अनुभूतिका रंगहरुसँग केहीक्षण रंगिदा


आचार्य प्रभा, क्लोराडो

पुस्तक बिचार “कबि मुकेश राईको”
भनिन्छ नि कबि मन कोमल, भावुक र दयालु हुन्छ । पुलिस, आर्मीको मन कठोर र रुष्ट हुन्छ आदी आदी । यो भनाईमा कतिसम्म सत्यता छ त्यो म किटेर भन्न सक्दिन तर जहाँसम्म मलाई लाग्छ यी ब्यवहारहरु मान्छेको पेशा, प्रतिभा वा रुचीबाट हुने होईन कि यो जन्मजात गुण हो । हुन त ब्यवहार र परिस्थितीले मान्छेको मनलाई कर्तब्यबोध गराएपछी नचाहेर पनि बद्लिनु पर्छ तर पनि माथीको उक्तिमा सत्यता छ भन्ने चाँहि म ठाँन्दिन । त्यसैले कबिको मन मात्र कोमल हुने भन्ने ठोकुवा छैन । यो सन्दर्भ मैले किन निकालें भने, कबि मुकेश राई पेशाले ब्रिटिश आर्मीको सेवक थिए जस्ले बन्दुक र बारुदसँग मात्र मितेरी लगाएर हर पल मनका आँखाहरु आफ्ना बैरी र शत्रुहरुमाथी मात्र राख्नुपर्ने बाध्यता थियो तथापी मुकेशलाई भने झन यो पेशामा लागेपछी नौलो परिवेश, नौलो ठाउँ र नयाँ जीवन भोगाईले झन बिह्वल बनायो र उनी झनै भावुक भएर आफ्ना मनका उथलपुथलहरु भावना बनाई ब्यक्त गर्न थाले ।

घरदेखिकै साहित्यिक माहौल भएर नै उनमा पनि साहित्यप्रतिको अभिप्शा जागेको हो भन्नमा अत्युक्ती हुन्न । फाट्ट, फुट्ट रचनाहरु लेख्दा लेख्दै कबि रक्ष राईको प्रोत्साहनले आफु लेखन क्षेत्रमा लागेको बताउँने मुकेश राईको लेखन क्षेत्रमा अझ सफल्ता हाँसिल भएको स्थान भने फेसबुक नै रहेछ । फेसबुक मार्फत बिभिन्न साथीहरुको प्रेरणाबाट कबिता संग्रह निकाल्ने हिम्मत कसेका मुकेश राईका संग्रह “अनुभूतिका रङ्गहरू” भित्र के कस्ता कबिताका भावहरु छन् त ? कबि श्रवण मुकारुङका अनुसार “उन्का कबिता पढ्दा कुनै गीत सुनेको भ्रान्ती हुन्छ । तर त्यही अधिक सरलताले कतै कतै कबिता धागो फुस्किएको स्विटर जस्तो पनि लाग्छ” यो शास्वत भनाईलाई मैले पनि मनन गरें । कबितामा प्राय: शब्दहरु साधारण तवरले उनिएका छन् । हुन त क्लिष्ट शब्दहरुको बाहुल्यता मात्र कबिताको सौन्दर्यता र बिशिष्ट भन्न पनि मिल्दैन तथापी “कबिता”मा बिम्ब र प्रतीकको उपस्थिती नै कबितालाई गौण् बनाउँने कसी भने हो । यसर्थ मुकेश राईका कबिताहरु पाठकहरुका लागी मनन गर्न सहज् छन् तर कबिताको चमत्कारीता भने अलिक न्युन नै लाग्दछ । उनका कबिताहरु पनि अरु कबिका झैं आफ्नै गाउँ घर र बाल्यकाल अनी आफ्नै सेरोफेरोमा समाहित छन् । कबि राईले उन्का एक कबिता “अनुभुतिमा निस्सासिँदै”मा आफु लण्डनको थेम्स नदिमा उभिएर लण्डनकै सेरोफेरोमा हराउँदै फेरि मस्त निन्द्रामा सुतिरहेकी आफ्नै देशलाई ब्युँझाउँन पूग्छन् । उन्को बिदेश भोगाइकै भावना भएर होला उनका कबिताहरुमा आफ्ना देशका अनुपम् द्रिश्यहरुको कल्पनाहरु भन्दा आफुले टेकेकै धर्तिको धेरै बयान पढ्न पाईन्छ तर पनि उन्ले “म आमा र मातृभूमी” कबितामा आफु जहाँ रहे पनि आफ्नो आखिरी सास भने आफ्नै जन्मभुमिमा नै रहोस् र फेरि जन्म लिनु पर्दा आफ्नै मातृभूमीमा जन्म लिनु परोस भन्ने खालका अनुनय बिनय पनी  गरेका छन् ।

लाहुरे जीवन ब्यतित गर्दै भए पनि साहित्यलाई माया गर्नु र साहित्यको भण्डार भर्ने सदिच्छा राख्नु भनेको एउटा लाहुरे बिचारको उत्कृष्ट नमुना हो मुकेश राई । हुनत मैले देखेको भेटेको छैन, मुकेश राईलाई तथापी मलाई यस्तो लाग्छ । मुकेश राई अल्पभाषी, शालीन र मिलनसार प्रविर्तिका छन् । हुनत कबितामा भावना त सबैको एकनास नै हुन्छन् । जस्ले पनि आफ्ना भावनाहरुमा आफुलाई देशभक्ती, राष्ट्रभक्ती र आफुलाई समर्पित बनाएर आफुलाई पोखेका हुन्छन् तर मलाई भने किन किन मुकेश राईका भावनाहरु साँच्चै नै उन्का मनका गहिराईबाटै निस्केका ध्वनिहरु हुन् भन्ने लागेको छ । शायद मेरो मुकेशप्रति एउटा आदरभाव पनि जागेको हुन सक्छ । जे होस् उन्ले लेखेका कबिताहरुमा मानव जीवनले भोगिरहेका कथाहरु नै कुँदिएका छन् जस्लाई सबैले सजिलै आत्मासात गर्न सक्दछन् । मलाई भने उन्को एउटा कबिताले असाध्यै मन छोयो त्यो कबिता हो । “आरोहअवरोह”भित्र समेटिएका यी शब्दहरु । जुन कबिता सर्लक्कै मलाई अल्छि नगरि सार्न मन लाग्यो ।

हिजो
म जीवनको गोरेटो
समतल हिँडिरहेको बेला
तिमी त्यो पहाडको
उकालो चड्दै थियौ,
मैले क्षितिज पछ्याउँदै गर्दा
तिमीलाई त्यो जून र घामको
नजिक जस्तो देखेथेँ,
किनकी तिमी उचाईमा थियौ
तर पनि तिमीलाई
पछ्याई नै रहेको थिएँ
तुँवालोले तिमीलाई छेके पनि
तिम्रै पद्चाप सुनेर अघी बढिरहेथें
मैले उकालोको पहिलो खुड्किलो टेक्दा
तिमी त्यो शिखरमा उक्लेर
अग्लो हुनुको उद्घोष गर्दैथियौ ।
आज म
त्यही पहाडको यतापट्टि
उकालो चढिरहेछु
तिमी त्यो पहाडको अर्कोपट्टि
खोला खोल्सीसँग सुसाउँदै ओरालो झर्दैछौ
तिमी ओरालो लाग्दै
त्यही पहाडको शिखरले छेकेको
एक पाटो आकाश हेर्दैछौ
म ओकालो चढ्दै
वारिपट्टि त्यही आकाशको
अर्को पाटो देखिरहेछु ।

भोली
तिमीले झरेको ओरालो
मैले पनि झर्नु पर्छ !
मैले चड्दै गरेको उकालो
तिमीले चढौला या कोही अरुले !
समय चक्र हो
जीवनको आरोह अवरोह यही हो ।

यो माथीको कबिताको भावले मेरो मन असाध्यै छोयो । उन्को यो कबिताले साँच्चै मान्छेका जीवनका आरोह अवरोहहरुको सहि वकालत गरेको छ । हामी मान्छे, हामीमा अभिमान, ईमान्दारिता, दुख, पीडा, खुशी यी सबैको बाहुल्यता छ तर हामी थोरै खुशीमा पनि रमाउँन जाँन्दैनौं र थोरै दु:खमा पनि हरेश खान पछी पर्दैनौं । सुखको लिस्नो के उक्लन्छौँ, आफुलाई आकाश छोएको ठहर्याउँछौँ र अरुलाई धर्तीकै धुलो ठान्न पनि पछी पर्दैनौँ । हो यस्तै अहम्तालाई मुकेशको “आरोह अवरोह” कबिताले प्रष्ट्याएको छ । हर मान्छेमा भावनाहरु उद्वेलित हून्छन्, त्यस्लाई पोख्न सक्ने शिप कबिहरुमा हुन्छ र, त कबिको उपाधी पाउँछन् त्यस्ता मान्छेहरुले । ति मान्छेहरुको भिँडको एउटा कबि मन हो मुकेश राइे तर त्यो शिपलाई कबि मुकेशले अझै शिल्प लगाएर प्रज्ज्वलित बनाउँन थप प्रयास भने गर्नै पर्ने देखिन्छ । त्यो त समयको बहावसँगै मुकेशको उदेश्यमा उर्जा थपिँदै जानेछ। पहिलो कोशेलीले सबैलाई आँखा मात्र खुलाउँछ, त्यो सर्व बिधितै छ । मलाई लागेको अर्को कुरा कबि मुकेशको यो संग्रहमा जस्मा कबिले आफ्ना भनाईमा केही उद्गार ब्यक्त गरेकाछन् जस्तै –

“म अनुरागी हुँ फूलको
बसन्तको आगमनमा रमाउँछु
काँडा या पत्झर स्वीकार्य छ मलाई
म अनुरागी हुँ जूनको
पुर्णिमाको रातको प्रतिक्षामा छु
औंसीका यी रातहरु स्वीकार छ मलाई”

यी माथीका भावमा म अलमल्ल परें । कबि फूलको अनुरागी भएर बसन्तको आगमनमा खुशी भएपनी काँडा र फूल दुवैलाई स्वीकार गर्ने भाव छ कबिमा। त्यो सहि हो । उनी स्वार्थी देखिँदैनन् जो बसन्तको आगमनमा फुलेका फूललाई मात्र रुचाएर काँडालाई हेला गर्ने । अनी फेरि जूनको प्रतिक्षार्थी बनेर जूनको पनि अनुरागी बन्दै प्रतिक्षामा छन् भने अनायस फेरि औंशीका यी रातहरु स्वीकार छ मलाई भनेर भाव मोड्न पुगेका छन् । कबिको भाव यस्तो हो कि? जूनको अनुरागी भएर पुर्णिमाको प्रतिक्षार्थी भए पनि औंशी रात पनि प्यारो नै लागेको हो शायद। यहाँ शब्द संयोजनमा अलिकती कमी देखिएको जस्तो आभास भयो मलाई भने । यो मेरो मात्रै दृष्‍टिकोण पनि हुन सक्छ ।

समग्रमा भन्नै पर्दा एउटा लाहुरे मनले भावनाका थुङाहरु उनेर यसरी कबिता संग्रहको आकार दिनु भनेको साहित्यलाई अर्को थप लाभ हो । जुन कबिले आफुले सानो छँदा बाबु,आमाको मुखबाट दन्त्य कथाहरु सुनेको भरमा साहित्यलाई माया गरेर कबि बन्ने अभिप्रायले यसरी लेखन क्रममा लागि पर्नु ठुलै उपलब्धी मान्नु पर्दछ । “अनुभुतिका रङहरु”मा साँच्चै कबिका बिभिन्न अनुभवहरु सप्तरङी माला झैं उनिएका छन् । हरकसैले पनि मनरुपी गलामा यो सप्तरङी मालालाई लगाउँने प्रयास गरेमा कबिको यो “अनुभुतिका रङहरु” साँच्चै सार्थक बन्नेछ । कबि मुकेशका कबिताहरु धेरै छन् र सबैमा आ-आफ्नै प्रकारका भावहरु पोखिएका छन् । भावनाहरु कँहि अत्रिप्त सपना बनेर पोखिएका छन् । कँहि बालककालको अतित बनेर मीठोसँग सजिएको छ । कँहि परदेश भोगाइको पीडा छताछुल्ल छ भने कँहि फौजी हुनुको भाव पनि प्रकट छ । यसरी कबिको यो संग्रहमा मिश्रित भावहरु सबै यथार्थ परक छन् ।

अन्त्यमा मेरो भन्नु, एउटी दिदी र पाठकको नाताले कबि तथा भाइ मुकेशका भावनाहरु यसरी नै लहराउँदै जाउन् । नेपाली साहित्यले यो कलमलाई अझै प्रोत्साहित गरोस् अनी हामी मुहार पुस्तिकाका मित्रहरुले सबैमा सहकार्यको सद्भावना राखेमा कबि मुकेशहरु अझै चम्कनेछन् साहित्यकाशमा । कबि मुकेशको मनमा लागिरहेको होला यतीखेर । आचार्य दिदीले अब मेरो संग्रह ’bout के के लेखिदिने हुन् ? भनेर । त्यसो त म त्यस्तो जानिफकार साहित्यकार होईन । मैले हरकसैको संग्रहमा समय खर्चिनुको कारण सबै सामु यस्को चर्चा होस् भन्ने मात्र हो । अनी देखिहालेको कुरा चाँहि किटाणीको साथ गल्ती छ भनेर चाँहि होईन तर यस्तो पो हुनुपर्नेथ्यो कि भन्ने प्रश्न भने तेर्स्याउँछु जस्ले गर्दा कुनै पनि कमिकम्जोरी छ भने सुधार्ने मौका मिल्छ जस्लाईपनी । यो कुनै समिक्षा होईन केवल मेरो कबि र संग्रहप्रतिको भाव मात्र हो । भुलप्रती म आफै पनि क्षमाको भिखारी छु ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.