‘एचआईभी एड्स प्राणघातक होइन ।’ उनको ठम्याई यही छ । ‘समाज र परिवारले अपहेलना नगरे एड्स रोगी पनि अरुसरह बाँच्न सक्छन्,’ शारदा राई अहिले यस्तै सन्देश दिएर जिल्लाभर हिँडेकी छन् । उनी आफैं एड्स रोगी भएको बताउँछिन् ।त्यतिमात्रै होइन, समाजमा एचआईभी संक्रमित भनेर खुल्ने जिल्लाकै उनी एकमात्र महिला हुन् । अहिलेसम्म कसैले आफू एचआईभी भएको खुलेका छैनन् । ‘अन्य जिल्लामा एचआईभी संक्रमित मिलेर संस्था स्थापना गरी खुलेरै काम गरेका छन्,’ शारदाले भनिन्, ‘ओखलढुंगामा भने अहिलेसम्म मबाहेक अरू कसैले खुलाउन सकेनन् ।’
उनी संक्रमितहरू आफ्नो सम्पर्कमा आएर यस्ता सामाजिक कार्य गर्ने र रोगसँग सम्बन्धित जनचेतनामूलक अभियान चलाउने काम गर्न सहयोग गरे अगाडि बढ्न आतुर रहेको बताइन् । ओखलढुंगा गाविस ९ शीतलपुरकी शारदा पेसाले स्वास्थ्यकर्मी हुन् ।
रामपुर इलाका स्वास्थ्य चौकीमा अनमिका रूपमा ११ वर्षदेखि कार्यरत उनलाई एचआईभी सरेको पनि १० वर्ष बितिसक्यो । सिंगापुर पुलिसबाट फर्केका श्रीमानबाट रोग सरेको उनको एक छोरा पनि छन् । श्रीमान पनि अहिलेसम्म तन्दुरुस्तै रहेको र छोरामा एचआईभी नेगेटिभ देखिएको उनले बताइन् ।
‘रोगीको आत्मबल बढाउने र नियमित औषधि सेवनका साथै सामान्य व्यायाम गरे अन्य व्यक्तिझैं स्फूर्त रहन सकिन्छ,’ शारदाले भनिन्, ‘यो रोग लाग्नेबित्तिकै मरिन्छ भन्ने हल्ला बेकार हो । यही कारण धेरैले रोग लुकाएर बसेका छन्,’ उनले गाउँगाउँमा लुकेर रहेका रोगीलाई खुल्न आग्रह गरेकी छन् ।
उनी यतिखेर जिल्लास्थित विभिन्न सञ्चारमाध्यमबाट यस्ता जनचेतनामूलक अभियान सञ्चालन गर्न आफू एचआईभी संक्रमित भएर पनि सामान्य व्यक्तिसरह रहेको जानकारी गराउँदै छिन् । राईले गरेको यो साहसप्रति धेरैले सहानुभूति गरेका छन् । ‘उनको हिम्मतिलो व्यवहारले हामी पनि प्रभावित छौँ,’ जिल्ला जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले भने, ‘समाजमा शारदाले जस्तो कदम सबै एचआईभी संक्रमितले चाल्न सके आगामी दिनमा यसको न्यूनीकरणमा सहयोग पुग्ने थियो ।’
शारदा पनि चेतना अभावकै कारण एड्स रोगीहरू लुकेर बसेको स्विकार्छन् । जिल्लामा एचआईभीसम्बन्धी कुनै कार्यक्रम गर्ने संघसंस्था नहुनु दुःखलाग्दो विषय भएको उनले बताइन् । ‘म एक्लै यस विषयमा लागेर भएन,’ उनले भनिन्, ‘मलाई साथ दिन सबैजना लागिपर्ने र अन्य संक्रमित पनि खुलेर आउने हो भने एचआईभीविरुद्ध अभियान चलाउन सहज हुने थियो,’ राज्यले कुनै पनि एचआईभी संक्रमित व्यक्ति सरकारी सेवामा संलग्न भए त्यसअनुसारको सुविधा उपलब्ध गराउन उनले अनुरोध गरेकी छन् ।
गाउँगाउँसम्म अहिले पनि एचआईभी लागेपछि रोग बढ्न नदिने किसिमका औषधि पुर्याउनुपर्ने उनले बताइन् । रोग नियन्त्रणसँग सम्बन्धित कार्यक्रम वर्षेनी जिल्ला जनस्वास्थ्यले चलाए पनि अझै यहाँ कति संक्रमित छन् यकिन छैन ।
‘अहिलेसम्म कुनै त्यस्तो एचआईभी पोजेटिभ हुने रोगीको संख्या कति छ भन्ने थाहा भएको छैन,’ जनस्वास्थ्य निरीक्षक पवन लामाले भने, ‘समाजमा यो रोग लुकाउने प्रवृत्तिकै कारण शंका लाग्नेबित्तिकै बिरामी जचाउन अन्तै जाने गर्छन् ।’
उपचारका लागि आएका रोगीबाट पत्ता लगाएर सामुदायिक अस्पताल ओखलढुंगाले एचआईभी संक्रमितको लगत संकलन गर्ने गरेको छ । दर्जनौंको संख्यामा रोगी देखिए पनि यकिन तथ्यांक दिन भने नसकिने र गोप्य राख्ने निर्णय भएको अस्पताल स्रोतले जनायो । सरोकारवाला केही व्यक्तिले भने शारदाको साहसको कदर गर्दै एड्सविरुद्ध अभियानमा साथ दिने आश्वासन दिएका छन् ।
posted by: Dambar rimal Source: Ekantipur