काठमाडौं, ३० साउन
काठमाडौं उडान भर्ने विभिन्न २६ अन्तर्राष्ट्रिय विमान कम्पनीले बर्सेनि झन्डै ७५ अर्ब रुपैयाँभन्दा बढी कमाउने गरेका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कमाइ भने वार्षिक साढे ३ अर्बको हाराहारीमा छ । निगमले दुई वटा पुराना जहाजबाट अनियमित रूपमा सेवा दिने गरेको र निजी क्षेत्रका अन्तर्राष्ट्रिय नेपाली विमान कम्पनी नभएकाले काठमाडौं उडान गरिरहेका दुई दर्जनभन्दा बढी कम्पनीले यो रकम कमाउने अनुमान विज्ञहरूको छ । नेपालीहरूको विदेश आवागमनमा वृद्धि हुनुका साथै यहाँ आउने पर्यटकको संख्या समेत बढ्दै गएकाले विश्वका विभिन्न सहरबाट काठमाडौंसम्म उडान भरेर यी कम्पनीले वार्षिक झन्डै ७५ अर्ब रुपैयाँ कमाउने गरेका हुन् ।
निगमबाहेक विश्वका विभिन्न देशबाट २६ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले काठमाडौंसम्म उडान गर्दै आएका छन् । निगम उपनिर्देशक प्रदीप कार्कीका अनुसार सन् २०१० मा निगमले साढे ३ अर्ब कमाएको थियो । “निगमकै आम्दानीको अनुमानका आधारमा पनि अन्य २६ अन्तर्राष्ट्रिय विमान कम्पनीले वार्षिक ७५ अर्बभन्दा बढी कमाइ गर्छन्,” उनले भने ।
निगमले सातामा दिल्ली, दोहा, दुबई, बैंकक, हङकङ, क्वालालम्पुरजस्ता ६ गन्तव्यमा २२ उडान भर्दै आएको छ । १ सय ९० सिट क्षमताका दुईवटा जहाज भएको निगमले समय–समयमा जहाज ‘ग्राउन्डेड’ ९बिग्रिने० भएर उडाउन नसके पनि गत वर्ष साढे ३ अर्ब रकम कमाएको थियो । केही समयअघिसम्म एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको निगमका उडान आधाभन्दा बढी घटेका छन् ।
विमान कम्पनीहरूले लिने भाडा, उडान संख्या र यात्री संख्याको आधारमा यस क्षेत्रका विज्ञहरूले कम्तीमा पनि वार्षिक ७५ अर्ब रुपैयाँ कमाएको देखिन्छ । यो रकम १२ लाखभन्दा बढी यात्रुले किनेको दुईतर्फी टिकट, कार्गोलगायतबापतको हो । निर्यात निर्भर अर्थतन्त्र भएको नेपालमा कतिपय वस्तुहरू जहाजबाट पनि ल्याउने गरिन्छ ।
निगमपछि कतार एयरवेजले काठमाडौंसम्म सातामा २१ उडान भर्दै आएको छ । यो कम्पनीले नेपालमा सबैभन्दा बढी सिट क्षमता भएको बोइङ ७७७ विमान पठाउने गरेको छ । उसले काठमाडौंमा ३१९ देखि ३४६ सिट क्षमताका पाँच वटा एयरबस उडाउँदै आएको छ । सन् २०१० मा उसले काठमाडौं–दोहामा १ लाख ५२ हजार यात्रु बोकेको थियो ।
कतार एयर नेपाल उडान गरेर सबैभन्दा बढी कमाउनेमा पर्छ । ललितपुरको खुमलटारस्थित रेडियो नेपालको टावरको उचाइ घटाउँदा उसले वार्षिक २५ लाख डलर थप आम्दानी गर्ने स्थिति सिर्जना भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक रत्तिसचन्द्रलाल सुमनले बताए ।
नेपालमा उडान भरेर कतारपछि बढी आम्दानी गर्नेमा इत्तिहाद एयरवेज, गल्फ एयर, एयर अरेबिया, जेट एयरवेज, कोरियन एयर, ड्रागन एयर, सिल्क एयर र इन्डियन एयरलाइन्स पर्छन् । सन् २०१० को तथ्यांकअनुसार सम्पूर्ण एयरलाइन्सले काठमाडौंमा १९ हजार ४ सय १७ वटा उडान भरेका छन्, जसमा ११ लाख ४७ हजार ९ सय ३० यात्रु नेपालबाट विदेश गएका छन् भने १२ लाख ८८ हजार ६ सय २८ यात्रु भित्रिएका छन् । कतार एयरपछि सातामा १४ वटा उडान भर्ने एयरलाइन्समा एयर अरेबिया, जेट एयरवेज, फ्लाई दुबई, स्पाइस जेटलगायत छन् ।
नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक साता २७ वटा एयरलाइन्सका २ सय २६ वटा उडान र अवतरण हुने गर्छन् । २७ वटै विमान कम्पनीले वर्षभरिमा २३ लाख २९ हजार ९ सय ६४ यात्रु ल्याउने÷लैजाने गरेका छन् । यो संख्या अन्तर्राष्ट्रिय उडानतर्फ लम्किएको बुद्ध एयरबाहेकको हो ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपालको वार्षिक हवाई यात्रु सिट क्षमता ६५ लाख छ । “३६ वटा मुलुकसँग भएको हवाई सम्झौताअनुसार हाम्रो हवाई यात्रु क्षमता ६५ लाख छ,” मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने । त्यसमा हाल सञ्चालित २७ एयरलाइन्सले प्राधिकरणबाट वार्षिक २३ लाख २९ हजार ९ सय ६४ वटा सिटको अनुमति पाएका छन् ।
सहसचिव आचार्यका अनुसार नेपालको कुल हवाई उद्योगको ९७ प्रतिशत बजार विदेशी एयरलाइन्सले ओगटेका छन् । तीन वर्षअघिसम्म मात्र झन्डै ११ प्रतिशत बजार हिस्सा भएको निगम हाल ३ प्रतिशतमा झरेको उनले बताए ।
“निगमसँग पर्याप्त जहाज नहुँदा नेपाली हवाई उद्योगमा विदेशी एयरलाइन्सको राज चल्नु मुलुकका लागि दुर्भाग्य हो,” उनले भने, “यही समस्यालाई मध्यनजर गरी सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजत आवेदन खुला गरेको हो, निगमले जहाज ल्याउन नसके पनि निजी क्षेत्रबाट स्वदेशी कम्पनीले जहाज ल्याउन सके कमसेकम पुँजी पलायन रोकिन्छ ।”
विदेशी एयरलाइन्सले नेपालबाट वार्षिक कति रकम लग्छन् भन्ने तथ्यांक राष्ट्र बैंक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राजस्व विभागसँग हुनुपर्ने भए पनि उनीहरू नै यस’bout अनभिज्ञ छन् । दुवै निकायले यकिन तथ्यांक भन्न नसकिने बताएका छन् ।
“अन्तर्राष्ट्रिय विमान कम्पनीको मात्रै भन्ने छुट्ट्याउने सिस्टम हामीसँग छैन, आन्तरिक र अन्तर्राष्ट्रिय दुवैबाट आएको विमानस्थल सेवा शुल्क एउटैमा जोड्ने चलन छ,” त्रिभुवन विमानस्थलस्थित राजस्व महाशाखा प्रमुख रुद्र थापाले भने ।
उनका अनुसार, वार्षिक रूपमा अन्तर्राष्ट्रिय विमान कम्पनीले ‘ग्राउन्ड ह्यान्डलिङ’मार्फत ६०–६५ करोड र यात्रु सेवा शुल्कमार्फत ८०–९० करोड राजस्व बुझाउने गरेका छन् ।
Posted by: Raju Gurung Source: Karobardaily