शाकाहारी भारतीय प्रधानमन्त्री मनमोहन सिंह बंगलादेश भ्रमणको क्रममा अत्यन्त मीठो मानिएको हिल्सा माछा चाख्न इच्छुक
बंगलादेश भ्रमणको अवसरमा हिल्सा माछा दिएमा आफू मांशाहारी बन्न तयार रहेको भारतीय प्रधानमन्त्री मनमोहन सिंहले बताएका छन् । सिंह दुई दिने भ्रमणका अवसरमा मंगलबार बंगलादेश आइपुगेका छन् । १२ वर्षपछि भारतीय प्रधानमन्त्रीको बंगलादेशमा यो पहिलो भ्रमण हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री सिंहले बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग वार्ता गर्ने र त्यसपछि प्रतिनिधिमण्डल स्तरमा आधिकारिक वार्ता हुने योजना रहेको छ । आधिकारिक वार्तापश्चात विभिन्न क्षेत्रको सहयोग सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । दुवै देशको साझा समस्या भूमिको सीमा समांगन र यातायात सुविधाजस्ता कार्यक्रममा दुई दक्षिण एसियाली देशबीच सम्झौता हुने अनुमान गरिएको छ ।
यसबाहेक दुई देशका प्रधानमन्त्रीले चटगाउँ र मोंगलाबीच बन्दरगाह आदान-प्रदानमा हस्ताक्षर गरिने छ ।
प्रधानमन्त्री सिंहले बंगलादेशी राष्ट्रपति जिल्लुर रहमानसँग पनि भेट्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री सिंहले ढाका विश्वविद्यालयमा पनि सम्बोधन गर्ने छन् । बंगलादेशी समकक्षी प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणमा सिंह बंगलादेश आएको बताइएको छ । हिल्सा माछा अत्यन्त मीठो माछा मानिन्छ । हिल्सा माछाको परिकारलाई बंगाली समुदायमा अत्यन्त मीठो मानिन्छ ।
हिल्सा माछा भारतीय बजारमा पनि पाइन्छ । तर, मीठो हिल्सा माछा बंगलादेशी खोलामा नै पाइन्छ । समाचार एजेन्सी बंगलादेश संगबाद संस्थान -बिएसएस)लाई दिएको अन्तवार्तामा शाकाहारी भए पनि बंगलादेश भ्रमणको क्रममा हिल्सा माछाको परिकार दिएको खण्डमा खाने भारतीय प्रधानमन्त्री सिंहले बताएका थिए ।
‘हिल्सा माछाको परिकार अत्यन्त स्वादिष्ट हुन्छ भन्ने सुनेको छु । त्यसैले अपवादका रूपमा म आफ्नो शाकाहारी प्रतिज्ञा तोड्न तयार छु,’ उनले भने । भारतीय बजारमा बिक्री हुने अधिकांश हिल्सा माछा बंगलादेशबाट आयात गरिएको हो । भारतीय बजारमा एक केजी हिल्सा माछाको मूल्य एक हजार भारतीय रुपैयाँ रहेकेा छ
Posted by: Dambar Prasad Source : Nayapatrika