ललितपुरको बुङमतीमा जग्गा व्यवसायीले सार्वजनिक बाटोमाथि नै प्लटिङ गरेको भेटिएको छ । भिवोर डेभलपर्सले बुङमतीको भण्डारीटोलमा तीन फिट फराकिलो सार्वजनिक बाटो नै नरहने गरी प्लटिङ गरेको हो । गाविस, नापी हुँदै नगर विकास समितिले समेत डेभलपर्सलाई सार्वजनिक बाटोमाथि प्लटिङ गर्न अनुमति दिएका छन् ।
पुसदेखि सुरु भई विवादका कारण रोकिएको प्लटिङको सम्पूर्ण काम गत जेठमा सम्पन्न भएको छ । लगत्तै बाटो बन्द गराएपछि विरोध गर्नुपरेको स्थानीय बासिन्दाको भनाइ छ । नगर विकास समिति र गाविसका कर्मचारीको मिलेमतोका कारण बाटो निकासाका लागि कुनै पहल नभएको उनीहरूको आरोप छ । खेतको बीचमा पर्ने करिब सय मिटरभन्दा बढी बाटो मिचिएको गाउँलेहरूको भनाइ छ । उनीहरू अहिले प्लटिङको सिमानाबाट हिंडिरहेका छन् ।
सार्वजनिक बाटो नै नरहने गरी प्लटिङ गरिएपछि आफूहरू खेतमा जान गाह्रो भएको श्याममोहन खड्काले बताए । ‘बीचमा पर्ने हाम्रो जग्गामा जाने बाटो नै रहेन,’ उनले भने, ‘२०२१ सालको नापीबाट नक्सामा समेत स्पष्ट किटान भएको बाटो मिचेर खाने काम भएको छ ।’ चार टोलबाट शवदाहका लागि नख्खुमा लैजानसमेत यही बाटो प्रयोग हुने गरेको गाउँलेहरूको भनाइ छ । बाटो मेटिएपछि बीचको खेत र नख्खुखोलामा आउजाउ गर्न समस्या भएको गाउँलेले बताए ।
नापी विभागका उच्च अधिकृतहरूका अनुसार सार्वजनिक बाटो मिचेर कुनै पनि भौतिक निर्माण वा संरचना बनाउन पाइँदैन । सरकारीस्तरबाट जग्गा प्लानिङका क्रममा निजी र पर्ती जग्गा साटफेर गर्न मिल्ने भए पनि निजी प्लटिङलाई त्यस्तो सुविधा नभएको ती अधिकारीले बताए । ‘पर्ती जग्गा प्लटिङमा पर्नेगरी नापी र कित्ताकाट गर्नै मिल्दैन,’ ती अधिकारीले भने ।
तर, भिवोरले नापीबाट नक्सा पासपछि नगर विकास समितिको ललितपुर कार्यालयबाट समेत प्लटिङ योजना स्वीकृत गरेको छ । हाल उसले १ सय ७० भन्दा बढी टुक्रा जग्गा प्रतिआना ६ लाख रुपैयाँका दरले किनबेच खुला गरेको स्थानीय बासिन्दाको भनाइ छ । कारोबार सुरु हुनासाथ गाउँतहमा तीव्र विवाद भएपछि बुङमती गाविसले कार्यदल बनाई छानबिन गरेको थियो । ‘तर गाविसले १७ लाख रुपैयाँ लिएर विवाद मिलाउने निर्णय भएको छ,’ स्रोतले भन्यो ।
ललितपुर नापी कार्यालयले नक्सांकनको क्रममा सार्वजनिक बाटो नमेटाइएको जनाएको छ । नापी कार्यालयका प्रमुख भरत ऐरले नक्सामा प्लटिङ क्षेत्रको बीचबाट थोप्लो रेखा (डट लाइन) लाई यथावत् राखेर कित्ताकाट गरी पठाएको र बाँकी प्रक्रिया नगर विकास समितिको कार्यालयबाट अघि बढेको बताए । ‘डट लाइनले सार्वजनिक बाटो जनाउँछ, त्यो मेटिएको छैन,’ उनले भने । तर, प्लटिङ सञ्चालकले गाउँलेलाई वैकल्पिक बाटोको व्यवस्था गर्नुपर्ने उनले बताए ।
नगर विकास समिति ललितपुर कार्यालयका प्रमुख वसन्त राईले डेभलपर्सले प्लटिङकै बीचमा फराकिलो बाटो बनाइदिएकाले गाउँलेले विरोध गर्न नहुने बताए । ‘बीचमै फराकिलो बाटो छ, त्यो सार्वजनिक हुन्छ र तपाईंहरूले पनि प्रयोग गर्न पाउनुहुन्छ भनेर हामीले ’roundका जग्गाधनीलाई कन्भिन्स गरेका छौं,’ उनले भने, ‘केही जग्गाधनीले अनेक स्वार्थमा गलत माग राखेका हुनसक्छन् ।’
बाटो नजिकै पर्ने पर्ती जग्गासमेत प्लटिङ क्षेत्रमा परेको स्थानीयको आरोप छ । तर, राईले करिब एक आना जग्गा ‘तलमाथि’ भएको र त्यो जग्गा सार्वजनिक उपयोगका लागि छाडिदिने सहमति भएको बताए । भिवोर डेभलपर्सका प्रतिनिधि विनोद पौडेलले नियमसंगत ढंगले प्रक्रिया पुर्याएर काम सम्पन्न भएको दाबी गरे । ‘बीचमा चलनचल्तीको गोरेटो बाटो थियो,’ उनले भने, ‘नापनक्सामा धर्का मात्रै देखिने बाटो हो, त्यो भन्दा फराकिलो बाटो हामीले चलन गर्न दिएकै छौं,’ उनले भने । गाविसलाई दिने भनेको १७ लाख ‘समुदायको विकासका लागि सहयोग’ भएको उनको प्रतिक्रिया थियो ।
Posted by: Dambar Rimal Source: ekantipur