स्तनपानले सौन्दर्य बिग्रिन्न, रोगबाट बचिन्छ


आईएनजीओमा कार्यरत एक उच्च शिक्षित महिला आफ्नो शिशुलाई स्तनपान गराउँदिनन् । स्तनपान नगराउनुको कारण उनी कार्यालयमा बस्नुपर्ने बाध्यता बताउँछिन् । तर बढी कर गर्दा उनी साथीभाइलाई के बताउँछिन् भने स्तनपान गराए शारीरिक सौन्दर्य बिग्रिन्छ । केही वर्षसम्म विकसित मुलुकका आमाहरूसमेत शारीरिक सौन्दर्य बिग्रिने डरले शिशुलाई स्तनपान गराउँदैनथे, बट्टाको दूधमा निर्भर हुन्थे । हाल ती मुलुकमा समेत यो गलत प्रकृया कम हुँदै गएको छ । तर नेपालमा अझै शिक्षित आमाहरू स्तनको आकारप्रकार बिग्रिने डर वा कार्यालयमा बस्नुपर्ने बाध्यताले बट्टाको दूधमा निर्भर हुने क्रम रोकिएको छैन ।

‘स्तनपानले कस्मेटिक रूपमा महिलाको सौन्दर्यमा कुनै र्फक पर्दैन’, धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, ‘स्तनपान गराउँदा स्तनको आकारमा परिवर्तन आउँछ नै, तर यो अस्थायी हुन्छ ।’ व्यायाम लगायतका सामान्य प्रकृयाको माध्यमले स्तनको आकार फेरि पहिले जस्तै बनाउन सकिने उनी बताउँछन् । उनी गर्भवती र स्तनपान गराउने महिलालाई ‘म्याटरनिटी ब्रा’ को उपयोग गर्न सल्लाह दिन्छन् ।

‘यो समय स्तनमा वृद्घि हुने भएकाले त्यसै अनुरूपका नयाँनयाँ ब्राहरू किन्नुपर्छ,’ डा. कर्ण भन्छन्, ‘गर्भधारणको तेस्रो महिनादेखि हरदम ब्रा लगाउनुपर्छ, नत्र स्तनमा भार वृद्वी हुने कारणले स्तन झोल्लिने डरसमेत रहन सक्छ ।’ तर, कुनै अन्य कारणले समेत स्तन लगायत शरीरमा देखिएका विकृतिहरू कस्मेटिक शल्यक्रियाको माध्यमले हटाएर पहिले जस्तै फिगर पाउनु अब नौलो कुरा होइन ।

‘अहिले पुस्तामा सौन्दर्यको लागि स्तनपान नगराउने क्रम घट्दो छ’, ओम अस्पतालका अध्यक्ष एवं वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल भन्छन्, ‘स्तनपानको विकल्प नरहेको कुरा सबैले स्विकार्दै छन् र स्विकार्नै पर्छ ।’ अध्ययनहरू अनुसार नियमित स्तनपानले महिलाको फिगर कायम राख्दै तिनलाई थुप्रै रोगबाट समेत बचाउँछ । अमेरिकास्थित नेशनल इन्स्टिच्युट अफ चाइल्ड हेल्थ एन्ड ह्युमन डेभलपमेन्टका अनुसार स्तनपान गराउँदा स्तन र गर्भाशयको क्यान्सर हुने खतरा कम हुन्छ । गर्भावस्थाका बेला महिलामा बढी मात्रामा देखिएको बोसोसमेत स्तनपान गराउँदा बिस्तारै कम हुन्छ ।

कामकाजी आमाले पनि आफ्नै दूध ख्वाउन सक्छन्
बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कार्यालय धाउने महिलाले समेत आफ्ना शिशुलाई बट्टाको सट्टा आफ्नै दूध ख्वाएर जन्मदेखि ६ महिनासम्म मात्र आमाको दूध ख्वाउने प्रकृयालाई सफल बनाउन सक्छन् । डा. रिजालका अनुसार कामकाजी महिलाले कार्यालय जानुअघि आफ्नो दूध निकालेर घरमा आफ्नो शिशु हेर्ने व्यक्तिलाई दिनुपर्छ । यस्तो स्थितिमा आमाको अनुपस्थितिमा पनि बच्चाले आमाकै दूध खान पाउँछन् । ‘यसका लागि चौडा मुख भएको ढक्कनसहितको स्टिलको कप लिनोस्,’ उनी भन्छन्, ‘कपलाई राम्ररी साबुन पानीले सफा गरेपछि ठूलो ढक्कन भएको भाडामा पानी भरेर कपलाई १० देखि १५ मिनेटसम्म उमालेर आफ्नो दूधलाई त्यसै कपमा निचोरेर ढक्कन लगाउनुस् ।’ कति पटक दूध निकाल्ने भन्ने’bout भ्रम हुन सक्छ । ’cause एक पटक दूध निकाल्दा अलि कम आउँछ । हरेक तीन घन्टाको अन्तरालमा दूध निकाल्न सकिन्छ । ‘यति दूध राख्नुस् जुन तपाईं कार्यालयमा हुँदासम्म शिशुलाई पर्याप्त होस्,’  डा. रिजाल भन्छन् । कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ प्रा.डा. चन्देश्वर महासेठ निचोरेर राखेको आमाको दूध बोतलको माध्यमले कहिले पनि ख्वाउन नहुने उल्लेख गर्दै भन्छन्, ‘आमाको त्यस्तो दूध बच्चालाई कचौरा र चम्चाको माध्यमले ख्वाउनुपर्छ ।’ बोतलको माध्यमले दूध ख्वाउँदा संक्रमणको सम्भावना धेरै उच्च हुन्छ ।

बट्टाको दूधको तुलना आमाको दूधसँग हुनै सक्दैन
कुनै पनि कृत्रिम दूधले आमाको दूधको गुणस्तरको अनुकरण गर्ने प्रयास गर्न सक्छ । तर वास्तवमा यस्तो हुनै सक्दैन । आमाको दूधमा भएका अनेकौं गुणधर्मको अन्यत्र अपनाउन सम्भवै छैन । हालसम्मका समस्त अध्ययन/अनुसन्धान अनुसार नवजात शिशुका लागि आमाको दूधभन्दा राम्रो अन्य कुनै दूध हुँदैन । ‘यसबाट आमा र बच्चा दुवैलाई थुप्रै फाइदा पुग्छ’, पाटन अस्पतालकी बाल रोग विशेषज्ञ डा. सिर्जना श्रेष्ठ भन्छिन्, ‘आमाको दूधको बराबरी न कुनै जनावरको दूधले गर्न सक्छ, न कुनै बट्टाको दूधले ।’ कृत्रिम दूधमा आमाको दूध जस्तै सामग्री (कार्बोहाइड्रेट, चिल्लो, प्रोटिन र भिटामिन आदि) हालिन्छ । तर यसको मात्रा भने निर्धारित हुन्छ । अर्कोतर्फ आमाको दूधमा यसको मात्रा शिशुको आवश्यकता अनुसार परिवर्तित भइरहेको हुन्छ । कहिले आमाको दूध गाढा हुन्छ भने कहिले पातलो । यस्तै, कहिले दूध कम हुन्छ भने कहिले बढी । जन्म लगत्तै र केही सातापछि, महिनौंपछि आमाको दूधको गुणस्तर बदलिंदै जान्छ । आमाको दूधमा उपस्थित सामग्रीको मात्रा परिवर्तन भइरहन्छ । यो प्रकृतिको नियम हो । शिशुको आवश्यकता र उमेर अनुसार आमाको दूध परिवर्तन भइरहेको हुन्छ । यति मात्र नभई आमाको दूधमा हुने थुप्रै जैविक गुण कृत्रिम दूधमा पाइन्न । ‘आमाले दूध ख्वाउँदा आमा र शिशुबीच आत्मीयता उत्पन्न हुन्छ’, डा. महासेठ भन्छन्, ‘आमाबाट बच्चालाई रोगबाट बच्न प्रतिरक्षा (इम्युनिटि) पनि प्राप्त हुन्छ ।’ आमाको दूधले बच्चालाई खानाको प्राप्ति मात्र हुँदैन, यसले बच्चाको पूर्ण विकास सम्भव पार्छ । आमाको दूधले संक्रमित रोग, एलर्जी, मोटोपनाबाट समेत बच्चालाई बचाउँछ ।

जन्मदेखि ६ महिनासम्म आमाको दूध मात्र
चिकित्सकहरूका अनुसार जन्मदेखि ६ महिनासम्म शिशुलाई आमाको दूधबाहेक अरू केही ख्वाउनु हुन्न । यसपछि दुई वर्षसम्म आमाको दूधसँगै अरू पोसिलो कुरा पनि ख्वाउनुपर्छ । जन्मदेखि ६ महिनासम्म आमाको दूधबाहेक कहिलेकाहीं आवश्यक परे औषधिको अतिरिक्त अरू केही नख्वाउनु एक्सक्लुसिभ ब्रेस्ट फिडिङ हो । डा. महासेठ भन्छन्, ‘हामीकहाँ जन्मँदैदेखि मह, मिश्रीको झोल, ग्राइप वाटर, पानी आदि ख्वाउने गरिन्छ, यो पूर्ण अवैज्ञानिक हो ।’ नवजात शिशुमा रोग प्रतिरोधक क्षमता नहुने भएकोले आमाको दूधबाट शिशुले त्यो शक्ति हासिल गर्छ । ‘आमाको दूधमा लेक्टोफेरिन नामक तत्त्व हुन्छ, जसले बच्चाको आन्द्रामा फाम तत्त्वलाई बाँध्छ’, डा. महासेठ भन्छन्, ‘त्यसले गर्दा लौह तत्त्वको अभावमा शिशुको आन्द्रामा रोगाणु उमि्रन पाउँदैन ।’  डा. महासेठका अनुसार आमाको दूधबाट आएको साधारण जीवाणु बच्चाको आन्द्रामा आउँछ र रोगाणुसँगै प्रतिस्पर्धा गरेर त्यसलाई बढ्न दिँदैन । वातावरणबाट आमाको आन्द्रामा आएका रोगाणु, आन्द्रामा रहेको विशेष भागको सम्पर्कमा आउँछन्, जसले रोगाणुविरूद्घ विशेष प्रतिरोधात्मक तत्त्व बनाउँछन् । यो तत्त्व विशेष नली ‘थोरासिक डक्ट’ को माध्यमले सीधा आमाको स्तनमा पुगेर दूधको माध्यमले बच्चाको पेटमा पुग्छ । यसरी बच्चा आमाको दूध खाएर सधैं स्वस्थ रहन्छन् ।

बिगौती ख्वाउनैपर्छ
पहिलोपटक आउने बिगौती दूध सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । ‘यो गाढा पहेंलो दूध शिशुको जन्मदेखि चार-पाँच दिनसम्म आउँछ’, डा. श्रेष्ठ भन्छिन्, ‘यसमा भिटामिन, एन्टिबडी र अन्य पोषक तत्त्व बढी मात्रामा हुने भएकोले यसलाई शिशुको पहिलो खोप पनि भन्ने गरिएको छ ।’ बिगौती दूध ख्वाउँदा बच्चाको कालो दिसा हटाउन सहयोग मिल्छ, जन्डिस हुने सम्भावनामा कम हुन्छ ।

आमालाई मुटु रोगको जोखिम कम
नवजात शिशुलाई बढी समयसम्म स्तनपान गराउनाले आमामा मुटु रोगको जोखिम कम हुन्छ । अमेरिकास्थित पिटसबर्ग विश्वविद्यालयमा भएको अध्ययन अनुसार जति लामो समयसम्म आमा आफ्नो बच्चालाई स्तनपान गराउँछिन्, त्यति लामो समयसम्म उनको स्वास्थ्य राम्रो रहन्छ । जति लामो समयसम्म आमाले नानीलाई स्तनपान गराउँछिन्, उनलाई मुटुरोग, स्ट्रोक र कार्डियो भास्कुलर रोगको खतरा त्यतिकै कम हुन्छ । उक्त अध्ययनमा १ लाख ३९ हजार ६ सय ८१ महिला सामेल गरिएका थिए ।

Posted by: Jay Ale

Source: butwalonline

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.