खिलानाथ ढकाल,
विराटनगर, असार २८- रबिन बानियाँ (३२) को शरीरमा एघार वर्षदेखि गोली च्यापिएको छ। विद्यार्थी नेता हुँदै हाल नेपाली कांग्रेसका सक्रिय सदस्य उनलाई धेरै वर्ष बाँचेर राजनीति गर्ने इच्छा छ तर गोली निकाल्न नसक्दा चिन्तित र त्रासपूर्ण जीवन बिताइरहेका छन्। मोरङ कटहरी- ६ का बानियाँले २०५७ सालमा विद्यार्थी आन्दोलन क्रममा प्रहरीबाट गोली खाए। उनको शरीरमा गोली अड्केको यति वर्ष बित्दा पनि निकाल्न सकेका छैनन्।
देब्रे तिघ्रादेखि माथिको भागबाट छिरेको गोली मिर्गौला छेवैमा छ। स्थिर नरही गोली सरिरहँदा उनलाई खपिनसक्नु पीडा छ। ‘जाडो मौसममा झन् सताउँछ,’ उनले भने, ‘गोली सरिरहँदा हड्डीमा ठोक्किन्छ, साह्रै दुख्छ।’
चिकित्सकले गोलीको असर बढ्दै गए भविष्यमा क्यान्सर हुनसक्ने औंल्याएका छन्। ‘धेरै बाँचेर समाजसेवा र राजनीति गर्ने इच्छा छ,’ बानियाँ भन्छन्, ‘गोली निकाल्न नसकिएकाले सपना अधुरै होला भन्ने डर छ।’
महेन्द्र मोरङ क्याम्पसमा आइए प्रथम वर्ष पढ्दै गर्दा भाडा विवादमा विद्यार्थीमाथि यातायात मजदुरले निर्घात पिटेपछि आन्दोलन चर्कियो। २०५७ पुस ५ गते चारपाँच विद्यार्थी विरोधमा निस्के, प्रहरी पनि हजारभन्दा बढी थिए। कांग्रेस नेतृत्वकै सरकार रहेकाले त्यो खबर प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री रामचन्द्र पौडेलकहाँ पुग्यो। पौडेलले अप्रिय घटना ननिम्त्याउन निर्देशन दिए। तर, प्रहरीले आन्दोलन दबाउन गोली चलायो।
थ्री एमएम गोलीले घाइते भएका उनलाई कोसी अञ्चल अस्पताल लगियो। त्यहाँ उपचार नहुने भएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइयो। प्रतिष्ठानमा पनि उपचार भएन। काठमाडौं टिचिङ अस्पतालमा उपचार त भयो तर गोली झिक्न सकिएन।
‘चिकित्सकले गोली लागेको खुट्टा नै जोर्नीदेखि काटेर फाल्नु भने,’ बानियाँ भन्छन्, ‘म र परिवारले त्यो स्वीकार नगरेपछि गोली यतिकै अड्केको हो।’ टिचिङमा तीन लाख खर्च गरे पनि चिकित्सकले गोली झिक्न सकेनन्।
दुई भाइ छोरामध्ये रबिन कान्छा हुन्। उनका दाजु १२ वर्षदेखि काठमाडौंमा छन्। ‘गोली निकाल्न नसक्दा साह्रै पीर लागेको छ,’ रबिनका बुबा जितेन्द्रबहादुर भन्छन्, ‘केही भइहाल्छ कि भनेर डर लाग्छ।’
कांग्रेस क्षेत्रीय कमिटी सदस्य उनी पार्टीले उपचारमा कुनै सहयोग नगरेकामा चिन्तित छन्। ‘गृहमन्त्री छँदा पौडेलले घरमै आएर सहयोग गर्ने आश्वासन दिए तर अहिलेसम्म पाइनँ,’ उनले भने। खुट्टा गुम्ने डरले अन्यत्र सहयोगका लागि पहल नगरेको उनले सुनाए।
लामो समय शरीरमा गोली बोकेर पार्टीका हरेक गतिविधिमा सक्रिय उनलाई गाउँलेले ‘गोली काजी’ नाम राखिदिएका छन्।
चिकित्सकले भने गोलीको अवस्था हेरेर सुरक्षित रूपमै निकाल्न सकिने जनाएका छन्। ‘नशा काटिने सम्भावना हुँदा खुट्टै ड्यामेज हुनसक्छ,’ कोसी अञ्चल अस्पतालका हड्डी रोग विशेषज्ञ डा. नवीन सुवेदीले नागरिकसँग भने, ‘तैपनि अवस्था हेरेर सुरक्षित निकाल्न प्रयास गर्न सकिन्छ।’
गोली कान्डलगत्तै स्ववियु निर्वाचन भएको थियो। कुल मतको ९२ प्रतिशत ल्याएर उनी स्ववियु सदस्य भए। कक्षा ९ देखि नै नेविसंघमा लागेका उनी पार्टी विभाजनपछि देउवा प्यानलतिर छिरे, त्यसपछि दुई वर्ष नेविसंघ जिल्ला सभापति भए।
बानियाँ घाइते हुँदा उद्दारकार्यमा संलग्न पत्रकार कमल रिमाल सकुशल गोली निकालेर उनलाई नयाँ जीवन दिलाउन पार्टीले नसघाएको बताउँछन्। ‘माओवादी विद्रोहमा गोली खाएकाको वास्ता गरिन्छ, विद्यार्थी हकहितका पक्षमा वकालत गर्दा उनलाई परेको मारको लेखाजोखा भएन,’ रिमालले भने, ‘सरकार पक्षबाट गोली खाएर अध्कल्चो भएकालाई बेवास्ता गर्नु अन्याय हो।’
Posted by: Shiva Paudel
Source: nagarik