उजिर मगर,
काठमाडौं, असार ३०- माओवादी अध्यक्ष पुष्पकमल दाहालले पदाधिकारीहरू एकगठ बनेपछि केन्द्रीय समिति बैठक स्थगित गर्दै ‘सबैजना जितेको अवस्था देखिने’ अनौपचारिक प्रस्ताव गरेका छन्। बुझिएअनुसार भट्टराई र थापासँग मंगलबार साँझ र वैद्यसँग बुधबार बिहान भएको छुट्टाछुट्टै भेटमा नयाँ प्रस्ताव गरेका हुन।
‘कार्यविभाजनको समस्या हल गर्न सबै वीन-वीन पोजिसन हुने गरी प्रस्ताव अघि सारौं भनेर अध्यक्ष दाहालले सार्नु भएको छ,’ पार्टी प्रवक्ता दीनानाथ शर्माले भने। ‘सबैको चित्त प्रसन्न हुने गरी’ सबैजना सहमत हुन भनिएको अध्यक्षको प्रस्ताव भने उनले खुलाएनन्।
कार्ययोजनामा एक हुने, तत्कालिन कार्यविभाजन गरेर महाधिवेशनमा जाने मध्यमार्गी बाटो सबैको ‘वीनवीन’ हुनेमा वैद्य, भट्टराई र थापा सहमत भएको दाहाल निकटका स्थायी समिति सदस्य वर्षमान पुनले बताए।
‘राष्ट्रिय राजनीतिमा नयाँ ढंगले कार्यविभाजन गर्न सकिन्छ, यही रूपमा मुख्य नेतृत्वले बीचको बाटो जाने सैद्धान्तिक सहमति भएको छ’, पुनले भने।
शर्माका अनुसार भट्टराईलाई समेत ठोस जिम्मेवारी छैन। ‘उहाँलाई त्यो महसुस भएको छ। पदाधिकारी, स्थायी, पोलिटव्युरो, एकता प्रक्रियाबाट आएका कसैलाई जिम्मेवारी दिइएको छैन,’ भट्टराई पक्षीय उनले भने, ‘कार्यविभाजन वैज्ञानिक ढंगले हुनुपर्छ भन्नेमा सबै एकमत छन्।’
शर्माले अध्यक्ष दाहालले ‘इच्छाले’ संसदीय दलको नेता भट्टराईलाई दिए ‘राम्रो हुने’ बताए। ‘गठबन्धनबाट सत्ताच्यूत नभएको मनोविज्ञानमा हुनुपर्यो। अध्यक्षको चित्त नबुझाई दलको नेता फेर्नु अर्को अति हो। यसले पार्टी, आन्दोलनलाई फाइदा गर्दैन। निषेध गरेर जानु हुँदैन,’ उनले थपे।
अध्यक्ष दाहालले शान्ति र संविधानमा कार्यनीतिक सहमति तथा पार्टी एकता र कार्यविभाजन गर्ने दस्तावेज ल्याउने तयारी गरेको उनी निकटका पोलिटव्युरो सदस्य जनार्दन शर्माले बताए। ‘कार्यविभाजनको प्रस्ताव अध्यक्षले पहिल्यै राख्नुभएको हो,’ उनले भने, ‘संसदीय दलको नेता फेर्ने प्रस्ताव उहाँहरू (वैद्य-भट्टराई)ले पछि ल्याउनुभएको हो।’
संसदीय दलको नेता फेर्दा शान्ति प्रक्रिया टुंगोमा नपुग्ने जिकीर गर्दै शर्माले ‘शान्ति प्रक्रियाको नेतृत्व अध्यक्षबाहेक अरू कसैले गरेर नहुने’ तर्क गरे।
दाहालले नयाँ प्रस्तावमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन लडाकुको पुनर्वर्गीकरण, समायोजनको संख्या निर्धारण र प्रक्रिया, पुनर्स्थांपनाको प्याकेजलाई टुंगोमा पुर्याएर संविधानको मस्यौदा बनाउनेमा जोड दिनुपर्ने बताउँदै आएका छन्।
दाहालको प्रस्ताव
अध्यक्ष दाहालले बुधबार वैद्यसँग भेटघाटमा गरेको प्रस्ताव अनुसार सरकार निर्माणमा तीन विकल्प छन्। यही सरकारलाई निरन्तरता दिएर ३३ प्रतिशत महिला पुर्याउने, माओवादीका सबै मन्त्री फिर्ता बोलाएर नयाँ टोली पठाउने वा राष्ट्रिय सरकारको पहल लिने। त्यसैगरी उनले ‘अर्न्तसंघर्षलाई टुंगोमा पुर्याउन’ महाधिवेशनमा जोड दिएका छन्।
दाहालको उक्त प्रस्तावप्रति थप छलफल, गृहकार्य गर्न वैद्यले समय माग्दै केन्द्रीय समिति बैठक स्थगित गर्न आग्रह गरेका थिए। तीन बजे बस्ने भनिएको स्थायी समिति बैठक सचिव पोष्टबहादुर बोगटी दिल्लीबाट ढिला आएपछि बस्न सकेन।
हस्ताक्षर अभियान जारी
अध्यक्ष दाहाललाई एक्लाउन दुई तिहाई बहुमत पुर्याउने वैद्य- भट्टराईको पहल जारी छ। तर उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य अमिक शेरचन र पार्टी प्रवक्ता दीनानाथ शर्माले पनि हस्ताक्षर गर्न मानेका छैनन्।
मंगलबार साँझ आफ्नो निवास आइपुगेका वैद्य-भट्टराई पक्षका मध्यमपंक्तिका नेताहरूस”ग शर्माले भने, ‘पहिल्यै हस्ताक्षर गरेर बैठकमा आफ्नो मत राख्न नपाउने गरी लाहा छाप लगाउने कस्तो पद्दति हो? के यो अभियान मार्क्सवाद सम्मत छ?’
Posted by: Shiva Paudel
Source: Nagarik