अशोकका “FUSION प्रतिबिम्बभित्र” चिहाउँदा पग्लेका भावनाहरु


आचार्य प्रभा, अमेरिका

कबिता संग्रह निकाल्नेहरुका भिडमा प्रवासमा रहेर पनि धेरैले आफ्ना नामहरु अंकित गरिरहेका छन्, साहित्यको भकारीमा । यसै भिडमा अर्को एउटा सशक्त हस्ताक्षरको नमुना हो अशोक पार्थिव तामाङ । जसको कबिता संग्रह “प्रतिबिम्ब” केहिदिन अघी मेरो हातमा परेको छ । जसलाई म समय चोरी चोरी पढ्ने जमर्को गर्दैछु । बिदेशमा रहेर पनि साहित्य प्रतिको झुकावलाई यी प्रवासी मनहरुले त्याग्न सकेका छैनन् ।

पुराना दिनहरुमा कलाकारिता रुचाउने अशोक बालककाल देखी नै कबिता लेख्न पनि रुचाउँथें । जब उनी बिदेश भासिए अनी उनिभित्र देश प्रेमका कुण्ठित भावनाहरु सल्बलाउन थाले । बिदेशका भोगाईका उनका प्रतिबिम्बहरु शब्दको थुँगा बनेर किताबी रूपमा यसरी प्रतिबिम्बित बनेर छाए । हुन त मैले “प्रतिबिम्ब” को रचनाकारको नाम यही फेसबुकबाट मात्र सुन्दैछु वा पढ्दैछु । मेरो वालमा कहिले काँहिं झल्याक झुलुक अशोकका कबिताहरु टाँसिन्थे । उनको कबितारुपी भाषाहरु मलाई अलिक पृथक नै लाग्दथ्यो । मेरो अर्थमा ति भाषाहरु जटिल नै लाग्दथे । यस्तो लाग्दथ्यो उनका शब्दहरु बैज्ञानिक बिषयका शब्दहरु हुन् तर पनि बुझ्न सहज नै हुन्थे । अहिले “प्रतिबिम्ब” मेरो हातमा छ र मैले अशोकजीको सम्पूर्ण भावनालाई कैद गर्ने मौका पाएकी छु र मलाई चुनी चुनी उनका कबिताहरुको दहमा डुबुल्की मार्न सहज भएको छ । उनको “प्रतिबिम्ब” कबिता संग्रहका प्राय: कबितारुपी भावनाहरु आमाकै झझल्कोको प्रतिबिम्ब बनेर छरिएको आभास हुन्छ । जन्म दिने आमा र जननीलाई एउटै स्थानमा राखेर कोरिएका कबिताहरुका भावनाहरु सबै मात्रित्व प्रेमले ओतप्रोत छन् । अशोक  आफ्नो साहित्यको औपचारिक थालनी मुहार पुस्तिकाबाट नै भएको स्वीकार गर्दछन् । चाहे जहाँबाट साहित्यिक यात्राको शुरुवात होस्, लेखकमा शब्द र भावनाहरुको तार्तम्य अनी कला कौशल्ताले सजाउने सामर्थ्य छ भने उसको यात्रालाई स्वागत सबैले गर्दछन् । अशोक पार्थिवमा यो कौशलताको पर्याप्त गुण छ भन्ने यही प्रतिबिम्बले उजागर गरेकोछ । उनका संग्रहित कबिताहरुमा मैले आँखा गाडेका कबिताहरु मध्ये “आहा! धरतीका हरेक कुनामा जखमले घामहरु पुर्‍याउँन पाए” यस् कबितामा उनले धर्तिमा सबै सुस्ताएका, निदाएका मुर्झाएका जतिपनी बस्तुहरु छन् उष्णताले सेपिएका मानवरुपी बिरुवाहरु छन् । ति सबैमा अझ तिक्खर र चहकिलो घामरुपी आशाहरु वा प्रेरणाहरु थप्न पाए अझ यो धर्ती र यहाँका श्रीजनाहरु कती मोहक र सुन्दर बन्थे होलान् ? भन्ने उनको कल्पना र सपना छताछुल्ल पोखिएको छ उक्त कबितामा । यस्ता धेरै उदाहरणरुपी कबिताहरु छन् । जस्तै: अर्को कबिता “म साले कपूत छोरा” उनले यो कबितामा जननीरुपी आमाको रुपमा देशलाई प्रतिबिम्बित गरेको आभास हुन्छ । जसरी अहिलेको समयमा देश उनको कबिताको भाव अनुसार हजारौँ कपूत छोराको परेड खेल्ने मैदान बनेको छ । आमा आफ्नै सन्तानहरुबाट बलात्‍कृत भएकी छिन् । कती आशा र सुनौलो कल्पनामा आफ्नो कम्जोरीपनको पलमा आफ्नो बैशाखी बन्ने आशामा जन्माएका छोराहरु नै अहिले आफ्नै शत्रु बनेका छन् । त्यही छोरा मध्ये अशोकले पनि आफुलाई एक कपूत छोरारुपी पात्र बनाएर उक्त कबितामा आफ्नो गल्ती स्वीकार गरेर जननीलाई क्षमाको भिख माँग्दै आत्माग्लानिमा चुर्लुम्म डुबेका छन् । उनका हर कबितामा यस्तै भाव समेटिएको पाईन्छ । यसरी अशोकको यो कबिताले हर कुपूत छोराहरुलाई आँखा खुलाउने सन्देश दिएको छ ।

हुन त म कुनै बौद्धिक समालोचक वा टिप्पणीकर्ता होईन । बस यती हो म प्राय: मुहार पुस्तिकामा भेटिएका साथीहरु मध्ये अलिक पुरानै भएकीले सबैले यसो मनको भाव बिसाउने आग्रह गर्दछन् र म मैले जाने बुझेसम्म ति रचनाहरुमा आफ्नो अभिब्यक्ती राख्ने प्रयत्न गर्दछु अनी स्पष्ट बक्ता भएर देखेको कमिकमजोरी र त्रुटिहरुमा प्रश्नचिन्ह राख्ने गर्दछु निर्धक्कसँग यसरी ।

अशोकका धेरै कबिताहरु समाहित छन् “प्रतिबिम्ब” मा । मैले सबैको बेली बिस्तार लगाएँ भने त अरुले कबिता संग्रह नै किनेर पढ्दैनन् उसो र म लेखकलाई मार्ने चेष्टा पनि गर्न चाहन्न । बस् मैले यी दुई प्रतिनिधी कबिताको ’boutमा मात्र बुझेको कुरा प्रष्ट्याएँ । अब लाग्छु अशोकका कबिताहरुका केही मलाई लागेको निर्बल पक्षमा । मैले माथी नै भनी सकें म कमिकमजोरी र त्रुटी (जुन चाँहि मलाई लाग्दछ, सबैलाई नलाग्न सक्छ) मा प्रश्न चिन्ह तेर्स्याउँछु । जस्तै अशोकका कबिताहरुमा मलाई लागेको कुरा के हो भने उनका हर कबिताका शिर्षकहरु लामा लामा छन् । त्यही भावनारुपी कबिताहरुमा छोटा, मीठा, बिम्बात्मक र छरिता शिर्षकहरु भए ओहो! ति कबिताहरुमा अझ सुनमा सुगन्ध थपिन्थे कि ? भन्ने मेरो भित्री मनसाय । अर्को मलाई लागेको पक्ष के हो भने उनले नौलो नौलो शब्द प्रयोग गर्दछन् जो सर्‍हानीय छ । तर यो कबिता “आहा! धरतीका हरेक कुनामा यी जखमले घामहरु पुर्‍याउँन पाए त” लामो शिर्षकको एउटा उदाहरण पनि हो यो शिर्षक । अनी अशोकले घामलाई जुन बिशेषण दिएका छन् “जखमले” शब्द मेरो बिचारमा घामलाई अलिक सुहाएन कि जस्तो लाग्यो । “जखमले”को अर्थ ज्यादै ठुलो, घ्वाँक, जक्खु भन्ने बुझिन्छ । जस्तै मैले ब्यवहारिक रूपमा नै पनि गाउँ, घरमा गोरु, खसिहरुलाई “जखमले” को बिशेषण दिएको सुन्ने गर्दथें त्यसैले यो शब्दको बिशेषण घामलाई उचित देखियो जस्तो मलाई लागेन हुन त यो शब्द “प्रतिबिम्ब”मा नौलो देखिएको छ । घामलाई त प्रज्ज्वलित, उज्यालो, चम्किलो, प्रचण्ड वा न्यानो बिशेषण पो सुहाउँथे कि ?

हुन त अशोकको यो प्रथम प्रयास हो त्यसैले पहिलो प्रयासमा सबैले नै अन्जानमा धेरै कमिकमजोरिहरु निम्त्याएका हुन्छन् । मेरै कुरा मात्र सदर छ भनेर म ठोकुवा गर्दिन । बस् आफुलाई लागेको कुरा मात्र मैले पोखेकी हुँ एउटा सत्य पाठक भएर, मलाई यस्तो लाग्छ । प्रशंसाको झुटो धापभन्दा सहि सत्य गाली नै चोखो र सत्य प्रतिकृया हुन्छ जस्ले सर्जकलाई आउने दिनमा सहि बाटोमा हिँड्न सक्षम बनाउँछ ।

दुरदेशबाट कबि अशोकले मलाई उपहार स्वरूप “प्रतिबिम्ब” पठाएकोमा म अनुग्रिहित छु । युनिकोडको प्रयोगले मैले पनि यहाँ नचाहेर पनि कैयौं गल्ती गरेकीछु जुन आफुले चाहेर पनि सुधार्न सकिन लाई आत्मसात गरिदिनु हुने नै छ । अन्त्यमा “प्रतिबिम्ब” एक पटक सबैले पढ्ने प्रयास गरिदिएमा अशोकको अर्को खुड्किलो फेरि यस्तै श्रीजनामा टेक्न सामर्थ्यवान बन्ने छ भन्ने मैले विश्वास लिएकीछु ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.