काठमाण्डौ/साउन २ । राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टी विधिवत रुपमा विभाजित भएको छ । पार्टीमा रहेका ९ सभासदमध्ये अनिल झाको नेतृत्वमा ४ जना सभासद छुट्टिएर संघीय सदभावना पार्टी गठन गरेका छन् । नयाँ पार्टी गठनसँगै संविधानसभामा दलहरुको संख्या ३१ पुगेको छ । नवगठित संघीय सदभावना पार्टीको अध्यक्षमा अनिल झा, उपाध्यक्षयमा खोभारी राय, सचेतक तथा महासचिवमा महेशप्रसाद यादव र सहअध्यक्षमा मालावती देवी राना छन् । चार सभासदको हस्ताक्षरसहित बिहान पौने ११ बजे नयाँ दल गठन गरेको जानकारी सभामुख सुवासचन्द्र नेम्वाङलाई दिइएको थियो ।
सभामुखलाई नयाँ दल गठन गरेको सूचना दिँदै उनीहरुले महतोले पार्टी एकलौटी ढंगले सञ्चालन गरेको आरोप लगाएका छन् । महतो सत्ता र पदलोलुप भएको, मधेसभन्दा गाउँ, देशभन्दा नाताकुटुम्बलाई प्राथमिकता दिएको र पार्टीमा नातावाद, व्यक्तिवाद हावी भएको भन्दै एकै दलमा बस्न सक्ने अवस्था नभएको उपाध्यक्ष खोभारी रायले बताए । मधेसका नेता स्व.गजेन्द्र नारायण सिंहले गठन गरेको सद्भावना पार्टी यसअघि पनि पटक-पटक विभाजित हुँदै आएको छ ।
Posted by: Jay Ale
Source: N-Patra