आयशाले थपिन् स्वर्ण


काठमाडौ, आश्विन ७ – नेपाली स्टार आयशा शाक्यले अमेरिकी जाज्मिन पागुइरिगनलाई ९-२ ले हराएर पहिलो माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिपमा शुक्रबार स्वर्णपदक जितेकी छन् ।मलेसियाको वर्चस्व भएको प्रतियोगिताको दोस्रो दिन आशिष महर्जन, राम गिरी, ताराकुमार रायमाझी र प्रतीज्ञा भण्डारी भने फाइनलमा असफल भए । ‘एकपछि अर्को गर्दै नेपाली खेलाडी फाइनलमा हारे । दुःख लाग्यो,’ ४९-५३ केजीमा सफलता पाएकी आयशाले भनिन्, ‘नेपालको ब्याड लक भएकाले मलाई डर लागेको थियो । यस्तोमा जितेको स्वर्णमा खुसी छु । मलाई सपोर्ट गर्ने सबैलाई धन्यवाद ।’

गत वर्ष भदौमा कोरिया ओपनमा रजत जितेयता आयशा गोभरर कप (दक्षिण कोरिया), इन्डिया ओपन र गोन्जाउ एसियाडमा पदक जित्न असफल भएकी थिइन् । त्यसैले पनि उनी निकै खुसी देखिएकी थिइन् । ‘फाइनलमा अमेरिकी प्रतिद्वन्द्वी पनि उत्कृष्ट थिइन्,’ २४ वषर्ीया उनले भनिन्, ‘त्यसैले पनि ओलम्पिक छनोटका लागि यो राम्रो तयारी रह्यो ।’

दोहा एसियाडमा कांस्य, दक्षिण एसियाली खेलकुदमा एक स्वर्ण र उतिनै रजत जितेकी उनीसहित मनीता शाही, आशिष र रोहित तामाङले कात्तिक तेस्रो साता बैंककमा हुने ओलम्पिकको एसियाली छनोट खेल्नेछन् । आयशा र जाज्मिनले पहिलो राउन्डमा अंक जोड्न सकेनन् । टाउकोमा स्ल्याप किक प्रहार गरेपछि अपिल गर्दै आयशा दोस्रो राउन्डमा ३-० ले अघि बढिन् । उक्त राउन्डमा उनले ५-१ को अग्रता लिइन् । तेस्रो राउन्डमा दुई हाई स्ल्याप हान्दै उनले थप ६ अंक जोडिन् । जाज्मिनले पनि एक अंक हात पारिन् । आयशाले सेमिफाइनलमा मलेसियाकी सेरमाइन जुलाङलाई दोस्रो राउन्डमा नकआउट गरेकी थिइन् । नकआउट गर्नुअघि उनी ११-३ ले अघि थिइन् ।

तेइस वषर्ीय आशिष ६३-६८ केजीको फाइनलमा मलेसियाली मोहम्मद अफिफुद्दिनसँग २-४ ले पराजित भए । पहिलो राउन्ड अंकविहीन रह्यो । दोस्रोमा १-० को अग्रता लिए पनि २-२ को बराबरी हुँदै २-३ ले पछि परे । त्यसपछि अन्तिम राउन्डमा उनी अंक जोड्न असफल भए भने अफिफुद्दिनले एक अंक थपे । आशिषले अन्तिम चारमा भारतका पुदुक बुचीलाई दोस्रो राउन्डमा नकआउट गरे । त्यो स्थितिमा उनी १३-२ ले अघि थिए ।

‘फाइनलको प्रतिद्वन्द्वी बलियो थियो । सकेसम्म जित्ने प्रयास गरें,’ अन्तर्राष्ट्रिय ६ प्रतियोगितामा पहिलो पदक हात पारेका आशिषले भने, ‘मिहिनेत पुगेनजस्तो लाग्यो । यो हारले अझ धेरै मिहिनेत गर्नुपर्ने थाहा भयो । ओलम्पिक छनोटका लागि धेरै मिहिनेत गर्नेछु ।’

राम ८७ केजीमाथिको स्पर्धामा मलेसियाका वोङ वाई मेङसँग २-९ ले हारे । पहिलो चरणमा उनी १-२ र दोस्रोमा २-६ ले पछि थिए । मेङले दुईपल्ट चेतावनी पाएपछि उनले एक अंक पाएका थिए । रामले पहिलो खेलमा बंगलादेशका रइसुल कवीरलाई १५-५ र सेमिफाइनलमा पाकिस्तानका सौकर हुसेनलाई ६-५ ले हराएका थिए । पहिलोमा २-५ ले पछि परे पनि अन्तिम चरणमा ४ अंक जोड्दै खेल जितेका थिए ।

मलेसियाली चोउ सेङले नेपालका तारालाई एकतर्फी रूपमा १२-५ ले हराएर ५४ केजीमा स्वर्ण जिते । सेङले पहिलोमा २-१ र दोस्रोमा ८-२ को अग्रता लिएका थिए । पहिलो राउन्डमा २-३ ले पछि परेको स्थिति उल्टाएर ताराले सेमिफाइनलमा हङकङका चोउ होकानलाई ९-८ ले हराए ।

प्रतिज्ञाले बंगलादेशी श्रीबोनी विश्वाससँग ८-१० को संघर्षपूर्ण हार बेहोर्दै रजतमा चित्त amुझाइन् । सुरुमै खाता खोलेर पनि उनी पहिलो चरणमा २-३ ले पछि परिन् । दोस्रो चरणमा ६-५ ले फेरि अघि बढेकी उनी अन्तिम चरणको सुरुमा ७-५ ले अघि थिइन् । यस्तोमा हाई स्ल्याप किक खाएपछि ८-७ ले पछि परे पनि उनले खेल ८-८ मा पुर्‍याएकी थिइन् । त्यसपछि विश्वासले दुई अंक थप्दै बंगलादेशलाई प्रतियोगितामा पहिलो स्वर्ण दिलाइन् । उनले सेमिफाइनलमा भारतकी इसेरिङ ओङ्मुको चुनौती ७-३ ले समाप्त पारेकी थिइन् ।

मलेसिया अगाडि

तीन स्वर्ण थप्दै मलेसिया शुक्रबार पदक तालिकामा नेपाललाई उछिनेर शीर्ष स्थानमा पुग्यो । कुल चार स्वर्ण जितेको उसले एक कांस्य पनि थप्यो ।

दोस्रो स्थानको नेपालले ३ स्वर्ण र ६ रजत हात पार्‍यो । बंगलादेशले पहिलो स्वर्ण जित्यो । पाकिस्तानले पनि कांस्य हात पार्दै पदक तालिकामा खाता खोल्यो । प्रतियोगिताको अन्तिम दिन शनिबार ५ स्पर्धामा प्रतिस्पर्धा हुँदैछ

Posted by: Shiva Paudel

Source: ekantipur

One response to “आयशाले थपिन् स्वर्ण

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.