महिलाहरू व्रत बस्न निकै रुचाउँछन् । उनीहरू जति धेरै व्रत बस्यो उति नै श्रीमान्की प्यारी हुन पाइन्छ भन्ने मनस्थितिका कारण पनि सकिनसकी व्रत बस्छन् । महिलाहरूले बस्ने वाषिर्क व्रत जोड्दा सालाखाला ५२ देखि १ सय २५ दिन हुँदो रहेछ । यो अंक केही थोरै वा अझ बढी हुनसक्छ । व्रत बस्ने कारण विभिन्न भए पनि अधिकांश हिन्दू महिलाको व्रतको उद्देश्य आफ्ना श्रीमान् तथा सन्तानको सु-स्वास्थ्य तथा दीर्घायुको कामना हुन्छ। कतिपय किशोरी स्लिम हुने रहरले व्रत बस्छन् ।
महिलाहरूले लिने व्रतमध्ये एउटा व्रत भाद्र शुक्ल पक्ष पञ्चमीका दिन पर्छ । यो दिन खासगरी महिलाहरू अरुन्धतीसहित कश्यप आदि गरिएका ऋषिको पूजा-आराधना गर्छन् । यो दिनको व्रत तथा पूजा गरेपछि महिलाहरूले आफू महिनावारी भएको बेला जानी-नजानी गरेको छातछुतको पाप मोचन हुन्छ भन्ने शास्त्रीय एवं लौकिक मान्यता छ । ऋषिपञ्चमीका अवसरमा महिलाहरू पूजाआजा मात्र गर्दैनन्। नाचगान गरी निकै रमाइलो पनि गर्छन् । महिलाहरूले गर्ने यही पूजा तथा नाचगानको अवलोकन गर्ने सिलसिलामा ऋषिपञ्चमीको एक बिहान म काठमाडौंको कुलेश्वरस्थित ऋषेश्वर मन्दिर पुगें । त्यहाँ महिलाहरू विशेष स्नान गरी रातो पहिरन, चुरा तथा पहेंला-हरिया पोतेमा सजिएर महादेवको दर्शनका लागि लामो लाइनमा उभिएका थिए। त्यही लाइनमा उभिई महादेवको दर्शन गरी फर्किर्एका केही महिलासँग अलग-अलग गरी आफ्नो जिज्ञासा राखें,
‘तपाईं ऋषिपञ्चमीको व्रत किन बस्हुन्छ ? सबै महिलाबाट एउटै उत्तर आयो-’महिनावारीका बेला जानी-नजानी गरेको पाप पखाल्न।’ यही जिज्ञासा मैले त्यहाँ आएका किशोरीहरूसँग राखें। उत्तरमा उनीहरू हि हि हि गर्दै हाँसे र भने ‘हाम्रा सबै साथी बस्छन् त्यसैले’ 0८-१० जनासँग सामान्य कुरा गरेपछि त्यहाँ पुग्ने किशोरी तथा महिलाका कुरा मैले बुझिहालें। ऋषिपञ्चमीको पूजा मन्दिरमा मात्र नभई घरटोलमा समेत गरिन्छ। थप केही महिलाको मनसाय बुझ्न म विशालनगरस्थित एउटा ठूलो घरमा पुगें। संभ्रान्त तथा शिक्षित देखिने महिलाहरू त्यो घरको आँगनमा बडो भक्तिभाव तथा उमंगका साथ पूजामा व्यस्त थिए। ब्राह्मणले पूजाविधि पढ्दै थिए। महिलाहरू उनले भनेअनुरूप गर्दै थिए। यो विधि लामै रह्यो। अन्त्यमा पूजा सकेर बाहिरिएका महिलाहरूमध्ये मैले एउटीसँग कुरा गरें। उनी थिइन्-कलेजमा अर्थशास्त्र विषय पढाउने शिक्षिका। ती शिक्षिकाका शब्दहरू अघिल्ला महिलाहरूका भन्दा फरक थिए, तर सार उही थियो। एउटै सार ‘परम्परादेखि चलिआएको चलन गर्नैपर्यो नि।’
मैले अन्य केही व्रतालु महिलाको कुरा पनि सुनें। अब यो पूजा गराउने गुरुका कुरा के होलान् भनी म पुगें गुरुकहाँ। ती धर्मगुरु थिए-संस्कृतमा उत्तरमध्यमा उत्तीर्ण। शास्त्र-पुराणको ज्ञान भएका। विद्वान् गुरुका रूपमा पुजिएका। मैले उनलाई महिलाहरूसँग सोधिएको उही प्रश्न सोधें। मेरो जिज्ञासाको उत्तरमा उनले शास्त्रमा रटेका कुरा सुगाले झैँ दोहोर्याउँदै गए-’त्रेता युगमा देवराज इन्द्रले वृत्रासुर नामको एक राक्षसको हत्या गरे। वृत्रासुर ब्राह्मणकुलीन थियो तसर्थ देवराजलाई ब्रह्महत्याको पाप लाग्यो। यसबाट त्रसित हुँदै देवराज इन्द्र ऋषिहरूलाई लिएर ब्रह्माकहाँ पुगे र पाप मोचनको उपाय सोधे। ब्रह्माले त्यो पापलाई चार भागमा बाँडे। पहिलो भाग आगोको ज्वालामा पठाए। दोस्रो नदीको बाढीमा। तेस्रो पर्वतमा तथा चौथो नारीको मासिक रक्तस्रावमा बाँडे। त्यसपछि ऋषिहरूले महिलाहरू महिनावारी भएका ३ दिनमध्ये पहिलो दिन चण्डालस्वरूपा, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी सरह हुनेछन् भनी बताए। यी तीन दिनमा नारीले पुरुष वा अरू कसैलाई छोए ऊ सोहीअनुरूप पाप भागिनी हुनेछ भनी बताए।’ गुरुको यस्तो शास्त्रीय कथन सुनेर म अलमल्ल परें। अझ स्पष्ट रूपमा बुझाउन गुरुजीले पुराणमा लेखिएको अर्को कथा सुनाए-’सुमित्र नामक ब्राह्मणकी पत्नी जयाश्री महिनावारी भएका बेला छातछुत गर्दै हिँड्थिन्। एकपटक सुमित्रका छोरा सुमित आफ्ना मृत बाबुआमाकोे श्राद्ध गर्न बसेका थिए। त्यसैबेला आफ्नो घरको कुकुरले उनको भान्सा छोयो भनी त्यसलाई नराम्रोसँग कुटे। त्यसैदिन खेतमा घरको गोरु पनि दिनभर जोतिएको थियो। राति गोठमा ती दुई कुकुर र गोरु आपसमा कुरा गरिरहेको सुनेपछि ओहो यी त मेरा मातापिता पो रहेछन्। कुन पापले यो जुनीमा गए भनी बुझ्न अरुन्धती -वशिष्ठ पत्नी) कहाँ पुगे। अरुन्धतीले जयाश्रीले आफू महिनावारी हुँदा पतिलाई छोई जथाभावी गरेको हुँदा कुकुर्नीको जुनी तथा पति गोरुको जुनीमा गएको बताइन्। यो जानकारीबाट दु:खी भै आफ्ना मृत बुवाआमालाई पशु योनिबाट मुक्ति दिलाउने उपाय खोज्दा अरुन्धतीले भाद्र शुक्ल पञ्चमीका दिन महिलाहरूले शुद्ध भएर सप्तऋषिको पूजा-आराधना गरे पशु योनिबाट मुक्त हुनेछन् भनी बताइन्। सुमितले सोहीबमोजिम गरी मृत बुवाआमालाई कुकुर र गोरुको जुनीबाट मुक्ति दिलाए। त्यसपछि यो व्रत महिलाहरूले लिंदै आएका छन्।’
महिनावारीका बेला भएको पाप मोचनका लागि गरिने ऋषिपञ्चमीको व्रत विधि विशेष प्रकारको हुन्छ। व्रतालुहरू हात-गोडाका नङ काटी सफा पार्छन्, गंगाको तिरमा गएर ३ सय ६५ दतिवनका कुड्का प्रयोग गरी त्यति नै पटक दाँत माझ्छन्। हात-गोडामा गोबरमाटो लगाई पखाल्छन्, ३ सय ६५ पटक स्नान गर्छन्। शरीरका अंगअंग सफा गर्छन्, दतिवनको पात प्वालप्वाल परेको भाँडोमा राखी छहरा बनाई नुहाउँछन्। यस किसिमले शारीरिक शुद्धता अपनाइसकेपछि महिलाहरू मन्दिर वा घरमा समूहमा बसी सप्तऋषिको पूजा-आराधना गर्छन्। पूजा विधिका लागि प्रयोग हुने सामग्री दूबो, फूल, जौ, तिल, अक्षता धूप, बत्ती, फलफूल आदि सबै ३ सय ६५ वटा गनेर चढाइन्छ। हरेक कुरा ३ सय ६५ पटक गर्नुपर्ने हुँदा पूजा विधि लामो हुन्छ। पूजा सकिएपछि महिलाहरू सानो केराउको दाना मिसाई पकाइएको कर्कलोसँग भात खान्छन्। मन्दिरमा गएका महिलाहरू दिनभर काँक्रो तथा फलफूल खाँदै नाचगान गरी रमाइलो गर्छन्।
ऋषिपञ्चमीको यथार्थ सन्देश:
हाम्रो संस्कृतिका हरेक चलनले स्वस्थ जीवनका लागि विशिष्ट सन्देश दिएका छन्। यसको सही व्याख्या गर्न नजान्दा हामी पाप र धर्म दुई शब्दमा कुरा टुंग्याउँछौं। ऋषिपञ्चमीको व्रतले खासगरी महिलालाई स्वस्थ र प्रसन्न रहन महत्वपूर्ण सन्देश दिएको छ। तसर्थ यसभित्रका यथार्थ कुरालाई पन्छाएर वैज्ञानिक आधारबिनाका कथाका आधारमा पर्वको व्याख्या गर्नु समयानुकूल हुँदैन। हरेक दिन गर्नुपर्ने सरसफाइका क्रियाकलाप वर्षको एकदिन गरेर हुँदैन। सचेत मानवले हरेक कुरालाई स्वीकार गर्नुअघि यसको वैज्ञानिक रहस्य पत्ता लगाउनुपर्छ।
ऋषिपञ्चमीले दिएका केही महत्त्वपूर्ण सन्देश निम्नानुसार हुन सक्छन् :
व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने:
एक वर्षमा ३ सय ६५ दिन हुन्छन्। हरेक अंगलाई ३ सय ६५ पटक धुनुपर्ने व्रतको यो विधिले महिलाले आफ्नो दैनिक सरसफाइमा सधैं ध्यान दिनुपर्छ भन्ने कुरा बताइएको छ। महिलाहरूले आफू महिनावारी भएका बेला व्यक्तिगत सरसफाइमा अझ बढी ध्यान दिनुपर्छ। यस्तो बेला शरीरका अंगहरू ख्ाासगरी गुप्ताङ्ग पटकपटक सफा पानीले धुनुपर्छ। महिनावारीका बेला अघिपछिभन्दा बढी पसिना बग्ने तथा रक्तस्राव हुने हुँदा शरीर फोहोर हुन्छ र गन्ध आउँछ। शरीरलाई सफा राख्न दिनहुँ नुहाएर कपडा फेर्नुपर्छ भन्ने यो पर्वको पहिलो र अत्यन्त महत्त्वपूर्ण सन्देश हो।
पोषिलो खाना खाने:
स्वस्थ हुन पोषिलो खाना खानुपर्छ। पटकपटक व्रत बसिरहँदा तथा खानामा ध्यान नदिँदा महिलाहरू दुर्बल हुन्छन्। पोषिलो खानाको अभावमा हाम्रो देशमा धेरै महिला रक्तअल्पताको सिकार भएका छन्। ऋषिपञ्चमीका दिन खाइने कर्कलोमा रगत बढाउने लौहतत्व धेरै हुन्छ। महिनावारीसँग जोडिएको यो व्रतले यो अवस्थामा महिलाहरूको शरीरबाट रगत बग्ने हुँदा शरीरमा रगतको कमी हुन नदिन पोषिलो खाना खानुपर्छ भन्ने दोस्रो सन्देश दिएको छ।
मन प्रसन्न राख्ने:
चिकित्सकहरू भन्छन्-महिलाका ५० प्रतिशत रोग मनको दिक्दारीका कारण लाग्छ। मन प्रसन्न नहुँदा शरीरमा एक किसिमको हार्मोन उत्पन्न हुन्छ जुन शरीरको कुनै ठाउँमा गएर गाँठो पर्छ। टाउको दुख्ने, पेट दुख्ने, शरीर भारी भएको अनुभव हुने आदि दिक्दारीका परिणाम हुन्। तीज तथा ऋषिपञ्चमीमा महिलाहरू मनको बह पोख्दै गीत गाउँछन्, नाच्छन् र रमाउँछन्। यो पर्वको तेस्रो सन्देश हो।
महिलाहरू एकजुट हौं:
ऋषिपञ्चमीको पूजा महिलाहरू समूहमा बसेर गर्छन्। समूहमा गर्दा छुटपुट भएका पूजा सामग्री साम्य हुन्छ भन्ने भनाइ छ। समूह भनेको बल हो। आपसमा मिले बलियो भइन्छ। महिलाहरू एकजुट भै मिलेर गरे कुनै पनि काममा सफलता पाइन्छ भन्ने बलियो सन्देश यो पर्वको चौथो सन्देश हो।
Posted by: Jay Ale