजना’ बनाउनमा उनले दातृ निकायका तर्फबाट नेतृत्व नै गरेका थिए। नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणअनुसार सन् २००१ देखि २०१० सम्म आइपुग्दा पोषण अवस्थामा सुधार नआएपछि उनले यसलाई प्राथमिकतामा नराखे बालबालिकको जीवन रक्षा नहुने धारणा राख्दै आएका थिए।

उनले नेपालमा पोषणको क्षेत्रमा काम गर्न ‘नेपाल न्युट्रिसन ग्रुप’ नामक समूह खडा गरे। ‘त्यसको प्रतिफल आउन थालिसकेको थियो, युएसएआइडी, नेपाल हेल्थ सेक्टर कार्यक्रम र विश्व स्वास्थ्य संगठनले थुप्रै पैसा राखिसकेका थिए,’ डा.खनालले भने, ‘तर उनले प्रतिफल देख्न पाएनन्।’

सेभ दी चिल्ड्रेनका स्वास्थ्य तथा पोषण कार्यक्रम प्रमुख डा.आशिष केसीका अनुसार मेहताले नेपालमा थालेका स्वास्थ्यसम्बन्धी धेरै कार्यक्रम अहिले ‘सफलताको सिँढी’ चढ्दैछन्।

स्वभाव
मेहता निकै रमाइलो गर्ने स्वभावको भएको उनका सहकर्मीहरू सम्झन्छन्। उनी जैन धर्म मान्ने भएकाले मासु खाँदैनथे। आफ्नै खर्चमा पार्टी दिँदा पनि मासुको पैसा नतिर्ने उनको स्वभाव थियो। ‘म तिमीहरूलाई खुवाउन लैजान्छु, अरू सबै मै तिर्छु, मासुको तिमीहरूले नै तिर्नुपर्छ,’ अक्सर जमघटमा मेहताले भन्ने गरेको सम्भि्कए खनालले।

बिदाइको तयारीमा किस्ट
किस्ट मेडिकलमा डा. छायाँको सम्झौता अक्टोबरसम्म थियो, तर उनले त्यसअघि नै कलेज छाड्ने जनाउ दिइसकेकी थिइन्। ‘तीन वर्षअघि दसैंको अष्टमीकै दिन नेपाल आएकी थिएँ, सायद अब अष्टमीकै दिन नेपाल छोड्छु,’ औपचारिक रूपमा कलेज छाडिनसकेकी छायाँको भनाइ उद्धृत गर्दै किस्ट मेडिकल कलेजका प्रिन्सिपल टिपी थापाले भने, ‘सि वाज गुड टिचर (उनी असल प्राध्यापक थिइन्), हामी उहाँको फेयरवेल (बिदाइ) को तयारीमा थियौं, आजै दुःखद समाचार सुन्नुपर्‍यो।’

  विमान चालक जयबुद्ध ताम्राकार
माउन्टेन फलाइटका पाइलट जयबुद्ध ताम्राकार बिश्व निकेतन माध्यमिक बिद्यालय त्रिपुरेश्वरबाट एसएलसी तहको पढाइ पूरा गरेका थिए। संयुक्त राष्ट्र संघको टेक्सासबाट पाइलट बिषय पढेका थिए। उनी आइतबार बिहान ५ बजे उडानका लागि घरबाट हिँडेका थिए। अन्य दिन बुद्ध एयरकै गाडी लिन आउनेमा सो दिन नआएपछि उनले घरकै निजी कार लिएर घरबाट निस्केको उनका दाजु प्रवुद्ध ताम्राकारले बताए। यस भन्दा अघि उनले पहिला ठूलो विमान चलाएका थिए। उनी पूर्वमन्त्री रामकृष्ण ताम्राकारका कान्छा छोरा हुन्। दुई भाई मध्य दाजु व्यापार पेशा गर्छन्।

उनका सहपाठी साथी तथा विमान चालक सुनिल राणा आइतवार उनको शव ल्याएको स्थान त्रिविवि शिक्षण अस्पताल महाराजगंज पुगेका थिए। उनले अमेरिकामा संगै अध्ययन गरेको र सन् २००५ देखि यति एयर-४२ को कमाण्डर चालकको रुपमा काम गरेका थिए। चालक राणाका अनुसार ताम्राकार कुशल चालक थिए।’उनी सकरात्मक मान्छे हुनुहुन्थ्यो’उनले भने। 
 
क्याप्टेन पद्मा अधिकारी
२७ वर्षीया पद्मा कोपाइलटबाट क्याप्टेन भएको दुई महिनामात्रै भएको थियो। गौरीघाटकी उनले ३ हजार २ सय ६६ घन्टा उडाइसकेकी थिइन्। दक्षिण अफ्रिकाबाट पाइलट कोर्स सकेकी पद्मा पाँच वर्षदेखि बुद्धका जहाज उडाइरहेकी भिनाजु पुष्कर न्यौपानले बताए। चार दिदीबहिनीमध्ये कान्छी पद्माका दाजु प्रवीण पनि पाइलट हुन्। उनका बुबा अवकाशप्राप्त एसपी हुन्।

   एयरहोस्टेज अस्मिता श्रेष्ठ

एयरहोस्टेज अस्मिता श्रेष्ठले गत माघमा पहिलो पटक एयरहोस्टेजको जागिर खान छोडेकी हुन्। पुर्ख्यौली घर कुपण्डोलमा वस्दै आएकी थिइन्। टि्रटन कलेज बानेश्वरबाट उनले १२ कक्षासम्मको पढाई पुरा गरेकी उनले एयरहोस्टेज पेशा सुरु गरेपछि थप अध्यन स्थगित गरेकी थिइन्। उनी माउन्टेन एयरको उडानको लागि बिहान ६ बजे घरबाट निस्केकी थिइन्।

श्रेष्ठ परिवारको दुई छोरी मध्य उनी जेठी छोरी हुन्। उनी २० बर्षमा प्रवेश गरेकी थिइन्। श्रेष्ठ आफ्नै इच्छाले गर्दा एयरहोस्टेज पेशा अंगाल्न पुगेको उनकी साथी स्कोरिना लामाले बताइन्।
 

घटनास्थलमा जीवित उद्धार, अस्पतालमा मृत्यु
सुरेन्द्र पौडेल- ‘… प्लिज मलाई बचाउनोस्।’
झन्डै २०/२५ जनाको भीड आवाज आएतिर दगुर्‍यो। मानिसको सग्लो शरीर कतै थिएन। जहाजका पाटपुर्जा छरपस्ट। ‘सारै दुख्यो,’ भुइँमा रक्ताम्मे लडिरहेका एक व्यक्तिको कारुणिक आवाजले भीड रोकियो। उनको गर्दन र काखीमुनिबाट रगत बगिरहेको थियो। तैपनि बोलिरहेका थिए।

‘घटनास्थलमा उनी एक्ला जीवित थिए,’ ललितपुर लामाटार-७ का राज केसीले भने।
घटनास्थल ललितपुरको कोटडाँडा पुग्ने पहिलो समूहमा थिए, केसी। उनीसँगै थिए विजय पाठक पनि। ‘आज विमान किन यति नजिक उड्दै छ भनेर हामी अचम्म मानिरहेका थियौं,’ केसीले भने ‘२० सेकेन्ड बित्न नपाउँदै ठूलो आवाज आयो, आगोको मुस्लो निस्कियो।’

धुवाँको मुस्लोतिर दगुर्दै केसीसहित केही गाउँलो १० मिनेटमा घटनास्थल पुगे। मृत्युसँग जुधिरहेका ललितपुर कुसुन्तीका निरञ्जन कर्माचार्य गुहार मागिरहेका थिए, ‘प्लिज मलाई बचाउनोस्।’ डा. जगजन कर्माचार्य बुधबार मात्र नेपाल आएका थिए। काठमाडौंको लिंकन स्कुलबाट एसएलसी गरेका उनले अमेरिकाबाट एमबिबिएस गरेका थिए। उनी अमेरिका बसेको १५ वर्ष भइसकेको थियो।

कुसुन्तीमा रहेकी आमा मृगौलाको बिरामी भएकाले भारतको नयाँ दिल्ली आउँदा उनी यसपालि नेपाल छिरेका थिए। अमेरिकी साथी नेटाली नेइल्यान पनि दिल्लीबाट सँगै आएकी थिइन्।

मंगलबार अमेरिका फर्किने टिकट लिइसकेका जगजनलाई नौलो अनुभव गर्न मन लाग्यो – माउन्टेन फ्लाइट। नेइल्यानको पनि यसमा रुचि थियो। साथ दिन तयार भए जगजनका भाइ निरञ्जन र उनकी पत्नी शारदा। चार दाजुभाइमध्ये माहिला र साहिला अमेरिकामै थिए।

‘डेढ-दुई घन्टामा फर्किहाल्छौं,’ आइतबार बिहान माउन्टेन फ्लाइटमा निस्कनुअघि जगजनले भनेको सम्झँदै थिए उनका मामा गंगा गिरी। ललितपुरको बिएन्डबी अस्पताल परिसरमा उनले नागरिकसँग भने, ‘सबै आफन्तलाई खबर गर्नु, बेलुका फ्यामिली ग्यादरिङ (पारिवारिक जमघट) गर्नुपर्छ।’
‘कहाँ खबर गर्ने, कसलाई भन्ने, सुरुमा त सोच्नै सकेनौं,’ कोटडाँडाबाट निरञ्जनलाई जीवितै उद्धार गरी बिएन्डबी अस्पताल ल्याएका दुईमध्ये केसीले भने।

‘हामी स्ट्रेचर खोज्न गाउँतिर छिर्‍यौं। पानी परिरहेको थियो। बाटो हिलैहिलो। बल्लतल्ल निरञ्जनलाई स्ट्रेचरमा राखेर कोटडाँडाबाट तल झर्‍यौं।’

त्यही बेला उद्धारमा गएका प्रहरी भेटिए। निरञ्जनलाई अस्पताल पुर्‍याउन उनीहरूले प्रहरीसँग गाडी मागे। तर, प्रहरीले मानेनन्।

‘उहाँ एकजना मात्र जीवित हो, त्यसैले बचाउनुपर्छ। तपाईंहरूको गाडीमा अस्पतालसम्म लैजानुपर्‍यो,’ प्रहरीसँग गरेको अनुरोध केसीले सुनाए, ‘प्रहरीको गाडीमा मिल्दैन, एम्बुलेन्समा लैजानोस् भने।’

उनीहरूले स्ट्रेचरमै राखेर निरञ्जनलाई विशंखुनारायण थानसम्म ल्याउँदा झन्डै आधा घन्टा लागेको थियो। त्यतिबेला विशंखुनारायणमा एम्बुलेन्स आइसकेको थियो।

‘मलाई दुख्यो, कोल्टे फेरिदिनु,’ एम्बुलेन्सभित्र निरञ्जनले केसी र पाठकसँग दुईपटक भनेका थिए। उनले पटकपटक छिटो अस्पताल पुर्‍याउन पनि आग्रह गरे। तर, अस्पताल नजिकिँदै जाँदा उनको सम्झना शक्ति हराउँदै गयो।

‘मलाई के भयो? कहाँ जान लाग्या हामी?’ सातदोबाटो नजिक आइपुग्दा निरञ्जनले सोधेका थिए।

साढे नौ बजेतिर निरञ्जन र जगजनका वृद्ध आमाबुबा अस्पताल पुगे। जेठो छोरा र कान्छी बुहारीको घटनास्थलमै मृत्यु भएको खबर सुनेपछि उनीहरू कान्छो छोराको आसमा थिए। तर, उनको पनि मृत्युको खबर आएपछि वृद्ध आमाबाबु रुँदै अस्पतालबाट बाहिरिए।
बाबु लक्ष्मीदासले श्रीमतीलाई सम्हाल्दै ट्याक्सीमा राखे र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लागे, जेठो छोरा र कान्छी बुहारीको शव बुझ्न।

असहयोग गरेको होइन : भोगबहादुर थापा, एसपी- ललितपुर

घटनास्थल जाँदै गर्दा घाइते निरञ्जन कर्माचार्यलाई स्ट्रेचरमा ल्याइँदै थियो। उद्धारमा खटिएका स्थानीयले अस्पताल लैजान हाम्रो गाडी मागे। बाटो साँघुरो थियो। फर्काउन नमिल्ने भएकाले हामीले एम्बुलेन्सलाई खबर गरिसकेकाले ‘तपाईंहरू तल जाँदै गर्नुस्, एम्बुलेन्स आइसकेको हुन्छ’ भनेका थियौं।

माथि पुगेपछि एउटा मोडमा गाडी फर्काउन मिल्यो र हामीले उद्धारमा खटिएकालाई फोन गरी ‘तपाईंहरू कहाँ पुग्नु भो हामी आउँदैछौं’ भन्दा उहाँहरूले ‘एम्बुलेन्समा राखिसक्यौं’ भन्नुभयो। त्यसपछि फेरि हामी घटनास्थल लाग्यौं।

कोतडाँडामा यस्तो देखियो

श्याम भट्ट/सुन्दर खनाल- महाभारत शृङ्खलाबाट उत्तर हाँगोजस्तो भएर निस्केको कोतडाँडामा विमान ठोक्किँदा सबैभन्दा नजिक थिए हरि थापाको परिवार। उनीहरूको छाप्रोलाई मात्रै दस फिट दुरीमा छाड्दै बत्तेको विमान ३० मिटर अगाडि उच्चाइलो कान्लामा बज्रियो। त्यसअघि पंखाले छाप्रा मुनिको कान्ला लछार्‍यो, अग्रभागले सामुन्नेका दुइटा लप्सीका रुख च्याट्टै छिनाल्यो र बारबुर पारेर बनाइएको शौचालय उडायो।
पत्नी मुना र छोरा सुवाससँग चिया पिइरहेका ५५ वर्षीय हरिले विमान धस्रेर आएको कम्पनलाई गत साताको भूकम्प दोहोरिएको ठाने। लगत्तैका दुई विस्फोटलाई कतै घर भत्क्यो होला भन्ने सोचे। त्रस्त अवस्थामै तीनैजना भित्र बसिरहे। गाउँलेहरू आएर हल्लाखल्ला गरेपछि मात्र निमेषको संयोगले आफूहरू बचेको उनीहरूले थाहा पाए।
पूर्वबाट दक्षिण फन्को मार्ने क्रममा विमान सिधा जोतिइसक्दा गाउँलेहरूले दुर्घटनाको भेउ पाएका थिएनन्, आगोजस्तो राताम्य मुस्लोले कोतडाँडाको आकाश नढाकेसम्म। उनीहरूका अनुसार लगभग साढे सात बजेको त्यो समय कोतडाँडामा बाक्लो कुहिरोले ३० मिटर पर पनि केही देखिँदैनथ्यो।

लामाटार-७ र विशंखु-३ को सीमा कोतडाँडाको बारथुम्की भनिने त्यो विन्दु फेदीबाट मुश्किलले एक किलोमिटर ‘एरियल डिस्टेन्स’मा छ। दुर्घटनास्थल पुग्न पूर्व लामाटारबाट हिँडे वनको बाटो ४५ मिनेट लाग्छ भने पश्चिम विशंखुनारायण मन्दिरबाट उक्ले मात्रै आधा घन्टा। त्यति वरै विमान कसरी ठोक्किन आइपुग्यो भन्ने विश्मयसँगै गाउँलेहरू आँखाअगाडि भएको दुर्घटनाबाट हतप्रभ थिए। सबैसँग आआफ्नै भयावहपूर्ण अनुभूति।
‘म अहिले पनि पूरै होसमा छैन,’ दुई कोठे छाप्रोको एक कोठामा परिवार बसी अर्कोमा दुई गाई र पाँच बाख्रा पालेका थापा भन्दै थिए, ‘धन्न हामी चाहिँ बाँच्यौं।’

कोतडाँडाकै करिब ८५ घर भएको घना बस्तीबाट विस्फोट र मुस्लो पछ्याउँदै केही युवाहरूसँगै ओर्लेका प्रेम लामाले घटनास्थल पुग्दा निराजन कर्माचार्यलाई जीवित भेटेका थिए। ‘उनी विमानको बायाँ कान्लातर्फ लडेर ‘बचाउ बचाउ’ भन्दै कराइरहेका थिए,’ उनले भने, ‘मलाई अस्पताल लानुस्, मलाई दुख्यो भन्दै थिए। ढाडतिर दुख्यो भनेपछि सजिलो होस् भनेर हामीले नजिकै भेटिएको ब्याग राखिदियौं।’

‘उनका खुट्टा मासुका भरमा झुन्डिएका थिए। मुखभरि चोट, रगत बगिरहेको। साथीहरूले कोतडाँडा गुठीबाट स्ट्रेचर ल्याएर लैजाँदासमेत उनी बोल्दै थिए। एम्बुलेन्सलाई १०२ मा फोन गरेर बोलाए पनि समयैमा आएन। केही भाइहरूले उनलाई स्ट्रेचरमै डाँडाबाट ओराले। विशंखुनारायण्को मन्दिर पुगेपछि एम्बुलेन्स आइपुगेछ,’ लामाले भने।

पदाली सामुदायिक वन क्षेत्रमा पर्ने दुर्घटनास्थलबाट करिब ३ सय मिटर पश्चिम घरमा बसिरहेकी बसनी चन्द विस्फोट र आगोको मुस्लो देखेर आत्तिएर आँगनमै लडिन्। उनका जेठाजु-जेठानी लक्ष्मीराम र सानुमैयाँ त्यतै दौडे। कोतडाँडाबाट युवाहरू झर्दै थिए। त्यतिबेलै दुर्घटनाग्रस्त विमानबाट जोडले ग्यास लिक भयो र भागाभाग पर्‍यो।

 ग्यास कम भएर गाउँलेहरू नजिक पुगेपछि मात्र कर्माचार्यको आर्तनाद सुनिएको थियो। त्यतिखेर घटना भएको २० मिनेट नाघिसकेको थियो।

स्थानीय कोतडाँडा पर्यटन सरोकार समाजका महासचिव कर्ण तामाङ स्वयं महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ पुगेर घटना जानकारी गराएका थिए। दुई प्रहरी तत्काल घटनास्थल लागे। प्रहरी टोलीपछि सशस्त्र प्रहरी र सेनाको टोली घटनास्थल पुग्दा साढे आठ बजेको थियो।

तामाङका अनुसार कर्माचार्यको उद्धार गर्दा अधिकांश शव विमानभित्रै थिए, केही मानव अंग मात्र बाहिर छरिएका। उद्धारका लागि सेनाको रेञ्जर गणको डार्ट समूह (डिजास्टर एसेसमेन्ट एन्ड रेस्क्यु टिम) समेत पुग्यो। रेस्क्यु टिमका चिकित्सक डा. सुनिल श्रेष्ठका अनुसार अधिकांश शव सग्लै भेटिए।

नागरिककर्मीहरू ९ बजे घटनास्थल पुग्दा शव संकलनमा सेना, सशस्त्र र प्रहरी व्यस्त थिए। एघार बजेभित्र सबै शव उठाइसकिएको थियो। घटनास्थलमा बाक्लो भीड लागेको थियो। सेनाको एमआई-१७ हेलिकोप्टर घटनास्थलमा बस्न नसक्दा वरिपरिका रूख काटेर ठाउँ बनाइयो। सुरुमा लक्ष्मीराम चन्द ठकुरीको बारीमा हेलिकोप्टर बसाइएको थियो। विमानको एउटा ठूलै मेसिनरी भाग घटनास्थलबाट सय मिटर पर भेटिएको थियो।

 

Posted by: Shiva Paudel

Source: Nagarik

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.