कमजोर भाग्य


सुशील पौडेल
काठमाडौ, अषाढ ३० – सुरुमै फाइट । त्यसपछि नाचगान, फेरि फाइट । गीत र फाइट । संवाद गीत र फाइट जोड्नकै लागि राखिए जस्तो मात्र । उपत्यकामा प्रदर्शन भइरहेको ‘नसिब आफ्नो’ लाई मसलेदार बनाउने प्रयासमा कथालाई महत्त्व दिइएको छैन ।

झन्डै एक घन्टासम्म पनि फिल्मले उठान गरेको द्वन्द्व खुल्दैन । पारिवारिक कथावस्तुजस्तो लाग्ने फिल्ममा हिमाल (विराज) र राहुल (जीवन) दाजुभाइ हुन् । लामो जुल्फी पालेको दाइ हिमाल देख्नमा पुलिसजस्तो नभए पनि बिनाबर्दीमा पनि डयुटी गर्न पाउने इमान्दार र स्वाभिमानी डीएसपी हो ।

उता राहुल पूरा फिल्ममा छाएको छ । कुनै चेलीको उद्धार गर्ने क्रममा वा समस्यामा परेकालाई सहयोग गर्ने क्रममा ऊ सधैं मारपिटमा हुन्छ र त्यसबापत जेलमा पुगिरहन्छ । बिरामी बाबुको खासै वास्ता नगर्ने राहुल कुनै दिन गुन्डाहरूको पन्जाबाट जोगाउने क्रममै आरजु (रेखा) सँग ऊ मोहित भएको छ । विधवा विवाहका लागि आरजुलाई तयार पारेको राहुलले नै पछि खुट्टो तान्छ ।

अस्पतालकै डाक्टरले राहुललाई ब्रेन टयुमरले गाँजिसकेकाले तीन महिनाको आयु मात्रै बाँकी रहेको सुनाइदिएको हुन्छ । आफू मर्ने थाहा पाएपछि भने उसले आरजुलाई पुनः विधवा बनाउन चाहँदैन । ऊबाट तर्किन

खोज्छ । तर फिल्मले अन्त्यमा सिल्ली तर्क दिँदै कथालाई संयोगान्त बनाइएको छ ।

विकास आचार्यको लेखन तथा निर्देशन रहेको ‘नसिब आफ्नो’ मानवीय स्वभावमा खेल्न खोजिएको रुखो फिल्म हो । कुनै पात्रलाई ब्रेन टयुमर भएको देखाएर सबै पात्रलाई रुवाउने अनि अन्तिममा सबै नाटक हो भनेर खुसी ल्याएझैं गराउनु लेखकीय कमजोरी हो । बिग्रेको भाइलाई सुधार्न भनेर कुनै पनि दाइले डाक्टरसँग मिलेर ज्यानै जान्छ भन्नेसम्मको ठट्टा गर्न सक्दैन । मान्छेको सबैभन्दा ठूलो चोट नै मृत्युभन्दा निश्चित मृत्युको पर्खाइ हो भन्ने लेखकले बुझिदिएको भए यस किसिमको फिल्मी हर्कत गर्दैनथे होलान् । वाहियात क्लाइमेक्सले नेपाली फिल्मको हित चाहनेहरूको त्यसप्रति तत्काल मोहभंग गराउनेछ ।

वास्तवमा ‘नसिब आफ्नो’ले आफ्नै भाग्य (नसिब) राम्रोसँग कोर्न सकेको छैन । जबरजस्ती बुनिएको पटकथामा केही थान नाचगान र द्वन्द्वलाई घुसाएर तयार पारिएको फिल्म बन्न पुगेको छ, ‘नसिब आफ्नो’ । तर द्वन्द्व देख्दा लामा भए पनि हेर्दा दमदार भने छैनन् । वसन्त सापकोटा र महेश खड्काको संगीत ठिकै छ । फिल्ममा कुनै पनि दृश्यले कथा प्रस्तुत गर्दैन । क्यामेराको फ्रेममा परेका हरेक पात्रको संवाद नै कथा विकासको माध्यम बनेको छ ।

दिलकुमार प्यासी निर्मित ‘नसिब आफ्नो’ विकास आचार्यको पहिलो निर्देशन हो । त्यसैले पनि फिल्ममा उनको निर्देशकीय परिपक्वता खास देखिँदैन । उसो त उनले यही फिल्मबाटै जीवन लुइँटेललाई डेब्यु गराएका हुन् । जीवन कमेडी चरित्रमा सुहाए पनि भावुक दृश्यहरूमा केटौले देखिएका छन् । संवादहरू नाटकीय लाग्छन् । यस्तोमा, दर्शकहरूले यो फिल्मको बलियो भाग्य कोरिदिने सम्भावना क्षीण छ ।

 Posted by: Shiva Paudel

 

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.