आफ्नै शवको लागि पत्र बुझ्दा…


होम कार्की/काठमाडौं, भाद्र १ । मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले इन्द्रपुर-४ का शान्तराम नेपाललाई पठाएको पत्र उनकी पत्नी सविताले गत असार २८ मा हात पारिन् । पति शान्तराम परदेश गएकाले सविताले प्राप्त पत्र आफैंले खोलेर हेरिन् । पत्रमा लेखिएको रहेछ, ‘गएको डिसेम्बर ८ मा मृत्यु भएकी सविना (सविता) नेपालको शव कुवेतको फरेन्सिक अस्पतालमा छ । शव बुझ्नका लागि जिल्ला प्रशासन कार्यालय, मोरङमा सम्पर्क गर्न आउनु होला ।’

कुवेत दूतावासले मृतक भनिएकी आफन्त खोज्न प्रशासनलाई पठाएको पत्र हात पार्ने आफैं सविता पो परिन् । कुवेत अस्पतालमा अलपत्र अवस्थामा एक वर्षदेखि रहेको नौ शवमध्ये एक इन्द्रपुर-४ की सविताको भएको उल्लेख थियो । ‘आफ्नै शव बुझ्न आएको पत्र पढ्दा निकै नरमाइलो र अचम्म लाग्यो,’ ३० वर्षीया सविताले भनिन् । उनले प्रशासनसमक्ष भनेकी छन्, ‘पत्रअनुसार मृत्यु भएकी भनेको व्यक्ति म निवेदिका नै हुँ ।’

फेरि, कसरी यस्तो भयो त ? उनले वास्तकिता खोल्दै भनिन्, ‘इन्द्रपुर-२ का भेषराज बस्नेतले विदेश पठाइदिन्छु भनेर मेरो राहदानी र २५ हजार रुपैयाँ ०६५ साउन १६ गते लिएर गएका थिए ।’ तर भेषराजले सवितालाई नपठाई उनको राहदानीमा फोटो टाँसेर अर्कै महिलालाई पठाएका रहेछन् । ‘म जिउँदो मानिसलाई मरेको भनी राजदूतबाट पत्राचार हुँदै आउनुमा मेरो राहदानी लैजाने भेषराज नै मुख्य दोषी हो भन्नेमा विवाद छैन,’ उनले प्रशासनलाई बयान दिएकी छन्, ‘मजस्तो सीधासाधा गृहिणीलाई वैदेशिक रोजगारीमा पठाइदिने बहानमा मबाट रकम र राहदानी लिई कथित महिलाको फोटो टाँसेर पठाइदिएको हुन सक्छ ।’

उनले भेषराजलाई पक्राउ गरी कानुनी कारबाही गर्नसमेत माग गरेकी छन् । ‘निजको कसुर प्रवृत्ति हेरी कानुनी कारबाही र हदैसम्मको सजाय गरी मेरो राहदानी र ब्याजसहितको रकम फिर्ता गराइदिन अनुरोध गर्छु,’ उनले प्रशासनसँग भनेकी छन्, ‘श्रीमान् परदेशमा रहेकाले विपक्षीलाई कारबाही गर्न म असमर्थ छु । उसलाई जसरी पनि पक्राउ गरी कानुनी दायरामा ल्याउन आवश्यक छ ।’

प्रशासनले यसको जानकारी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई दिएको छ । ‘राहदानीमा टाँसिएको व्यक्तिको फोटो हेर्दा तामाङ समुदायको देखिन्छ,’ बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले भने, ‘मृतक व्यक्तिको जानकारी भेषराजले मात्रै दिन सक्छ ।’

दूतावासले मृतक भनिएका अर्का बबियाचौर-५, म्याग्दीका शान्ति दर्जीसमेत जिउँदो भएको भेटिएको छ । देवकोटाका अनुसार नौ जनामध्ये दुई जनाको मात्रै आफन्त भेटिएको छ । इटहरा-५ का निलीमा योङहाङ लिम्बु र मदन पोखरा-२ पाल्पाका शान्ति सार्कीको आफन्त फेला परेका हुन् । उनीहरूका आफन्तले शव पठाइदिन दूतावासलाई अनुरोध गरेका छन् ।

‘नक्कली राहदानीमा पठाउने प्रवृत्तिले ठूलो समस्या छ,’ राजदूत मधुवन पौडेलले भने, ‘यहाँ कार्यरत झन्डै २५ प्रतिशत हाउसमेडको राहदानी नक्कली भएको अनुमान छ ।’

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.