काभ्रे, श्रावण ८ – जनआन्दोलन-२ का घाइते मुकेश कायस्थलाई जिउँदो सहिद घोषणा गर्नुपर्ने उनका परिवारले सरकारसमक्ष आफ्ना माग राखिरहेको अवस्थामा प्रधानमन्त्री झलनाथ खनालले उनलाई सरकारले जिउँदो सहिद मानेको बताएका छन ।मुकेशको स्वास्थ्य अवस्था बुझ्नको लागि आइतवार बिहान उनको घर आइपुगेका खनालले ‘मुकेश जिउँदो सहिद र आन्दोलनका प्रेरणाका स्रोत’ भएको बताउँदै सरकारले उनीको लागि केही गर्ने आश्वासन समेत परिवारलाई दिए ।
‘मुकेशलाई जिउँदो सहिदकै रुपमा सरकारले लिएको छ,’ उनले भने ‘घोषणा गर्न पनि हामीलाई कुनै आपत्ति छैन, यस’bout के गर्न सकिन्छ सरसल्लाह गर्नेछौं ।’ आफ्नो सरकारले मुकेशको योगदानलाई कदर गर्दै परिवारले लिएका ऋण मिनाह, उनको रेखदेख गर्नको एक जना सुसारे र उपचारको लागि लागेको औषधि खर्च सरकारले नै व्येहोर्ने काम गरेको बताए ।
मुकेशको परिवारले खनालकासामू उनलाई जिउँदो सहिद घोषणा गरिदिन माग राखेका छन । ‘तपाईंले स्वं मुकेशलाई हेर्न आउँदा गर्व लागेको छ,’ उनको आमा मिरा प्रधानमन्त्रीसँग भनिन् ‘सरकारले धेरै कुरा गर्यो हाम्रो लागि । यसमा हामी खुसी नै छौं । उसको योगदानलाई कदर गदै जिउँदो सहिद घोषणा गरिदिए हामीलाई अरु केही चाहिदैन्थ्यो ।’
जनआन्दोलन-२ का क्रममा २०६२ चैत्र २७ गते बनेपा तीनदोबाटोमा प्रहरीको गोली लागेर घाइते भएपछि उनलाई उपचारका लागि ११ महिना वीर अस्पताल र सात महिना काठमाडौंको बाँसबारीस्थित न्यूरो सर्जरी अस्पतालमा उपचार गरिएको थियो ।
टाउकोमा गोली लागेपछि उनी अर्धचेत अवस्थामा थिए । अहिले पनि ओछ्यानमै रहेका उनलाई घरमै परिवारले रेखदेख गरिरहेका छन् । गोली लागेको बेला १५ वर्ष लागेका उनी आठ कक्षाको परीक्षा दिएर परिणामको पर्खाइमा थिए ।
Posted by: Dambar Rimal Source: eknatipur