बाघले घाँस खाँदैन


कुनै बेला नेपाल टेलिभिजन हेर्नु हिजोआजको कुरा हेर्नुसरह मानिन्थ्यो। नेपालमा एउटै मात्र टेलिभिजन च्यानल हुनु, त्यसमा पनि सबैको मन छुने एउटा मात्र कार्यक्रम हुनुले टेलिभिजन कलाकार भन्नेबित्तिकै मानिस सन्तोष पन्तलाई सम्झन्थे। १२ वर्ष  लगातार एउटै कार्यक्रम चलाएर उनले नेपाली टेलिभिजनमा एउटा कीर्तिमान मात्र बनाएनन् नेपालमा हास्य मनोरञ्जनलाई स्थापित गर्न महत्वपूर्ण योगदानसमेत दिए। माओवादीको द्वन्द्व उत्कर्षमा पुगेका बेला भने सन्तोष पन्त सेनाको जागिरे पनि भएका कारणले सर्वाधिक लोकपि्रय कार्यक्रम हिजोआजका कुरा अचानक बन्द भयो। सन्तोष त्यसपछिका सात वर्ष हराए। धेरै मानिसले उनी आउटडेटेड भएको भन्दै आलोचना पनि गरे, तर गत वर्षदेखि उनी फेरि कान्तिपुर टेलिभिजनमार्फत नयाँ शैलीको ‘हिजोआजका कुरा’ बोकेर आएका छन्। कार्यक्रम नेपाली ग्रामीण क्षेत्र एवं विदेशमा रहेका नेपालीले अत्यधिक मनपराएको सर्वेक्षणबाट देखिएपछि गाईजात्राको अवसर पारेर साप्ताहिकले पन्तसँग नयाँ कलाकार एवं पुराना सम्झनामा केन्दि्रत रहेर लामो कुराकानी गर्‍यो।

गाईजात्रा आयो कि नेपाली समाजले हास्यकलाकारलाई सम्झन्छन्, कस्तो लाग्छ ?

यो राम्रो संस्कृति-परम्परा हो, तर हाम्रा नेताहरूले वर्षैभरि गाईजात्रा गरेर हाम्रो महत्त्व कम गरिदिएका छन्। यिनीहरूको दैनिक ताजा प्रहसनले कुनै बेला गाईजात्रा हुन्थ्यो र त्यहाँ कलाकारले वर्षभरिका घटनाहरूमा व्यंग्य गर्थे भन्ने कुरा नै इतिहास बन्लाजस्तो भयो।

सबै कलाकार अहिले नेताहरूलाई गाली गर्छन्….?

ल, कस्तो कुरा गर्नुहुन्छ ? ताल हेर्नस् न। साच्चै भन्या, यिनीहरूको कुरा सुन्दा त मलाई हामी के अभिनय गर्न जान्दछौं भन्ने लाग्छ। राति एकथोक हुन्छ भनेर सुत्यो, बिहान अर्कै थोक हुने खबर सुनिन्छ। न नीति छ, न नियत छ। फलानो-फलानो देशमा अराजक अवस्था छ भन्ने सुनिएको थियो, यो अहिले प्रत्यक्ष अनुभव भैरहेको छ, के हो अराजकता भन्ने कुरा ?

के रहेछ अराजकता ?

यो देशमा माओवादीलाई एक किसिमको न्याय छ। माओवादी हुनुस्, तपाईं एक किसिमको नागरिक हुनुभयो, विशेष नागरिक। अर्को किसिमको न्याय छ, सर्वसाधारणलाई। उनीहरू केही होइनन्, उनीहरू थिचिने, पिल्सिने, घोचिने, चेप्टिने, खुइलिने, तासिने, घिसारिने, बटारिनेमा पर्छन्। अनि बीचमा केही व्यक्ति छन्, अरू पार्टीका कार्यकर्ताहरू। उनीहरूले मध्यम वर्गजस्तो दुवैतिरको सुविधा लिन पाउँछन्।

माओवादीसँगको द्वन्द्व घटेजस्तो छैन, हो  ?

म परे साधारण जनता, कहाँ द्वन्द्व गर्न सक्छु र ? कहिलेकाहीँ कार्यक्रमहरूमा परैबाट भेट हुन्छ, के छ सन्तोष जी भन्छन्, ठीक छ, हजुरहरूको कृपा भन्छु र पाखा लाग्छु।

द्वन्द्वकालमा तपाईंमाथि ज्यान लिनेसम्मको धम्की आएको थियो, केही तुष बाँकी रहेको हो

मेरो यो शरीर मार्थे रे, मेरो नाम वा मेरो कलाकारिता मार्न ?

सक्थे ? सन्तोष पन्तलाई कसैले मार्छु भन्छ भने त्योभन्दा मूर्खता अरू केही हुने थिएन। त्यो बेला म सर्वाधिक लोकपि्रय कलाकार थिएँ, धन्न, उनीहरूको भाग्य, मलाई मारेनन्। नत्र कुरा अर्कै हुन्थ्यो।

तपाईंजस्तो कलाकारलाई ज्यान मार्ने धम्की दिनु गल्ती थियो भनेर माफी मागेनन्

अबुई, त्यति संस्कार भएको भए अहिले देश यो अवस्थामा हुन्थ्यो ? बरु हाम्रो त्यस्तो नीति थिएन, घूसपैठले यस्तो भयो भन्थे होलान्। मसँग कसैले पनि माफी मागेको छैन।

सेनाको जागिर अहिलेसम्म खाइरहनु भएको रहेछ, राजीनामा दिनुभएको होइन ?

माओवादीलाई नक्कली धम्की दिन आउँछ भने मलाई  नक्कली राजीनामा दिन आउँदैन ? परिवारका सदस्यहरू साह्रै आत्तिएपछि राजीनामा दिएँ भनेर मैले पनि राजनीति गरे, लौ खा।

लामो समयसम्म हराउनुभयो, देशको चिन्ता लागेर हो ?

होइन, टेलिभिजनमा कार्यक्रम बन्द गरिदिएपछि बल्ल आनन्द भयो, रातदिनको सुटिङ, सेनाको पनि कार्यक्रम बनाउनुपर्ने। १२-१५ वर्ष खट्दा-खट्दा म त एकोहोरो भैसकेको रहेछु। यो सात वर्ष खुब मस्ती गरें। स्वीजरल्यान्ड गएँ। रमाइलो गरें। खेलकुदतिर लागें। अब म फेरि तन्नेरी भएको छु।

नेताहरूले दिनैपिच्छे गाईजात्रा गरिरहे पनि वर्षमा एकपल्ट कलाकारले जनतालाई गाईजात्रा कार्यक्रम देखाएर मनोरञ्जन प्रदान गर्छन्, तपाईं जानुहुन्न ?

धेरै वर्ष कार्यक्रम गरियो। अब नयाँ कलाकारहरू पनि आउनुपर्छ। मैले त्यत्रो वर्ष गाईजात्रा कार्यक्रमको संयोजन गरें। आफैंले पनि अभिनय गरें। कति गर्नु ?

तपाईंका पालामा हुने गाईजात्रा कार्यक्रमको प्रस्तुति र अहिलेको प्रस्तुतिमा के फरक पाउनुहुन्छ ?

पहिले सरकारले नै गाईजात्रा कार्यक्रम चलाउँथ्यो, कडा सेन्सरसीप हुन्थ्यो। सीधा भन्न नपाइने। सूर्यबहादुर थापालाई गाली गर्नुपर्‍यो भने हरिवंशहरू घामले पोल्यो भन्थे, कार्यक्रम कसरी कलात्मक बनाउने भन्ने चिन्ता हुन्थ्यो। तर, नयाँ साथ्ाीहरूले सीधै गिरिजाको तालु, प्रचण्डको जुँगा भन्न थाले। पछि-पछि त गाईजात्राको नाममा जथाभावी गाली पनि हुनथाल्यो। अहिले सुन्दैछु, फेरि राम्रो हुँदैछ।

त्यसबेला एउटै कार्यक्रम महिनौं चल्थ्यो, तपाईंहरू लोकपि्रय भएर हो कि मनोरञ्जनको विकल्प नभएर हो ?

मनोरञ्जनको बिकल्प नभएर नै हो। मानिसहरू टिकट काट्न राति २ बजेदेखि लाइन लाग्थे। गाईजात्रे हास्यव्यंग्य कार्यक्रम महिनौंसम्म हाउसफुल हुन्थ्यो। अहिले दुईचार दिन पनि चल्न मुस्किल पर्छ। यसको कारण १३ वटा त टेलिभिजन नै भैसके। फेरि राजनीतिको प्रहसन पनि यति रमाइला छन् कि कसैले गाईजात्रा हेर्न जानुपर्ने आवश्यकता नै हुन छाड्यो। सातामा सातैदिन टेलिभिजनमा हास्यव्यङ्ग्य कार्यक्रम आउँछन्, त्यही भएर पनि गाईजात्रामा हुने प्रहसनको क्रेज घटेजस्तो लाग्छ।

कान्तिपुर टेलिभिजनमा फेरि हिजोआजका कुरा लिएर आउनुभएको छ, तर लोकपि्रय हुन सकेन भन्ने गुनासो पनि छ, के भन्नुहुन्छ ?

काठमाडौंका जनता मात्र नेपाली हुन् ? काठमाडौंबाहिरबाट राम्रो रेस्पोन्स आइरहेको छ। नेपालबाहिरका नेपालीहरूले ज्यादै आग्रह गरेपछि कान्तिपुर टेलिभिजनले मलाई यो कार्यक्रम गरौं भनेर प्रस्ताव राखेको हो। अहिले उनीहरूले बल्ल राम्रो कार्यक्रम हेर्न पायौं भनिरहेका छन्। लोडसेडिङका कारण मेरो कार्यक्रम हेर्न नपाउनेहरू पनि प्रशस्त छन्। कार्यक्रम नहेरी राम्रो कि नराम्रो भन्ने कुरा कसरी थाहा हुन्छ ?

युवाहरूका लागि भएन रे नि ?

युवाको कथा समेट्दै गएको छु। हिजोआजका कुरा डिस्कोथेक त होइन, जहाँ युवाहरू मात्र डान्स गर्छन्। म तीन पुस्ताको कथा बुन्दैछु, जसमा सबै पुस्ताको कुरा आओस्।

अन्य हास्यव्यङ्ग्य कार्यक्रमको तुलनामा राम्रो गर्न सक्नुभएन। नयाँ पुस्तासँग इष्र्या लाग्दैन 

हेर्नुहोस्, कथा भन्ने मेरो आफ्नै शैली छ। हिन्दी चलचित्र र टेलिश्रृंखलाबाट थिचिएका नेपालीलाई मैले नेपाली स्वादको हिजोआजका कुरा पस्किएको हुँ। आज टेलिभिजनमा त्यही शैलीका कार्यक्रम आइरहेका छन्। यसलाई भन्छन्, स्थायी प्रतिभा। हिजो मैले खनेको बाटोमा मेरा भाइहरू हिँडिरहेका छन् भने मैले किन इष्र्या गर्नु ? यो त खुसीको कुरा हो।

समयअनुसार शैली बदल्नु पर्दैन ?

बाघले घाँस खाँदैन। लोकपि्रयताको नाममा म सस्ता कुरा दिन सक्दिनँ। मलाई दर्शकले हेर्ने एउटा दृष्टिकोण छ। म सामाजिक समस्या उठाउँछु। सबैले राजनीतिलाई गाली गलौज गरे समाजको समस्या कसले उठाउने ? मैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। लोकपि्रय बनाउने नाममा जथाभावी गर्न मिल्दैन। मलाई टिमले कहिलेकाहीँ दबाब दिन्छ, तर म बाघले घाँस खाँदैन भनेर पेलिरहेको छु।

१२ वर्ष टेलिभिजनमा एकलौटी शासन गर्नुभयो, तपाईंले चाहेको भए समाजलाई धेरै परिवर्तन गर्न सक्नुहुन्थ्यो, त्यस्तो केही गरे भन्ने लाग्छ ?

धेरै लाग्छ, हिजोसम्म नेपालको पर्यटकीय क्षेत्र भन्नेबित्तिकै पोखरालाई मात्र मानिन्थ्यो। मैले हिजोआजका कुरामा सौराहा र दामनलाई यति हाइलाइट गरें कि ती क्षेत्र अहिले आन्तरिक पर्यटकका लागि मुख्य गन्तव्य बने। माओवादीका कारण ती क्षेत्र थला परेका बेला मेरै कार्यक्रका कारण हराभरा भए। अमेरिकामा बस्ने केटो भन्नेबित्तिकै आँखा चिम्लेर छोरी दिने प्रबृत्ति, महँगी, एचआईभी, ड्रग्स जस्ता विषयमा मैले धेरै काम गरें। मलाई संयुक्त राष्ट्रसंघले एचआईभीका क्षेत्रमा सञ्चार क्रान्ति गरेको भन्दै पुरस्कृत गर्‍यो।

अहिले फेरि लगातार कार्यक्रम बनाइरहनु भएको छ, स्रोत के हो ?

तपाईं -पत्रकार) र म -कलाकार) सँगै हिँडिरहेका छौं। एउटा मोटरसाइकल दुर्घटना भयो। त्यो तपाईंका लागि समाचार हुन्छ, मेरो लागि कथा।

Posted by: Dambar Rimal                                                              Source: Saptahik

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.