नेपालका सबै नेता रोगी !!


“अरु ठूला २८ नेतालाई के-के रोग छन् ? नेताहरुलाई डाक्टरका टिप्स् सहित…”

श्रावण १ । मुलुक चलाउने राजनीतिक दलका अधिकांश नेता रोगी छन् । ठूला दलका सबै ठूला नेताहरू डाक्टरकोमा धाइरहेका छन् र नियमित औषधि सेवन गरिरहेका छन् । ४० नाघेपछि अधिकांश नेपालीलाई गाँज्ने रक्तचाप र मधुमेहको समस्या त नेताहरूलाई सामान्य भइसकेको छ । केही नेता त गम्भीर रोगी छन् ।

नेताहरूलाई स्वस्थ रहन उनीहरूको उपचारमा संलग्न चिकित्सकहरूको सुझाब छ, ‘हिँडडुल गर्नुस्, आवश्यक आराम गर्नुस् र तनाब नलिनुस् ।’ तर, सधैँ व्यस्त देखिने नेताहरूले यी कुराको सन्तुलन मिलाउन सकेका छैनन् । रोग बढाउँदै लगेका छन् ।

मुलुक हाँकिरहेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाल राति आँखा नै देख्दैनन् । रतन्धोको समस्या भएका उनी अँध्यारो भएपछि सहयोगीविना हिँडडुल नै गर्न सक्दैनन् । खनालसित लामो संगत गरेका एमाले सचिव युवराज ज्ञवालीका अनुसार विद्यार्थी राजनीति गर्दा नै खनाललाई टिबी भएको थियो । उपचारपछि टिबी त निको भयो, तर त्यसको ‘साइड इफेक्ट’का रूपमा उनलाई आँखा नदेख्ने रोगले गाँज्यो ।

‘राति आँखा नदेख्ने उहाँको पहिलेदेखिकै समस्या हो, धेरै पहिले उहाँलाई टिबी भएको थियो । उपचारपछि टिबी त निको भयो, तर साइड इफेक्टका रूपमा आँखा नदेख्ने समस्या आयो,’ ज्ञवालीले भने ।

खनाललाई मुटुको पनि समस्या छ । उच्च रक्तचापका कारण कहिलेकाँही मुटुमा समस्या देखिन थालेपछि उनी नियमित चेकजाँच गराउँछन् । पछिल्लोपटक गत वर्ष १६ असारमा प्रधानमन्त्री खनालको श्वासप्रश्वासमा समस्या आएपछि सहिद गंगालाल हृदयरोग केन्द्रमा उपचार गर्न गएका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि उच्च रक्तचाप र मधुमेहको समस्या छ । चिकित्सकहरूको सल्लाहअनुसार उनले नियमित औषधि सेवन गरिरहेका छन् । हरेक दिन बिहान व्यायामलाई निरन्तरता दिने गरेका कारण अहिले दुवै रोग नियन्त्रणमै रहेको उनको पारिवारिक स्रोतले जनाएको छ । प्रचण्डले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदार गजुरेलसित नियमित स्वास्थ जाँच गराउँछन् ।

कांग्रेस सभापति सुशील कोइरालालाई जिब्राको क्यान्सर छ । त्यसमाथि निमोनिया र दाँतको समस्याले पनि उनलाई पटक-पटक दुःख दिने गर्छ । त्यसैले खानपिनमा उनले धेरै ध्यान दिनुपर्छ । कोइरालानिकट स्रोतका अनुसार चिसोबाट जोगिन उनी भरपुर प्रयास गर्छन् भने सारो खानेकुरा खाँदैनन् ।

कोइरालाले केही वर्षअघि अमेरिकामा जिब्रोको क्यान्सरको शल्यक्रिया गरेका थिए भने केही दिनअघि मात्रै ‘फलोअप’ चेकजाँच गरेर फर्केका छन् । आगामी वर्ष पनि उनलाई परीक्षणका लागि आउन चिकित्सकहरूले सल्लाह दिएका छन् ।

माओवादी उपाध्यक्ष मोहन वैद्य किरणलाई दम र रक्तचापको समस्या छ । दुवै रोगको उनले नियमित औषधि लिइरहेका छन् । उनको कुनै पारिवारिक डाक्टर भने छैनन् । डा. रमेश चोखानीसित स्वास्थ जाँच गर्न उनी वेलावेलामा नर्भिक अस्पताल जान्छन् । बुढ्यौलीले छोएका किरणले स्वास्थका कारण खानपिनमा भने विशेष ख्याल गर्नुपरेको छ ।

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालाई पेट र उच्च रक्तचापको समस्या छ । उनले रक्तचापको औषधि नियमित लिइरहेका छन् । गत फागुनमा मात्रै देउवाले सिंगापुरमा पेटको परीक्षण गराएर आएका थिए । स्वदेशमा हुँदा पेटको समस्याका लागि उनी डा. मधु घिमिरेलाई देखाउने गर्थे । तर, डा. मधु हाल मुलुकबाहिर छन् ।

पेटको समस्या देखिन थालेपछि नेता देउवाले रक्सी र चुरोट पनि पिउन छाडेका छन् । स्रोतका अनुसार कहिलेकाँही थोरै ‘वाइन’ भने उनले लिन्छन् । तर, देउवा पत्नी आरजुले भने श्रीमान्लाई अहिले स्वास्थको कुनै समस्या नरहेको दाबी गरिन् ।

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुटुको सामान्य समस्या छ । उनलाई पछिल्लो समयमा उच्च रक्तचापको समस्या देखिएको हो । शारीरिक श्रम नपुगेर रक्तचापको समस्या देखिएपछि नेता नेपालले योग र व्यायामलाई बढाएका छन् । खानपान र दैनिक व्यवहारमा सन्तुलन मिलाउन सकेकाले नेपालको स्वास्थ्यमा गम्भीर खालको कुनै समस्या नरहेको उनीनिकट स्रोत बताउँछ । उनले धुम्रपान र मध्यपान सेवन भने गर्दैनन् । स्वास्थको ख्याल गरेर नै उनले कुखुराको बाहेक अन्य प्रकारको मासु पनि खाने गरेका छैनन् ।

माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई रक्तचापको सामान्य समस्या छ । उनलाई कहिलेकाँही गाडीमा बसेकै वेला रिंगटा लाग्ने समस्या पनि छ । पारिवारिक स्रोतका अनुसार स्वास्थको ख्याल गरेर उनी चिल्लो र पिरो कम खान्छन् । मासु पनि उनी कमै खान्छन् । उनको स्वास्थ पनि मेडिकल काउन्सिलका अध्यक्ष डा. गजुरेलले नै चेकजाँच गर्ने गर्छन् ।

कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेल पनि धेरै थरि रोगबाट पीडित छन् । उनलाई सुगर, पोस्टेड र युरिक एसिडको समस्या छ । युरिक एसिडका कारण वेलावेलामा उनलाई खुट्टामा समस्या देखिने गर्छ । तर, अहिले भने युरिक एसिड नियन्त्रणमा रहेको उनको पारिवारिक स्रोतले जनाएको छ । चिकित्सकहरूको सल्लाहअनुसार नेता पौडेलले सुगर र पोस्टेडको नियमित औषधि लिइरहेका छन् । डाक्टरहरू मानबहादुर केसी, भेजराज जोशी, कविरनाथ योगी र चापलाल भुसालसित उनले चेकजाँच गराउने गरेका छन् ।

एमाले नेता केपी शर्मा ओलीको दुवै मिर्गाैलाले काम नगरेपछि मिर्गौला प्रत्यारोपण गरेका छन् । उनले मिर्गौला प्रत्यारोपण गरेको ६ वर्ष भइसक्यो । तर, त्यसको असर अहिले पनि कायमै छ । नेता ओलीले नियमित औषधि सेवन गरिरहेका छन्, भने प्रत्येक तीन महिनामा स्वास्थ्य परीक्षण गराउन भारतको नयाँदिल्ली जान्छन् ।

नेता ओलीले स्वास्थ्य समस्याकै कारण खानामा मुख बार्ने गर्छन् । अहिले पनि खाना खानुअघि थाल, कचौरा र चम्चालाई उमालेको पानीले पखालेपछि मात्र उनी ती भाडामा खाना खान्छन् । थाल र भाँडाकुँडामा किटाणुको संक्रमण हुने भएकाले तातोपानीले भाँडा निर्मलीकरण गर्नुपरेको हो । त्यसो त, अध्यक्ष खनालजस्तै ओलीलाई पनि राति आँखा नदेख्ने समस्या छ ।

नेतालाई स्वस्थ रहन केही टिप्स…!!

प्रा.डा. ध्रुवप्रसाद सिंह
इमर्जेन्सी विभाग प्रमुख, वीर अस्पताल

झलनाथ खनाललाई: शरीर मोटो छ, तौल केही घटाउँदा राम्रो हुन्छ । समय मिलाएर कामको चाप घटाएमा रक्तचापको समस्या कम हुनसक्छ । नियमित व्यायाम, आराम र हिँडडुल गर्दा राम्रो । नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन पनि गर्नु राम्रो हुन्छ ।

माधवकुमार नेपाललाई: मुटु र रक्तचापको समस्या रहेकाले खानपिन, आराम, व्यायाम र हिँडडुलमा ध्यान दिनुपर्छ । रक्तचापको नियमित मापन गर्नु राम्रो ।

केपी शर्मा ओलीलाई: मिर्गाला प्रत्यारोपण गरेकाले नियमित औषधि सेवन गर्नुपर्ने नै भयो । खाना खाने वेलामा भने सचेत हुनु आवश्यक छ ।

प्रचण्डलाई: उच्च रक्तचाप र मधुमेह समस्या कम गर्न खानपिनमा ध्यान दिनुपर्छ । विशेषगरी उच्च क्यालोरी भएका खानेकुरामा नियन्त्रण, तनाब कम, व्यायाम र दैनिक हिँडडुल गर्नु राम्रो ।

डा. बाबुराम भट्टराईलाई: आवाजको प्रदुषणका कारण श्रवण नर्भमा असर गर्दा गाडीमा बसेको वेला रिंगटा लाग्ने समस्या देखिएको हुनसक्छ । त्यसैले सकेसम्म आवाज कम आउने गाडीमा आउजाउ गर्दा राम्रो । रक्तचापका लागि खानपिन, आराम तथा तनाब कम लिनुपर्छ ।

मोहन वैद्य किरणलाई: दमको लागि त नियमित औषधि नै लिनुपर्छ । रक्तचापका लागि भने खानपिन र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । आराम गर्ने, तनाब नलिने, उच्च क्यालोरीयुक्त खाना कम खानु राम्रो ।

सुशील कोइरालालाई: जिब्रोको क्यान्सरको नियमित उपचार भएकै रहेछ । निमोनिया सधैँको समस्या होइन । चिसो, धुलो-धुँवाबाट जोगिनुपर्छ । रुघाखोकी लाग्ने मौसममा बढी सचेत हुनुपर्छ ।

शेरबहादुर देउवालाई: पेटमा समस्या भएकाले खानपिनमा विशेष ध्यान दिनु राम्रो । खानाको समय र खानेकुराहरू व्यवस्थित तथा तनाब कम, आराम, हिँडडुल आवश्यक ।

रामचन्द्र पौडेललाई: युरिक एसिडका लागि रातो मासु, प्रोटिनयुक्त गेडागुडी खान तथा धूमपान तथा मद्यपान सेवन गर्नहुन्न । प्रोस्टेडको भने उपचार नै गर्नुपर्छ ।

प्रस्तति : प्रवीण ढकाल

नेतै रोगी भएपछि देश कसरी स्वस्थ हुन्छ ?

प्रकाशमान सिंह/महामन्त्री, कांग्रेस: मुटु, सुगर र उच्च रक्तचापको समस्या छ । उनले सुगर र उच्च रक्तचापको नियमित औषधि सेवन गरिरहेका छन् । मुटुको परीक्षण डा. मनबहादुर केसी र सुगर तथा उच्च रक्तचापको परीक्षण डा. बिना श्रेष्ठसँग गराउने गरेका छन् । उनी गुलियो खानेकुरा कमै खान्छन् ।

पोष्टबहादुर बोगटी दिवाकर/एमाओवादी: उच्च रक्तचापको समस्या छ । डाक्टरको सल्लाहअनुसार उच्च रक्तचाप नियन्त्रणका लागि उनी नियमित औधषि सेवन गर्छन् । उनको स्वास्थ्यको डा. मानबहादुर केसीले नियमित जाँच गरिरहेका छन् ।

सूर्यबहादुर थापा/जनशक्ति पार्टीका अध्यक्ष: मुटुको बाइपास सर्जरी गरेपछि नियमित औषधि सेवन गर्छन् । यसबाहेक उनलाई खासै समस्या छैन । उनी हरेक दिन बिहान चार बजे उठेर योगा, व्यायाम र घरपरिसरमै ‘वाकिङ’ गर्छन् ।

शक्तिबहादुर बस्नेत/पोलिटब्युरो सदस्य, एमाओवादी: दुई वर्षअघि दुवै खुट्टामा लागेको गोलीका कारण उनले वेलावेलामा दुःख पाएका छन् । गोली लागेको वेला अप्रेसन गर्दा खुट्टामा राखेको रड ननिकालेका कारण उनलाई समस्या भएको हो । केही वर्षअघि हर्नियाको पनि समस्या देखिएको थियो । तर, अहिले त्यो समस्या ठीक भइसकेको छ । अन्य दीर्घरोग भने छैन । उनले हड्डीसम्बन्धी समस्या भए डा. बाबुकाजी श्रेष्ठ र अन्य समस्या भए डा. दामोदर गजुरेलसँग स्वास्थ्य जाँच गराउँछन् ।

वामदेव गौतम/उपाध्यक्ष, एमाले: मुखको नसामा भएको पक्षघातलाई उनले फिजियोथेरापी गरेर निको बनाएका छन् । मुखको मसल चलाउने नसामा क्षणिक पक्षघात भएर केही समय उनको मुख बांगो भएको थियो । पार्टीको आठौँ महाधिवेशनमा पक्षघात भएपछि उनी उपचार गर्न बैंकक गएका थिए । सुतेपछि घुर्ने र घुर्दा अक्सिजनको मात्रा कम हुने समस्याले ग्रस्त उनी केही समय अघिसम्म मुखमा सी-प्याब लगाएर सुत्ने गर्थे । तर, अहिले त्यो समस्या पूरै निदान भएको छ ।

कृष्णप्रसाद सिटौला/महामन्त्री, कांग्रेस: मुटुको समस्या छ । उनको गतवर्ष मात्र मुटुको आकस्मिक शल्यक्रिया गरिएको थियो । उनमा सुगरका साथै खुट्टा झमझमाउने समस्या पनि छ । रोग नियन्त्रणमा राख्न उनले नियमित औषधि सेवन गरिराखेका छन् । खानामा उनी विशेष सावधानी अपनाउँछन् । उनी उपचारका लागि छिट्टै विदेश जाने तयारीमा रहेका छन् । डा. भरत रावत र डा. जगदीश अग्रवालबाट स्वास्थ्य जाँच गर्छन् ।

कृष्णबहादुर महरा/माओवादी स्थायी समिति सदस्य: युरिकएसिडको समस्या छ । उच्च रक्तचापको पनि उनलाई समस्या छ । डाक्टरको सल्लाहअनुसार उनले नियमित औषधि सेवन गरिरहेका छन् । उच्च रक्तचाप कम गर्न उनी दैनिक दुबोमा हिँडछन् । युरिकएसिडको समस्याका कारण उनी खानपानमा ख्याल राख्छन् । उनले रातो मासु खान छोडेका छन् । डा. काशीराम कुँवरले उनको स्वास्थ्यको नियमित जाँच गर्छन् ।

कमल थापा/अध्यक्ष, राप्रपा नेपाल: स्वास्थ्यमा खासै समस्या छैन । तर, चस्मा नलगाई पढ्न भने उनी सक्दैनन् । टेनिसका खेलाडी उनी हरेक दिन बिहान व्यायाम गर्छन् र टेनिस खेल्छन् । मदिरापान र धुम्रपानबाट उनी टाढै छन् । उनी भन्छन्, ‘मलाई स्वास्थ्यले अहिलेसम्म साथ दिएको छ । खासै समस्या छैन ।’

नारायणकाजी श्रेष्ठ/उपाध्यक्ष माओवादी: घाँटीको नसामा समस्या छ । डाक्टरले उनलाई घाँटीको नसाको अप्रेसन गर्न सुझाब दिएको धेरै भइसकेको छ । तर, राजनीतिक दौडधुपका कारण उनले अप्रेसन गर्न समय मिलाउन सकेका छैनन् । कहिलेकाहीँ उच्च रक्तचापको समस्या पनि देखिन्छ । तर, नियमित योगा गरेर उनले रक्तचापको समस्यालाई नियन्त्रण गर्दै आएका छन् । उनको स्वास्थ्य जाँच भने डा. वसन्त पन्तले गर्छन् ।

विद्या भण्डारी/उपाध्यक्ष, एमाले: रक्तक्यान्सर निको भए पनि उनलाई हड्डीको समस्या छ । लगातार ६ महिनासम्म किमोथेरापी गरेपछि रक्तक्यान्सर निको भएको थियो । तर, रक्तक्यान्सरको प्रभावले हड्डीमा समस्या भएपछि उनको हिपज्वाइन्टको अप्रेसन गरिएको थियो । हड्डीमा समस्या भएकै कारण उनलाई हिँडडुलमा कठिनाइ हुने गरेको छ । हड्डीको समस्या देखिएपछि उनले फिजियोथेरापी गरिरहेकी छिन् । उनी नियमित औषधि पनि सेवन गर्छिन् ।

चित्रलेखा यादव/कोषाध्यक्ष, कांग्रेस: सामान्य बाहेक उनलाई कुनै दीघरोग छैन । उनले भनिन्, ‘मलाई अहिलेसम्म कुनै ठूलो समस्या देखिएको छैन ।’

टोपबहादुर रायमाझी/माओवादी, स्थायी समिति सदस्य: कहिलेकाहीँ छालाको एलर्जी हुन्छ । यसबाहेकका समस्या अहिले देखिएको छैन । तर, पहिले ग्याष्ट्रिकको समस्याबाट उनी पीडित थिए । डा. दामोदर गजुरेलले उनको स्वास्थ्य जाँच गर्छन् ।

विजयकुमार गच्छदार/अध्यक्ष, लोकतान्त्रिक फोरम: आँखाको समस्या छ । उनको देब्रे आँखाको ज्योति गुमेको छ । हरेक दश मिनेटमा उनी दुवै आँखामा औषधि राख्छन् । जतिवेला पनि आँखाको औषधि उनको गोजीमा हुन्छ । उपचारका लागि उनी वेलावेलामा भारत र बैंकक जान्छन् । तर, उनलाई चिकित्सकले देब्रे आँखाको नानी फेर्न नसकिने बताएका छन् । स्वास्थ्यप्रति उनी निकै सचेत छन् । हरेक दिन बिहान दुई घन्टा योगा र व्यायाम गर्छन् ।

रामबहादु थापा वादल/महासचिव, एमाओवादी: पत्थरीको अप्रेसन गरेपछि अरू ठूलो स्वास्थ्य समस्या देखिएको छैन । उनलाई उच्च रक्तचापको सामान्य समस्या छ । उनी रक्तचापको घरमै मापन गर्ने गर्छन् । उनी नियमित डाक्टरसँग जाँच गराउँदैनन् । स्वास्थ्यमा ख्याल गरेर खानपानमा भने उनले सचेत छन् । उनी माछाबाहेक मासु खाँदैनन् ।

अशोक राई/उपाध्यक्ष, एमाले: पेटको सामान्य समस्या मात्र छ । ग्याष्ट्रिकले कहिलेकाहीँ उनलाई सताउँछ । पेटको समस्यालाई ख्याल गरेर उनी खानपानमा ध्यान दिन्छन् ।

गोपालमान श्रेष्ठ/पूर्वउपसभापति, कांग्रेस: ढाडको समस्या छ । दुख्न कम गराउन उनी फिजियोथेरापी गर्छन् । उनले विगतमा पित्तथैली र प्रोस्टेडको शल्यक्रिया गराएका थिए ।

सिपी गजुरेल गौरव/एमाओवादी: खासै समस्या छैन । तर, उनले वर्षमा एकपटक वीर अस्पतालमा इसिजी गराउँछन् । डा. दामोदार गजुरेलले उनको स्वास्थ्य जाँच गर्ने गरेका छन् ।

राजेन्द्र महतो/अध्यक्ष, सद्भावना पार्टी: सुगर र उच्च रक्तचाप छ । उच्च रक्तचापको औषधि नियमित सेवन गर्छन् । दुवै रोगलाई नियन्त्रणमा राख्न उनले दैनिक बिहान डेढ घन्टा व्यायाम गर्दै आएका छन् । उनी भन्छन्, ‘नियमित औषधि सेवन र व्यायामबाट मैले स्वास्थ्यलाई सामान्य रूपमा राखेको छु ।’ सुगरका कारण उनी खानपानमा सचेत छन् ।

कुलबहादुर गुरुङ/पूर्वमहामन्त्री, कांग्रेस: मुटु र सुगरको समस्या छ । गतवर्ष उनले मुटुको शल्यक्रिया गराएका हुन् । कहिलेकाहीँ प्रेसर लो हुने समस्या पनि छ । तर, नियमित औषधि सेवन गर्नुपर्ने अवस्था छैन । उनी माछा, मासु तथा कुनै पनि पेयपदार्थ खाँदैनन् ।

ईश्वर पोखरेल/महासचिव, एमाले: उच्च रक्तचापको समस्या देखिएपछि उनले माछामासु खान चटक्कै छोडेका छन् । यो समस्या कम गर्न उनी नियमित व्यायाम गर्छन् र औषधि पनि लिन्छन् । ‘उच्च रक्तचापका कारण उहाँले मासु र अन्डा खाने गर्नुभएको छैन,’ उनका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘बिहान व्यायाम गरेर पनि यसलाई कम गर्नुभएको छ ।’ उनले स्वास्थ्य परीक्षण चाबहिलको हेल्पिङह्यान्ड अस्पतालमा गर्ने गरेका छन् ।

उपेन्द्र यादव/अध्यक्ष, मधेसी जनअधिकार फोरम नेपाल: ढाडको समस्या छ । उनी नियमित आयुर्वेदिक औषधि सेवन गर्छन् । प्राकृतिक पद्धतिबाट उनी उपचार गराउँछन् । दुई वर्षयता उनमा सुगर देखिएको छ । उनी सुगरको औषधि नियमित सेवन गर्छन् ।

विमलेन्द्र निधि/पूर्वमहामन्त्री, कांग्रेस: सुगर र युरिकएसिडको समस्या छ । उच्च रक्तचापको समस्या पनि झेलिरहेका छन् । उनी नियमित औषधि सेवन गर्छन् । रातो मासु र आलु खाँदैनन् भने भात कम खान्छन् । उनले उसिनेका खानेकुरा बढी खाने गरेका छन् । उनमा शाही शासनकालमा नक्सालमा रहँदा रक्तचाप र दुवाकोट जेलबाट बाहिरिँदा सुगर देखिएको हो । डा. यादव भट्ट, डा. ज्योति भट्टराईका साथै डा. जगदीश अग्रवालसँग उनी स्वास्थ्य परीक्षण गराउँछन् ।

शंकर पोखरेल/सचिव, एमाले: कान कम सुन्छन् र देब्रे कानमा बढी समस्या छ । विद्यार्थी राजनीतिमा रहँदादेखि नै उनलाई कान नसुन्ने समस्या देखिएको हो । उनले सञ्चारमन्त्री भएका वेला हैदरावाद जाँदा त्यहाँ कानको अप्रेसन गराएका थिए । त्यतिवेलै उनले कानमा लगाउने हेयरिङ हेड किनेर ल्याएका छन् । अप्रेसनपछि भने उनले पूरै नसुन्ने देब्रे कानले पनि सुन्न थालेका हुन् । तर, राम्रोसँग सुन्न उनी अहिले पनि देब्रे कानमा हेयरिङ हेड लगाउँछन् ।

रामेश्वर राय यादव/वरिष्ठ उपाध्यक्ष, लोकतान्त्रिक फोरम: सुगरको समस्या छ । सुगर बढेकाले उनी यसै साता अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना भएका छन् । उनी दैनिक तीनवटा इन्सुलिनको इन्जेक्सन लगाउँछन् । उनले थाइराइड समस्याको उपचार पनि गराइरहेका छन् ।

अर्जुननरसिंह केसी/पूर्वसहमहामन्त्री, कांग्रेस: मेरुदण्ड, सुगर र उच्च रक्तचापको समस्या छ । सुगर र रक्तचाप नियन्त्रणका लागि उनी नियमित औषधि सेवन गर्छन् । मेरुदण्डको समस्या समाधानका लागि नियमित व्यायाम पनि गर्छन् । बढी दुखेमा अस्पताल नै गएर फिजियोथेरापी गर्ने गरेका छन् । उनले तौल घटाउन क्याग्नेटिव लगाउने गरेका छन् । स्वास्थ्य समस्या’bout उनले डा. भरत रावत, डा. बिना श्रेष्ठ, डा. शशि शर्माका साथै मेरुदण्डका लागि डा. अशोक बज्राचार्यलाई देखाउने गरेका छन् ।

युवराज ज्ञवाली/सचिव एमाले: सामान्य रुघाखोकी र ज्वरो आएका वेलाबाहेक अस्पताल गएका छैनन् । खानपान, नियमित व्यायामको जीवनशैलीका कारण कुनै किसिमको स्वास्थ्य समस्या नभएको उनी बताउँछन् । ‘अहिलेसम्म मैले एक रात पनि अस्पताल बस्नुपरेको छैन, मौसमजन्य सामान्य स्वास्थ्य समस्याबाहेक मलाई कुनै किसिमको रोग छैन,’ उनले भने, ‘सानैदेखि नियमित व्यायाम र आहारविहारले मेरो स्वास्थ्य राम्रो भएको हो ।’

Posted by: Jay Ale

Source: Nayapatrika

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.