केपी ढुंगाना, काठमाडौं,
साउन २ -तीनमहिने बालिकाको उपचार गर्न एबी प्लस ग्रुपको रगत चाहियो। खोज्न कहाँ जाने? कसैले फेसबुकको आईब्लड समूहको वालमा सम्पर्क नम्बरसहित सन्देश पोस्ट गर्यो, ‘मलाई एबी समूहको रगत चाहिएको छ, कोही डोनर हुनुहुन्छ भने सम्पर्क गर्नुहोला।’ धेरै रक्तदाताले फोन गरेर रगत दिने इच्छा देखाए। फेसबुकजस्ता सामाजिक सञ्जालका साइटहरूको प्रयोग साथीहरूबीच सन्देश आदानप्रदानमात्रै हैन, कल्याणकारी काममा समेत उपयोग गर्न सकिन्छ भन्ने उदाहरण हो, आईब्लड समूह।
यो समूहमा ४ सय ९९ सदस्य छन्। ४१ जना रक्तदाताको सम्पर्क ठेगानासमेत राखिएको छ। समूहमा अहिले सन्नीराज कर्णिकारले एबी पोजेटिभ ब्लडको आग्रह गर्दै सन्देश पोस्ट गरेका छन् भने अर्पण श्रेष्ठले बी पोजेटिभ ब्लड खोज्न सदस्यहरूलाई अर्लट गराएका छन्।
फेसबुक समूहमा राखेको सन्देश टि्वटरमा समेत प्रकाशित हुने भएकाले त्यसमार्फत् पनि रक्तदाताहरू सम्पर्कमा आउने गरेका छन्। रगत आवश्यक परेका व्यक्तिले समूहको वालमा लेखेपछि सबैलाई एकैपटक सन्देश जाने समूहका निर्माणकर्ता श्रेष्ठले बताए।
फेसबुकमै क्यान्सरपीडितलाई रक्तदान गर्ने अर्को समूह सक्रिय छ, जसको नारा छ- ‘वी केयर वी सेयर।’ उक्त समूहका ४ सय ३६ सदस्य छन्। फेसबुकमै ब्लड बैंकको नाममा अर्को समूह छ, जसले रक्तदाताहरूलाई एकैथलोमा भेला पार्ने प्रयास गरेको छ।
नेपाल ब्लड बैंक डट ओआरजी, ब्लडमेम्बर डट कम र एनभिबिडिएस डट एनपीले समेत स्वयंसेवी रक्तदाताको नामावली र सम्पर्क नम्बर राखेका छन्। नेपालब्लडमा गएर आफूलाई चाहिएको ब्लड ग्रुप र आफू बस्ने सहर टाइप गरेर खोजेपछि उक्त समूहका रक्तदाताको सम्पर्क नम्बरसहितको विवरण भेट्टाउन सकिन्छ।
ब्लडमेम्बर डट कम अर्को वेब पोर्टल हो, जहाँबाट रक्तदाता समूहसँग प्रत्यक्ष सम्पर्क गर्न सकिन्छ। ब्लडडोनर एसोसिएसन अफ नेपालले सञ्चालन गरेको यो साइटमा गएर आफूलाई चाहिएको रगत र रक्तदाता खोजी गर्न सकिन्छ।
स्वेच्छिक रक्तदाता समाजले पनि रगत खोजिरहेकाहरूलाई सहज बनाउन एनभिबिडिएस डट ओआरजी डट एनपी साइट सञ्चालमा ल्याएको छ।
पछिल्लो समय स्वेच्छिक रक्तदाता र रगतको खोजीमा रहेकालाई तत्काल सम्पर्कमा ल्याउने माध्यम बनेको फेसबुकको सञ्जालमा नौ लाखभन्दा बढी नेपाली सदस्य छन्। सन्देश राख्दा सहजै सम्बन्धित व्यक्तिहरूसम्म पुग्ने हुँदा रक्तदाता खोज्न सहज भएको आईब्लडका प्रबर्द्धकहरूको अनुभव छ।
स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य स्वेच्छिक रक्तदातालाई सम्पर्कमा ल्याउन सामाजिक सञ्जाल प्रभावकारी हुने बताए। ‘सामाजिक सञ्जालमा पोस्ट भएका सन्देशको तत्काल रेस्पोन्स हुनुपर्छ, नत्र बिरामी थप पीडित हुन सक्छन्,’ उनले भने, ‘आएका सन्देशको तत्काल रेस्पोन्स हुने सिस्टम हुनुपर्छ।’
ब्लड बैंकको तथ्यांकअनुसार उपत्यकामामा दैनिक आठ सय प्रिन्ट रगतको माग छ। तर, दैनिक सरदर २ सय प्रिन्ट रगतमात्र उपलब्ध हुने गरेको छ। ‘ताजा रगतका लागि स्वयंसेवी रक्तदाताबाहेक अर्को विकल्प छैन,’ कर्माचार्यले भने, ‘यस्तोमा सामाजिक सञ्जाल र स्वयंसेवी रक्तदाता संगठन प्रभावकारी हुन्छ।’
Posted by: Shiva Paudel
Source: nagarik