एकै महिनामा ४५ हजार युवा बिदेशिए


चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उच्च वृद्धि भएको छ । गत वर्षको सोही महिनाको तुलनामा ५२ दशमलव १५ प्रतिशतको वृद्धि भई साउनमा ४५ हजार १ सय ६५ जना बिदेशीए । यो संख्या गत आ.व.को साउनको भन्दा १५ हजार ४ सय ८० ले बढी हो ।

वैदेशिक रोजगार विभागका अनुसार एक महिनामा बिदेसिएको यो संख्या हालसम्मकै उच्च हो । राजनीतिक स्थिरता कायम हुन नसक्दा मुलुकमै रोजगारीको अवसर सृजना नहुनु र भएका रोजगारीका अवसर पनि बिस्तारै गुम्दै गएकाले पैसा कमाउन बिदेसिनको संख्यामा यस्तो वृद्धि भएको हो ।

विभागको तथ्यांकअनुसार वैशाखदेखि बिदेसिने कामदारको संख्यामा लगातार वृद्धि भइरहेको छ । यसअघि असारमा सबैभन्दा बढी कामदार बिदेसिएको तथ्यांकलाई साउनको तथ्यांकले तोडेको हो । वैशाखमा २९ हजार २ सय ७१, जेठमा ४० हजार ४ सय ६१ र असारमा ४४ हजार ७ सय १५ जना नेपाली कामको खोजीमा बिदेसिएका थिए । वैदेशिक रोजगार विभागको तथ्यांकमा भनिएको छ, ‘त्यो रेकर्डलाई तोड्दै साउनमा सबैभन्दा बढी कामदार बिदेसिएका हुन् ।’ गत आर्थिक वर्षमा पनि बिदेसिनेको कामदारको संख्या उच्च थियो । अघिल्लो आर्थिक वर्षमा २ लाख ९४ हजार कामदार बिदेसिएकामा गत आवमा यो बढेर ३ लाख ५४ हजार पुगेको थियो ।

यसरी बिदेसिने नेपाली कामदारका लागि मुख्य गन्तव्यमा मलेसिया र खाडी मुलुक रहेका छन् । साउनमा अघिल्ला महिनामा जस्तै कतारमा सबैभन्दा बढी नेपाली गएका छन् । सन् २०२० मा कतारमा हुन लागेको विश्वकपका लागि पूर्वाधार निर्माणको काम तीव्र गतिमा अगाडि बढेकाले कामदारको माग उच्च भएको र त्यहाँ जानेको संख्या बढेको व्यवसायीहरू बताउँछन् ।

साउनमा सबैभन्दा बढी १५ हजार ७ सय २ जना कामदार कतार गएका छन् । दोस्रो मुख्य गन्तव्य बनेको मलेसियामा यस महिना ९ हजार ६ सय ७२ जना कामदार गएका छन् । तेस्रो गन्तव्य मुलुक साउदी अरबमा ८ हजार ५ सय ३८ जना नेपाली काम गर्न गएका छन् । यस्तै संयुक्त अरब इमिरेट्समा ६ हजार ८ सय ७३ जना गएका छन् । विभागका अनुसार साउनमा कुवेतमा २ हजार ८ सय ८८ जना गएका छन् ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.