– पर्वत संवाददाता,
साउन १८ । आईतबार राति पर्वत पिपलटारी गाविसबाट अज्ञात हतियारधारी समूहले दुई बालिकाको अपहरण गरेको मार्मिक घटना सेलाउन नपाउदै पर्वत जिल्लाकै लिमिठाना गाबिसमा बिभत्स हत्याकाण्ड भएको छ । लिमिठानाको वडा नं. ९ मा मंगलबार सांझ भक्त बहादुर भण्डारीले आपनै श्रीमती र माहिली आमाको धारिलो हतियार हँसियाले घाँटी रेटेर निर्मतापूर्वक हत्या गरेका छन् । ४८ बर्षिय भण्डारीले ४२ बर्षिया श्रीमती मीना भण्डारी र ६५ बर्षिया माहिली आमा हरिकला भण्डारीको हत्या गरेका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार ‘रक्सीले टिल्ल परेका भण्डारीले मंगलबार सांझको समयमा माहिली आमासंग झगडा गरिरहेका थिए झगडाकै रिसमा हँसियाले उनलाई छप्काउन थाले त्यो देखेर ‘यसो नगर्नुस’ भनेर रोक्न आएकी श्रीमतीलाई पनि त्यहि हँसिया प्रहार गरी हत्या गरेको हो ।’
आफुलाई सम्झाउन खोज्ने आपनै आमा ७० बर्षिया धनसरी र २५ बर्षिया भाई बुहारी पवित्रालाई पनि भण्डारीले धारिलो हतियार हँसिया प्रहार गरी गम्भीर घाईते बनाएका छन् । उनको प्रहारबाट आमा धनसरीको कान र च्युँडो काटिएको छ भने रक्तपिपासु भण्डारीले छोरी पवित्रालाई भेट्न आएका उनका बुबा ७० बर्षका भीम बहादुर क्षेत्रीलाई पनि धारिलो हतियारले छप्काएर गम्भीर घाईते बनाएका छन् ।
भण्डारीले करिब १० बर्ष अगाडी पनि स्थानीय जंगलमा एक महिलामाथी लुटपाट गरि भारतको मद्रास भागेको र अहिले स्थानीय गाउँमा चिया पसल सन्चालन गर्दै आएको स्थानीयबासीले बताएका छन् । हत्यारा भण्डारीका दुई छोरा र एक छोरी छन् ।
यो बिभत्स हत्याकाण्ड गरेर भागेका भण्डारीलाई गाउँलेहरु र फलेवास चौकीका प्रहरीको प्रयासमा कुर्घा गाविसको उल्लेरी भन्ने ठाउँमा भाग्दै गरेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कुस्माबजारमा ल्याई प्रहरीले थप अनुसन्धान गरिरहेको छ । हत्याको कारण र अन्य बिवरण आउन बांकी छ । घाईतेहरुको उपचारका लागि र मृतकहरुको शव पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल कुस्मामा ल्याईदै गरेको प्रहरीले बताएको छ ।
Posted by: Jay Ale