रक्तचन्दन तस्करी आरोपमा दुई डिएसपीलाई कारबाही सिफारिस


रक्तचन्दन तस्करीको आरोपमा दुई डिएसपीमाथि आन्तरिक छानबिनपछि कारबाहीको सिफारिस गरिएको छ । गृह मन्त्रालयले भने रक्तचन्दन प्रकरणमा सहसचिवको संयोजकत्वमा छानिबन समिति बनाएर छुट्टै अनुसन्धान सुरु गरेको छ । प्रहरीको आन्तरिक छानबिनमा तस्करीमा मिलेमतो देखिएको भन्दै जिल्ला प्रहरी कार्यालय रसुवाका तत्कालीन डिएसपी ओम रानामगर र नुवाकोटका बालकृष्ण थापालाई कारबाहीको सिफारिस गरिएको हो । स्रोतका अनुसार प्रहरी छानबिन समितिको स्थलगत अनुसन्धानमा उनीहरूको लापरबाही र मिलेमतो रहेकाले प्रहरी नियमावलीअनुसार कारबाही गर्न प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई सिफारिस गरिएको छ ।
रसुवा नाका हुँदै रक्तचन्दन कारोबारमा संलग्न रहेको आरोपमा प्रहरी प्रधान कार्यालयले डिएसपी रानालाई दुई महिनाअघि नै सरुवा गरिसकेको छ । नुवाकोटका डिएसपीको भने सरुवा भएको छैन । सोही घटनामा मुछिएका नेपाली सेनाको रसुवास्थित अर्हिदमन गणका कर्णेर्ल रामजी थापा भने जेलमा छन् ।
गृह मन्त्रालयबाट छुट्टै अनुसन्धान भइरहेकाले आन्तरिक छानबिनमा दोषी देखाइएका राना र थापाको कारबाही केही समयका लागि रोकिएको छ । गृहले प्रहरी किताबखानाका महानिर्देशक नारायणप्रसाद सञ्जेलको संयोजकत्वमा गठित छानबिन समितिले एक साताअघि रसुवामा स्थलगत अनुसन्धान गरी फर्केको छ । छानबिन समितिमा नेपाल प्रहरीका एसएसपी रमेश फुँयाल र राष्ट्रिय अनुसन्धान विभागका एसएसपी राजु अर्याल छन् ।
समितिले रसुवाका तत्कालीन डिएसपी रानासँग चार दिनसम्म घटनाको विषयमा बयान लिएको छ । रानाले तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरे पनि नैतिक जिम्मेवारी लिएका छन् । समितिले जिल्लाका प्रहरी तथा प्रशासनका कर्मचारीसँग समेत सोधपुछ गरेको थियो । उनीहरूले राजनीतिक दल र उच्च प्रहरी अधिकारीको समेत मिलेमतोमा रक्तचन्दन तस्करी गरेको बताएका छन् । तस्करीमा संलग्नहरूमाथि अनुसन्धान भइरहेको समितिका संयोजक सञ्जेलले बताए ।
स्रोतका अनुसार वैशाख अन्तिम साता रसुवा नाका हुँदै आठ टन रक्तचन्दन चीन निकासी भएको थियो । ना३ख २८९४ नम्बरको ट्रकमा सात करोड २० लाख मूल्यबराबरको रक्तचन्दन निकासी भएको हो । सो रक्तचन्दन सेनाको ब्यारेक हुँदै पास भएको सेनाको छानबिनले पुष्टि गरेको छ ।
छानबिन समिति स्रोतका अनुसार सिमेन्ट भन्दै तस्करी गरिएको सो ट्रक नुवाकोटमा मात्र ६ ठाउँमा चेकजाँच गरिएको थियो । बेत्रावती, कालिकास्थान, धुन्चे, स्याप|mुबेसी, टिम्बुरे र रसुवागढी नाकामा प्रहरीले रक्तचन्दन बोकेको ट्रकलाई पास गराइएको अनुसन्धानमा खुलेको छ । स्रोतका अनुसार चेकजाँचमा संलग्न प्रहरीसमेत छानबिनको दायरामा छन् । धादिङको देवीघाट हुँदै रक्तचन्दन पास भएकाले सीमास्थित भन्सारका कर्मचारीबाट नै अनुसन्धान थालिनुपर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
हालसम्मको अनुसन्धानमा तस्करीमा प्रहरीको अप्रत्यक्ष संलग्नता देखिएको उल्लेख गर्दै छानबिन समितिले प्रहरी, सेना, प्रमुख जिल्ला अधिकारीलगायत अधिकारीको कल डिटेलबाट थप अनुसन्धान गरिरहेको छ ।
छानबिनको दायरामा रहेका डिएसपी राना महानगरीय प्रहरी वृत्त बौद्धमा रहँदा घुस खाएको आरोपमा काठमाडौं परिसरमा तानिएका थिए । त्यसैगरी नुवाकोटका डिएसपी थापामाथि नक्कली सर्टिफिकेट पेस गरेर सेवा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । उनीमाथि चोरीको मुद्दा पनि लागेको छ ।
साइटिक्स कानुनअनुसार कारोबारमा प्रतिबन्ध रक्तचन्दन भारतको कर्नाटक र केरलाबाट नेपालको बाटो हुँदै चीनमा तस्करी हुँदै आएको छ । तातोपानी नाकाबाट रक्तचन्दन तस्करी हुने गरेकोमा गत वर्षबाट रसुवा नाकाबाट पनि तस्करी हुन थालेको प्रहरी अधिकारीहरू बताउँछन् ।
अरनिको राजमार्गबाट हुने रक्तचन्दन तस्करीमा प्रहरीको प्रत्यक्ष मिलेमतो देखिएपछि प्रहरी हवल्दारद्वय भीमसेन आचार्य, कृष्ण बस्नेत र जवान सिद्धिबहादुर कार्की थुनामा छन् । जगाती प्रभागका सइ चन्द्र मानन्धर निलम्बनमा परेका छन् ।
यसैबीच, धुलिखेलमा रक्तचन्दनसहितको गाडी चेकजाँच नगरी पास गराउने असइ पूर्ण गुरुङलाई पनि कारबाहीका लागि अञ्चल प्रहरी कार्यालय बागमतीमा पठाइएको छ । थप दुई जवानमाथि कारबाहीको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी सुरेन्द्र मैनालीले बताए ।

लुटेराका नाइकेलाई पाँच वर्ष जेल
काठमाडौं/  हतियार देखाउँदै राजधानीमा लुटपाट र डकैती गर्दै आएको एक समूहका प्रमुख र उनका सहयोगीलाई काठमाडौं जिल्ला प्रशासनले शुक्रबार जेल सजाय सुनाएको छ । हातहतियार तथा खरखजना मुद्दामा जिप्रकाले लुटेराका नाइके भयंकर भनिने हिरा लामालाई पाँच वर्ष जेल र ६० हजार रुपैयाँ जरिवाना सुनाएको हो ।
यसैगरी, उनका सहयोगी समीर लामालाई तीन वर्ष ६ महिना कैद तथा मनोज लामा र दीपक थापालाई तीन वर्ष कैद सजाय सुनाइएको हो । प्रहरीले उनीहरूलाई १४ साउन ०६७ मा गोंगबुबाट पक्रेको थियो । सुनपसले विनोद सुनुवारलाई कन्चटमा पेस्तोल तेस्र्याइ पैसा माग्दै गर्दा प्रहरी र स्थानीयले उनीहरूलाई पक्रेका थिए ।

प्रहरीले मेडिकल कलेज खोल्ने
काठमाडौं, ३० भदौ : प्रहरी अस्पताललाई विस्तार गरी नेपाल प्रहरीले मेडिकल कलेज खोल्न आन्तरिक गृहकार्य गरिरहेको छ । नेपाली सेनाले मेडिकल कलेज सञ्चालनमा ल्याएलगत्तै उसले मेडिकल कलेज खोल्ने तयारीमा लागेकोे हो ।
नेपाल प्रहरी अस्पतालका प्रमुख एआइजी डा. काशीराम कुँवरका अनुसार कलेज खोल्न आन्तरिक गृहकार्य भइरहेको छ । ‘कलेज खोल्न सहमति लिने प्रयासमा छौँ,’ एआइजी कुँवरले भने, ‘हामी आन्तरिक तयारी गरिरहेका छौँ ।’
कलेज सञ्चालनका लागि चार वर्षदेखि गृहकार्य भइरहे पनि आन्तरिक विवादका कारण काम अघि बढ्नसकेको थिएन । विवादपछि अस्पताल सञ्चालन नियमावली संशोधन गरी नयाँ प्रक्रिया सुरु गर्न लागिएको हो । मेडिकल बोर्ड पुनर्गठन गरी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता डिआइजी विनोद सिंहले बताए ।
सर्वसाधारणलाई सेवा दिइने अस्पतालले सर्वसाधारणका लागि समेत सेवा खुला गरेको छ । आगामी असोजबाटै सर्वसाधारणका लागि सेवा दिइनेछ ।
एआइजी कुँवरका अनुसार सर्वसाधारणलाई डायलोसिसबाट सेवा दिइनेछ । त्यसपछि ओपिडीलगायतका सेवा विस्तार गर्दै लगिनेछ । ‘प्रहरी अस्पताललाई टिचिङ र वीर अस्पतालकै शैलीमा लैजान लागेका हौँ,’ उनले भने, ‘सात सय शय्याको अस्पताल बनाउने योजना छ ।’ हाल प्रहरी अस्पतालमा आइसियू र इमजेन्सीसहित एक सय ७५ शय्या छन् ।
सर्वसाधारणलाई सेवा दिन डाक्टर र नर्स कन्सलटेन्टका रूपमा लिने अस्पतालले तयारी गरिरहेको छ । दरबन्दी बढाएर प्रहरीले १४ मेडिकल डाक्टर नियुक्त गरेको छ । सेवा विस्तारकै लागि अस्पतालले दरबन्दी थपेको हो । टिचिङ र वीर अस्पतालमा जस्तै सरकारी सेवाका मेडिकल प्रहरी अधिकारीको सेवा वृद्धिका लागि प्रहरीले यस्तो नीति अख्तियार गरेको हो ।

भूमिसुधार मन्त्रालयले अनुगमन संयन्त्र बनाउने
काठमाडौं, ३० भदौ : भूमिसुधार तथा व्यवस्था मन्त्रालयले मुलुकभरका नापी, मालपोत तथा भूमिसुधार कार्यालयमा हुने अनियमितता रोक्न मापदण्डका आधारमा कर्मचारी खटाउने भएको छ । उसले कामका ’boutमा अनुगमन संयन्त्र बनाउने तयारी गरेको छ । मन्त्रालयले मापदण्ड बनाएर अधिकृत र त्योभन्दा तल्लो तहका कर्मचारीलाई खटाउने तयारी गरेको हो ।
‘नापी, मालपोत, भूमिसुधार कार्यालयमा अनियमितता भएको, घुस नखुवाई कर्मचारीले काम नै नगरेको गुनासो आइरहेकाले त्यस्ता काम रोक्न पहल थालिएको हो,’ भूमिसुधारमन्त्री प्रभु साहले नयाँ पत्रिकासँग भने, ‘कर्मचारीलाई निर्देशन दिने र शक्तिशाली अनुगमन संयन्त्र बनाएर फिल्डमै कारबाही गर्नेसम्मको तयारी गरिरहेको छु ।’
मापदण्ड बनाउनुअघि कर्मचारी सरुवा नगर्नेसमेत मन्त्री साहले बताए । उनले काठमाडौंलाई ‘क’ श्रेणी तथा प्रमुख सहरलगायत क्षेत्रगत रूपमा मालपोत एवं नापी कार्यालयलाई वर्गीकरण गरी चक्रीय प्रणालीका आधारमा अधिकृतभन्दा माथि र तल्ला कर्मचारी खटाउने तयारी गरेको जानकारी दिए ।
‘अहिले एउटै कार्यालयमा कम्तिमा पाँच वर्षदेखि काम गरिरहेका कर्मचारीका ’boutमा लगत संकलन गर्न निर्देशन दिएको छु । अधिकृत र उपसचिव कति वर्षदेखि को कहाँ बसेका छन् भन्ने पूर्ण विवरणसमेत मागेको छु । विवरण आइसकेको छैन,’ उनले भने, ‘एउटै कार्यालयमा वर्षौंदेखि बसेर भ्रष्टाचार गर्नेलाई अन्तै सरुवा गर्ने र मापदण्डका आधारमा कर्मचारी सरुवा गर्ने परिपाटी बसाउन लागेको छु ।’
विगतमा घोषणा गरिएका निजी जग्गासम्बन्धी हदबन्दी कार्यान्वयन नभएकाले त्यस’bout विस्तृत लगत तयार गरी सार्वजनिक गर्ने उनले बताए । ‘पुरानो हदबन्दी जे-जस्तो भए पनि लागू भएको छैन, क-कसको कारणले लागू नभएको हो भन्ने पूर्ण लगत संकलन गर्न लगाएको छु,’ उनले भने ।
जनयुद्धताका माओवादीले कब्जा गरेका जग्गा दुई श्रेणीमा विभाजन गरी विवरण संकलन गर्ने मन्त्री साहले बताए । ‘युद्धका वेला हाम्रो पार्टीका कार्यकर्ताले कब्जा गरी प्रयोग गरेका जग्गा र अहिले सुकुम्बासी बसिरहेका जग्गा कति छन् विवरण संकलन गर्छौं,’ उनले भने, ‘निजी जग्गामा बसेका सुकुम्बासीको समस्या बेग्लै तरिकाले हल गर्नुपर्ने हुनाले कार्यदल गठनका लागि मन्त्रिपरिषद्मा प्रस्ताब लैजान लागेको छु ।’

Posted by : Dambar Rimal                                              Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.