काठमाडौं, असार ३० – सुडान घोटलामा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले पूर्व एआइजी दिपेन्द्रबहादुर विष्टलाई एक करोड रुपैयाँ धरौटी मागेको छ। धरौटी बुझाउन नसक्दा विष्ट बुधबारै जेल चलान भएका छन्। बुधबारै विष्टको बयान र थुनछेक बहसपछि विशेषका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र तथा केदारप्रसाद चालिसेको इजलासले उनलाई एक करोड धरौटी बुझाउन र नसके थुनामा राख्न आदेश दिएको थियो।
विष्टलाई डिल्लीबजार सदर खोर पठाइएको विशेषका रजिस्ट्रार धीरबहादुर चन्दले बताए। तत्कालीन एआइजी विष्ट सुडानमा खटिएका सुरक्षाकर्मीलाई गुणस्तरहीन सामानबापत चौथो र पाँचौँ किस्ता भुक्तान गर्दा प्रहरी कल्याण कोषको सञ्चालक समिति अध्यक्ष थिए।
‘स्पेयर पार्ट्स, टं्याकर र एम्बुलेन्स ढुवानी भाडा बिमा तथा भ्याटसमेतको रकम भुक्तानी गर्ने कार्यमा संलग्न रहेको देखिँदा तत्काल प्राप्त प्रमाणवाट विष्टलाई निर्दोष भन्न सकिएन,’ विशेषको आदेशमा भनिएको छ, ‘उनको पदीय हैसियत एवं निर्णायक भूमिकालाई विचार गर्दा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल एक करोड रुपैयाँ धरौटी वा बुझाउन नसके पुर्पक्षका लागि थुनामा पठाउनू।’
विष्टले कोषको अध्यक्ष हुँदा २०६५ कात्तिक २९ मा स्पेयर पार्ट्सको बिमा, ढुवानी र भ्याटबापत अमेरिकी डलर ६२ हजार ५ सय ८० भुक्तानी गरी सञ्चालक समितिबाट समर्थन गरेको जिकिरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
२०६५ कात्तिक १० गते चौथो र २०६५ माघ १९ गते पाँचौँ किस्ता भुक्तानीका लागि दुईपटक गरी ९ लाख रकम नबिल र एनसिसीलगायत बैंकबाट एलसी खातामा ट्रान्सफर गरेको अभियोगपत्रमा उल्लेख थियो।
एपिसी ढुवानी, पानी ट्यांकी र एम्बुलेन्स ढुवानीमा २ लाख अमेरिकी डलर भुक्तानी दिने निर्णय गरेर कोषको रकम खर्च गरेर सार्वजनिक संस्थाको सम्पत्ति हानि-नोक्सानी भएको ठहर गर्दै अख्तियार दुरुयको ठहर थियो।
सुडान प्रहरी मिसनका लागि एपिसी सामान खरिदमा २८ करोड ८० लाख भ्रष्टाचार ठहर गर्दै जेठ २४ गते अख्तियारले विशेष अदालतमा बिष्टसहित ३४ पूर्व र बहालवाला प्रहरी अधिकृत र दुई ठेकेदारविरुद्ध मुद्दा दायर गरेको थियो।
विष्ट सुडान काण्डमा अदालतमा हाजिर भएका दोस्रा अभियुक्त हुन्। अर्का आरोपी पूर्व आइजिपी हेमबहादुर गुरुङ कानुनी प्रावधानअनुसार बिहीबार आफ्नो प्रतिरक्षा गर्न अदालतमा उपस्थित हुनुपर्छ। विष्टअघि अदालतमा बयान दिन जाने डिएसपी दिनेश केसी अदालतले तोकेअनुसार ३५ लाख धरौटी राखेर मंगलबार थुनामुक्त भएका छन्।
Posted by: Shiva Paudel
Source: nagarik