दुई मीतको कथा


दार्जिलिङ्गको चौरस्तामा भानुभक्तको पूर्णकदको शालिक छ। शालिकको ठिक पछाडिबाट एउटा बाटो महांकाल डाँडामा पुग्छ। नेपाली संगीत उद्योगका लागि यो डाँडो ऐतिहासिक महत्वको छ। यही डाँडोमा ईश्वर बल्लभले नारायण गोपाल गुरुवाचार्य र गोपाल योञ्जनबीच मितेरी साईनो गाँसिदिएका थिए। यो मितेरी साइनो गाँसिएका ५ दशक पुगिसकेको छ। नेपाली संगीतका लागि यो साइनो अजर अमर कोसेली दिने माध्यमको रुपमा धेरैको स्मरणमा छ।

त्यतिबेला मित लगाईदिने इश्वर बल्लभले सम्झनामा पनि चिताएका थिएनन् होला कि गोपालको यो जोडी नेपाली संगीतका लागि उपहार हुनेछ। तर कहिलेकाहीं अकल्पनीय कुराहरु यथार्थ बनेर आइदिन्छन्। दुई गोपाल बिचको मितेरी साइनो यस्तै एउटा दुर्लभ घटना थियो। गोपाल योञ्जन,नगेन्द्र थापा,कर्म योञ्जन लगायतका थुप्रै व्यत्तित्वहरु त्यतिबेला हिमालयन कला मन्दिरमा काम गर्थे। कलेज सकिएपछि साँझ चार बजेदेखि राती नौ बजेसम्म त्यही विभिन्न योजना बुन्दै,संगीत सिर्जंदै र शब्द कोरल्दै उनीहरु सिर्जनामा मग्न हुन्थे। त्यसबेला दार्जिलिङ्गमा गोपाल योञ्जनको चर्चाले विशेष स्थान पाएको थियो। यसको कारण थियो गोपाल योञ्जनको बाँसुरी। भारतीय निर्देशक सत्यजित रे ले गोपाल योञ्जनको बाँसुरीको धून मन पराएर सिनेमा रेकर्ड गराएपछि गोपालको चर्चा समकालिनहरुमा उच्च थियो।

२०२२ सालमा नारायण गोपाल दार्जिलिङ्ग छिरे एकल साँझ गर्न। नारायण गोपालको गायनको सुमधुरता यस अघि नै दार्जिलिङ्गमा फैलिईसकेको थियो। ईश्वर बल्लभ र नारायण गोपालका बिचमा राम्रो मित्रता थियो। बल्लभले नै योञ्जन र गोपाललाई चिनाई दिए। दुवैजनाको सांगीतिक सिर्जनशील क्षमता थाहा पाएका बल्लभलाई भेटेदेखि नै दुवैलाई मित लाईदिने विचार आईरहेको थियो। त्यही भएर एकदिन बल्ल्भले भूमिका बाँधेर कुरा शुरु गरे –“योञ्जन तिमी असाध्यै राम्रो संगीत सिर्जना गर्छौ र गोपाल असाध्यै राम्रो गाउँछौ। तिमीहरु मिल्यौ भनें अभूतपूर्व संगीत सिर्जना हुन्छ। तिमीहरुको जोडी अभूतपूर्व हुन्छ।” बल्लभको कुरा नाई भन्न सक्ने हिम्मत नारायण गोपालमा थिएन। उनले स्विकृति सूचक मुन्टो हल्लाए। अब पालो गोपाल योञ्जनको थियो। उनले पनि स्विकृतिमा मुन्टो हल्लाए।

यसरी दुवै जना गोपाल मित लागाउन त राजी भए तर रीत कसैलाई पनि थाहा थिएन। बाहुन भएका नाताले मित लगाईदिने जिम्मा पाएका ईश्वर बल्ल्भलाई पनि मित कसरी लाईन्छ भन्ने थाहा थिएन। तर उनले पढेका थिए देखेका थिए आगोलाई साक्षी राखेर गरेको काम पक्का हुन्छ। उनले पनि मित लगाईदिन आगोलाई नै साक्षी राख्ने मन्सुवा लिए र सोही अनुसार मकलमा अंगेठी बाली दुवैलाई मितेरी साइनोमा गाँस्ने काम भयो। दुई गोपाल बाहेक ईश्वर बल्लभ,नगेन्द्र थापा डा.गम्भीर सिंह योञ्जन  सहित अन्य केही यो ऐतिहासिक मितेरी साइनोको साक्षी बने। डाँडामा केही बेर रमाइलो भयो। यहाँ देखि दुवै गोपाल एक अर्कालाई सम्बोधन गर्दा ‘मितज्यू’ भनेर बोलाउँथे। यही नामबाट उनीहरुले महेन्द्र पुलिस क्लबमा ‘मितज्यू नाइट’नामको सांगीतिक कार्यक्रम पनि सम्पन्न गरे।

२०२२ सालको दार्जिलिङ्गको महाँकाल डाँडोमा घटेको यो घटनाले नेपाली संगीतमा दूरगामी असर पार्यो। संगीतका महारथी गोपाल योञ्जन र स्वरका महारथी नारायण गोपालको मिलनले नेपाली सुगम संगीतलाई यस्ता कालजयी गीतहरु दिएर गयो जुन गीत बिना नेपाली संगीतको कल्पना पनि गर्न सकिन्न।

तर एक समय आयो जब यि मितज्यूहरु एक अर्कादेखि अलग भए। दुवैलाई नजिकबाट चिन्नेहरु दुवैको विवाह पछि उनीहरुको सम्बन्धमा दूरी आएको बताउँछन्। दुवैलाई मितेरी साइनोमा जोड्नमा  महत्वपूर्ण भूमिका खेलेका नगेन्द्र थापाको अनुभवमा पनि विवाह र पारिवारिक दायित्वले उनीहरुको मित्रतामा दूरी आएको स्विकार्छन्। त्यो बाहेक दुवैको सांगीतिक विकास पनि विभाजनको कारण बनेको समकक्षीहरु  स्विकार्छन्। पहिला गीत मात्र गाउने नारायण गोपाल बिस्तारै आफैं संगीत पनि भर्न थाले भनें संगीत र शब्द मात्र लेख्ने गोपाल योञ्जन पनि आफैं गाउन थाले।

यसरी फाटिएको मन कहिलै जोडिएन। नजोडिंदै उनीहरु आ आफ्ना बाटा लागे। तर उनीहरुको जुगलबन्दीको शक्ति अनुभूत गरेका मित्रहरु भने उनीहरुको यो मित्रता अझ आठ दस वर्ष नटुटेको भए नेपाली संगीतको परिदृश्य नै अर्कै हुन्थ्यो भन्ने तर्क गर्छन्। जे होस् दुई गोपालको मित्रताले नेपाली गीत संगीतलाई जे जति दियो त्यो पनि कम छैन। उनीहरुले मितेरी साइनो नगासेको भए यति पनि हुन्थ्यो कि हुन्थेन के थाहा?

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.