किसान नेता भीमदत्त पन्तलाई फाँसी दिइएको उनन्साठी वर्ष पूरा


खलङ्गा (बैतडी), श्रावण १६ – ‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै सशक्त रुपमा किसान आन्दोलन गर्नुभएका विद्रोही नेता भीमदत्त पन्तलाई तत्कालीन शासकहरुले फाँसीमा चढाएको ५९ वर्ष पुगेको छ । डडेल्धुरा सदरमुकाम अमरगढीबाट एक किलोमिटर दक्षिणमा पर्ने घटाल गाविस–२ (हाल अमरगढी नगरपालिका–२) कारीगाउँमा वि.स. १९८३ मङ्सिर १० गते जन्मनुभएका क्रान्तिकारी योद्धा भीमदत्त पन्तलाई किसान विद्रोह गरेको आरोपमा विसं. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो । 

भीमदत्त पन्तको ५९ स्मृति दिवस सुदूरपश्चिमका बैतडी, डडेल्धुरा, कञ्चनपुर, कैलालीलगायत जिल्लामा भव्यरुपमा मनाइन लागेको भूमि अधिकार मञ्च, राष्ट्रिय दलित नेटवर्कलगायत सम्बद्ध सङ्घसंस्थाहरुले जनाएका छन् ।

उहाँले त्यतिबेला गर्नुभएको किसान आन्दोलनको सन्देश अहिले पनि त्यत्तिकै सार्थक र महत्वपूर्ण रहेको बताउने सङ्घसंस्थाहरुका अनुसार आमा सरस्वती देवी पन्त र बुबा तारानाथ पन्तको कोखबाट जन्मनुभएका भीमदत्त सुदूरपश्चिमका सशक्त किसान नेताका रुपमा चिनिन्छन् ।

गरिब, दलित, जनजाति र किसानको पक्षमा आन्दोलन गर्ने उहाँलाई त्यस्तो नगर्न समाज र परिवारबाटै दबाब आउने गरेपनि ‘म अहिले जे गर्दैछु, भोलि यस्तै हुन्छ त्यसैले आजैदेखि अन्याय, अत्याचारका विरुद्ध लड्नुपर्छ’ भन्ने उहाँको मान्यता रहेको भाइ यदुनाथ पन्त बताउनुहुन्छ । उहाँ अहिले दाजुले भनेझैं भएको अनुभव सुनाउनुहुन्छ ।

तत्कालीन समयमा किसान आन्दोलनलाई सशक्तरुपमा अगाडि बढाएका विद्रोही नेता पन्तका विचारलाई राजनीतिक दलहरुले (विशेषगरी कम्युनिस्ट पार्टीहरुले) आफ्नो आदर्श मानेपनि उहाँले पाउनुपर्ने सम्मान नपाएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य निरा जैरु बताउनुहुन्छ ।

भीमदत्त पन्तको नामबाट कञ्चनपुरमा ‘भीमदत्त नगरपालिका’ र ‘धनगढी–डडेल्धुरा भीमदत्त राजमार्ग’ राखिएता पनि राज्यले औपचारिकरुपमा सहिद घोषणा नगरेको ‘भूमि अधिकार सरोकार समूहकी केन्द्रीय सदस्य सरस्वती नेपालीको गुनासो छ ।

भूमिका लागि नेता पन्तले बढाएको आन्दोलनको अनुसरण गर्दै आम कृषकले उहाँले देखाउनुभएको बाटोमा हिँड्नुपर्ने नेपाली बताउनुहुन्छ ।

किसान नेता भीमदत्त पन्तको जीवनी’bout अध्ययन गर्नुभएका ‘भुमि तथा कृषि अधिकार आन्दोलन’का क्षेत्रीय संयोजक नरिराम लोहार समानता, किसान अधिकार र स्वतन्त्र नेपालको पक्षमा लड्ने पन्तको कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो, भन्ने उक्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुहुन्छ ।

लेखक तथा प्राध्यापक कल्याण ओझाको २०६३ सालमा प्रकासित ‘शहीद भीमदत्त पन्त’ नामक कृतिमा उल्लेख भएअनुसार अन्याय र भेदभाव सहन नसक्ने स्वभावका भीमदत्त पन्तले २००७ सालबाट आन्दोलनको सुरुवात गरेका थिए । त्यसबेला उहाँलाइ भीमदत्त काँग्रेस भन्ने गरिन्थ्यो ।

अन्याय गर्नेलाइ दण्ड सजाय दिने हुनाले समाजका ठालुहरु डराउँथे । कसैलाइ भीमदत्त पन्तले कारबाही गरेको थाहा पाइएमा फलानोको घरमा काँग्रेस पस्यो भनी गाउँमा सन्देश फैलिन्थ्यो । कसैसित धेरै रिसाएर गाली गर्‍यो भने तेरो घरमा काँग्रेस पसोस् भन्ने गरिएको इतिहास जीवन्त रहेको पुस्तकमा उल्लेख गरिएको छ ।

‘उठ जाग रे, नेपाली नवजवान जाग रे’, ‘नेपालमा तमु म, नेपाल देशलाई स्वतन्त्र बनाउँ रे’ भन्ने उहाँको देशभक्ति गीत (प्रार्थना) रहेको उहाँका दाजु यदुनाथ पन्त बताउनुहुन्छ । त्यस्तै, स्थानीय भाषाको ‘बम्बै झाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आया ठालुको काल आयो’ (मुम्बई जाने रेलमा दिल्लीबाट समान आयो, गरिबका दिन आए ठालुहरुको काल आयो) भन्ने उहाँको चर्चित गीत रहेको पन्तले जानकारी दिनुभयो ।

भीमदत्त पन्तकी श्रीमती पार्वती पन्तलाई क्यान्सर भएको बेला उपचारका लागि समेत सहयोग नपाएकामा राज्यले भीमदत्त पन्तलाई बेवास्ता गरेको महसुस उहाँको परिवारले गरेको छ ।

भीमदत्तले उत्तरप्रदेश भारतको सिंहाइबाट संस्कृत विषयमा मध्यमा (हाइस्कुल)सम्मको अध्ययन गरेको पारिवारिक स्रोतले जनाएको छ । आन्दोलनका क्रममा पन्तको सम्बन्ध नेता मनमोहन अधिकारीसँग राम्रो रहेकै कारण २०३६ सालमा अधिकारी उहाँको घरमा पुग्नुभएको थियो । सुरुवातमा काँग्रेस भनी चिनिएका भीमदत्त पन्त माक्र्सवादका अनुयायी रहेको उहाँ सम्बद्ध व्यक्तिहरुको भनाइ छ ।

पारिवारिक स्रोतका अनुसार उहाँका दुई छोरा थिए । बिरामी पर्दा उपचार गर्न नसकेर पाँच वर्षको उमेरमा जेठो छोरा र अढाइ वर्षको उमेरमा कान्छो छोराको मृत्यु भयो । दुवै छोराको मृत्यु भएपछि श्रीमती पार्वती पन्तको आग्रहमा उहाँले महता क्षेत्रीको छोरीसित अर्को विवाह गर्नुभयो । उहाँबाट छोरीको जन्म भयो र आठ वर्षको उमेरमा मृत्यु भयो । छोरीको मृत्युपश्चात् दोस्रो श्रीमतीले अर्को विवाह गरिन् ।

विसं २००९ तिर गाउँका ठूला ठालुहरुलाई अनिवार्य उपस्थित गराई जय दास (एकजना दलित) को हातको पानी खान लगाएको स्मरण गर्दै उहाँका भाइ यदुनाथ भन्नुहुन्छ – ‘दाजुले गरिबहरुलाइ सङ्गठित र एकजुट गर्नुपर्छ भन्ने सन्देश दिँदै सुदूर तथा मध्यपश्चिमका अधिकांश जिल्ला भ्रमण गर्नुभएको थियो ।’

नेता भीमदत्त पन्तले त्यतिबेलाका गरिब सर्वसाधारण जनताले नूनसमेत खान नपाएको देखेर नून आन्दोलनको घोषणा गरेको उहाँ बताउनुहुन्छ । कञ्चनपुरको ब्रह्मदेवमा रहेको गोदामबाट गरिबहरुलाइ नून, कपडा वितरण गरेको दिनमा गरिबहरुको ठूलो जमातले भीमदत्त पन्तको स्वागत गरी भीमदत्त पन्त जिन्दावाद भनी नाराबाजी गरेको उहाँ सम्झनुहुन्छ ।

 त्यहीबेला उहाँलाई गड्डाचौकी भन्सारबाट तत्कालीन शासकहरुले हातखुट्टा बाँधेर नेपालगन्ज पुर्‍याएको र त्यहीँ मार्ने तयारी गरिएको बेला भागेर ज्यान बचाई कञ्चनपुर आएको बताइन्छ । त्यसलगत्तै धर्मसिंह डिट्ठालाई बोरामा बाँधेर महाकालीमा फालेको र जोगराज सुवेदारलाई बोरीमा बाँधेर फाल्न लाग्दा उनको श्रीमतीले बाटोमा गएर बचाएको उहाँको जीवनी अध्ययन गर्नुभएका ‘भूमि तथा कृषि अधिकार आन्दोलन’ का क्षेत्रीय संयोजक लोहार बताउनुहुन्छ ।

उहाँका अनुसार त्यसलगत्तै डडेल्धुरा फर्केर आफ्नो बुबालाई तपाईं पनि सामन्त हो भनी घरमा भएका तमसुखहरु च्याते र त्यसपछि बिष्टहरु (गाउँका ठूलाबडा)को घरमा भएका तमसुखहरु सङ्कलन गरी बोरामा हालेर जलाइदिए । उहाँकै अगुवाइमा माल अड्डामा भएका मोठहरु जलाइयो । त्यसपछि डडेल्धुराका तत्कालीन बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम भई बस्नुभयो । क्रान्तिमा सहयोग गर्नेहरुलाई कर्मचारी बनाएर चार महिनासम्म शासन चलाउनुभएको थियो ।

उहाँ सम्बद्ध विभिन्न कृतिमा उल्लेख भएअनुसार सामन्ती संस्कारका विरुद्ध लड्न पन्तले सेना तयार गरेका थिए । सेनामा पनि दलित र मगरहरु बढी थिए । नेपालगन्जका गौरीलाल र रुपसिंह दुईजना सेनाका कमान्डर थिए । दक्षिण भारत पञ्जावका एकजना विद्वान कृष्ण स्वामी एंगर यस अभियानको योजनाकार रहेको बताइन्छ ।

श्रीनाथ गणबाट लालबहादुर थापा, भीमबहादुर दियाल, तप्तबहादुर थापाको टोली भीमदत्तको खोजीमा हिँड्यो । सेनाले भीमदत्त पन्तको घरमा खानतलासी गर्‍यो । घरमा भएको सामान लुटपाट भयो । २०१० साल साउन १७ गते बुडरको गल्लेक भन्ने ठाउँमा मगरको घरमा खाना पकाउन लागेको अवस्थामा सेनाले फेला पारे ।

दुईवटा गोली लागेर छट्पटाइरहेका बेला भीमबहादुर दियालले टाउको काटिदिए । काटेको टाउको ल्याएर बडाहाकिम मोहनबहादुर सिंहलाई बुझाइयो । भीमदत्त पन्तसित हिँड्ने मोहन सिंह ऐरी, बीरबहादुर खडायतलाई निर्घात कुटपिट गरियो । हाल जिल्ला प्रहरी कार्यालयभित्र रहेको भैरब मन्दिर भएको ठाउँमा बाँसको खम्बा गाडेर त्यसको टुप्पोमा भीमदत्त पन्तको टाउको झुन्ड्याइएको थियो ।

यसरी गरिब, दलित र किसानका लागि ज्यानको आहुति दिनुहुने नेता पन्तलाई राज्यले सहिदको सूचीमा समेत नराख्नु उहाँप्रतिको चरम उपेक्षा भएको सरोकारवालाहरु बताउँछन्

Posted by: Dambar Rimal                                                    Source: ekantipur

Advertisements

One response to “किसान नेता भीमदत्त पन्तलाई फाँसी दिइएको उनन्साठी वर्ष पूरा

  1. kamerd …sahid bhim datha pant sadjali bhav bahyatha garna chanchu……..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.