कमजोर छैन नेपाली टोली


राजेन्द्र ज्ञवाली, काठमाडौं, साउन ३१- १९ वर्षभन्दा कम उमेरका खेलाडीको आगामी वर्ष हुने विश्वकपमा नेपाली टोली कठिन समूहमा परे पनि पर्याप्त अभ्यास गरे राम्रो प्रदर्शन गर्ने विश्वास राष्ट्रिय टोलीका सदस्यले व्यक्त गरेका छन्। सन् २०१२ मा अस्ट्रेलियाको क्विन्सल्यान्डमा हुने प्रतियोगितामा नेपाली टोली इङ्ल्यान्ड, अस्ट्रेलिया र आयरल्यान्डसँगै समूह ‘ए’ मा परेको छ।

‘इङ्ल्यान्ड र अस्ट्रेलियाजस्ता देशका यु-१९मा पर्ने खेलाडीले लगभग राष्ट्रिय टोलीको ढोका ढक्ढक्याइरहेका हुन्छन्। दुवै देशका राष्ट्रिय टोली अन्तराष्ट्रियस्तरमा बलिया मानिन्छन्,’ नेपाल परेको समूह कठिन भएको कारण अर्थ्याउँदै राष्ट्रिय टोलीका सदस्य विनोद दास भन्छन्।

यसबाहेक दुवै देशमा क्रिकेट संस्कार भएको बताउँदै उनले त्यसले खेलाडीको व्यवहार र मनोविज्ञानमा फरक पार्ने बताए।

उमेर समूहमा टोलीबीच त्यति धेरै अन्तर नुहने बताउँदै उनी भन्छन्, ‘विश्वकप छनोट भइसकेपछि फलानो बलियो र फलानो कमजोर भनेर हेर्न मिल्दैन। हामी पनि हरेक टिमसँग खेल्न तयार हुनुपर्छ। त्यहीअनुरुप तयारी गर्नुपर्छ।’

युवा विश्वकपमा नेपाली टोली नयाँ नहुनु पनि सकारात्मक पक्ष भएको बताउँदै दासले हरेक विश्वकपमा नेपालले १-२ टेस्ट स्तरप्राप्त देशलाई पराजित गरेको स्मरण गराए। ‘हामीले पराजित गर्न नसकेका दुई टेस्ट स्तरप्राप्त टोली यसपटक हामीसँगै परेका छन्। उनीहरूविरुद्ध पनि राम्रो चुनौती प्रस्तुत गर्न सक्ने क्षमता नेपाली खेलाडीमा छ।’

तर विश्वकपजस्तो प्रतियोगितामा सहभागिता जनाउँदा राम्रो तयारीसहित जानुपर्ने आवश्यकता पनि उनले औंल्याए।
‘हाम्रो टिमले पर्याप्त म्याच खेल्न पाएको खण्डमा अझ राम्रो प्रदर्शन गर्न सक्नेमा कुनै शंका छैन। उत्तरी आयरल्यान्डमा भएको छनोट खेलमा पनि प्रत्येक खेलपछि नेपाली टोलीको प्रदर्शन सुधारिँदै गएको तथ्यले यसलाई प्रमाणित गर्छ,’ राष्ट्रिय टोलीका पूर्वकप्तान दासले भने।

अहिलेबाटै तयारीस्वरुप राम्रा टोलीविरुद्ध अभ्यास खेल्दै जानुपर्ने धारणा उनको छ। लामो बन्द प्रशिक्षण शिविरको बदला स्तरीय टोलीसँग पर्याप्त अभ्यास खेल खेल्नुपर्ने उनले बताए। ‘प्रतियोगितामा सहभागिता जनाउनुपूर्व कम्तिमा १० अभ्यास खेल खेल्नुपर्ने हुन्छ।’

त्यस्तै विचार वर्तमान कप्तान पारस खड्काको छ। ‘नेपालको समूहमा परेका तीनवटै टोली बलिया छन्। त्यसबाहेक प्रतियोगिता अस्ट्रेलियामा हुँदैछ र त्यहाँका पिच निकै फास्ट हुन्छन्,’ पारसले भने।

तर अभ्यासका लागि पर्याप्त समय हुनु नेपालजस्तो टोलीका लागि सकारात्मक पक्ष भएको उनले बताए। ‘हामीसँग पूरा एक वर्षको समय छ। राम्रो तयारी गर्न यो पर्याप्त अवधि हो,’ उनले भने, ‘यस अवधिमा कम्तीमा १० देखि २० खेल स्तरीय टोलीसँग खेल्नुपर्छ।’ उनी नेपालले कम्तीमा भारतमा गएर वा भारतका क्षेत्रीयस्तरका टोली बोलाएर अभ्यास खेल खेलाउनुपर्ने सुझाउँछन्।

कप्तान पारसले नेपालले अन्तर्राष्ट्रियस्तर प्रशिक्षक भित्र्याउनुपर्ने बेला आइसकेको पनि बताए। ‘पूर्व प्रशिक्षक रोय डायसकै स्तर वा अझ माथिल्लोस्तरका प्रशिक्षकको जिम्मा युवा टिमलाई दिनुपर्छ,’ उनले भने।

वर्तमान टोलीमा निकै प्रतिभाशाली खेलाडी भएकाले यसलाई भविष्यको सिनियर विश्वकप क्रिकेटमा सहभागी हुने टोलीका रूपमा विकसित गर्नुपर्ने उनले बताए।

सन् २००० मा श्रीलंकामा भएको युवा विश्वकप प्रतियोगितामा नेपाल दोस्रो चरणसम्म पुगेको थियो। त्यस प्रतियोगितामा नेपाललाई वर्षाले पनि सहयोग पुर्‍याएको थियो। त्यसको दुई वर्षपछि न्युजिल्यान्डमा भएको विश्वकपमा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता भयो भने सन् २००६ मा श्रीलंकामा सम्पन्न विश्वकपमा नेपाली टोली प्लेट च्याम्पियनसिपको फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै विजेता भएको थियो।

Posted by: Shiva Paudel

Source: Nagarik

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.