– डम्बरकृष्ण श्रेष्ठ
“जन्मदातालाई माया गर्ने छोराछोरीको सङ्ख्या घटेको देख्दा मेरो मन कुडिन्छ।”
जुलाई १८८१ मा बेलायतको क्याम्ब्रिजस्थित एडेनब्रुक्स अस्पतालका मेट्रोन एलिस फिशरलाई फ्लोरेन्स नाइटिङ्गेलले लेखेको पत्रमा यस्तो आग्रह थियो, “मसँग तालिममा भर्ना गर्न सकिने भन्दा बढी निवेदन छन्, तर तपाईंबाट त्यस्ता युवतीको सिफारिस होस् जोसँग नर्स हुने इच्छासँगै समर्पण र यो पेशालाई ग्रहण गर्ने गुण पनि होस्।” क्रिमिया युद्ध (सन् १८५३-१८५६)ताका बत्ती बोकेकी महिलाको उपनाम पाएकी करुणाकी प्रतीक नाइटिङ्गेल त्यसबेला सेन्ट थोमस अस्पतालमा आफू जस्तै नर्स उत्पादन गर्ने अभियानमा लागेकी थिइन्। भक्तपुर दूधपाटीकी ललिता धौभडेल (६१)को समर्पण देख्दा उनी १३० वर्षअघि नाइटिङ्गेलले खोजे जस्तै नर्स लाग्दछिन्। ३५ वर्षको सरकारी सेवापछि २०६४ सालमा वीरगञ्ज अस्पतालको नर्सिङ विभाग इञ्चार्जबाट अवकाश लिएकी सिस्टर ललितालाई अहिले पनि बिरामीको सेवा गर्न भ्याई-नभ्याई छ। उनी २०६५ जेठमा आफैंले खोलेको करुणा आश्रममा बिरामी वृद्धवृद्धाको सेवा-सुश्रुषामा दत्तचित्त देखिन्छिन्। अहिलेसम्म १६ जनालाई निको पारेर परिवारसँगै पठाएकी ललिताले अन्तिम अवस्थाका नौ जनाको धेरै स्याहार गरिन्, तर बचाउन सकिनन्।
सेवा नै जीवन
२०२९ सालमा पढाइ सिध्याएर नर्सिङ सेवामा लागेकी ललिताले देशका विभिन्न अस्पतालमा काम गर्दा समयसँगै वृद्ध आमाबाबुप्रति छोराछोरीको व्यवहार रुखो हुँदै गएको र अस्पतालहरूमा समेत बूढाबूढीको बेवास्ता हुने गरेको अनुभव गरिन्। कतिपय डाक्टर-नर्स समेत बूढाबूढीको स्वास्थ्य परीक्षण र हेरविचार गर्न घिनाउने, र्झ्को-फर्को गर्ने गर्दथे। बूढाबूढीलाई घरबाट ल्याएर दिइने खानेकुरामा पनि त्यति आत्मीयता हुँदैनथ्यो। उनी भन्छिन्, “जन्मदातालाई माया गर्ने छोराछोरीको सङ्ख्या घटेको देख्दा मेरो मन कुडिन्छ।”
यही अवस्था देखेर ललिताले डाक्टरको सिफारिस अनुसार बिरामी वृद्धवृद्धाको उपचार र स्याहार गर्ने आश्रम खोलिन्। सडक-गल्लीमा दिसा-पिसाबले लतपथ भएर अलपत्र परेका वृद्धवृद्धाको सेवामा समर्पित उनले आश्रममा एक-एक जना नर्स, आया र स्विपर पनि नियुक्त गरेकी छन्। आर्थिक रूपमा सक्षम रहेछन् भने बिरामीकै छोराछोरीबाट मासिक रु.६००० लिन्छिन्। तर, यस्तो रकमबाट मात्रै आश्रम चल्दैन। यसका लागि ललिताको आफ्नै बचत र पेन्सन समेत खर्च भइरहेको छ।
ललिताका चलचित्र निर्देशक पति विनोद सेरेङ आश्रमलाई आर्थिक सहयोग जुटाउन च्यारिटी शो र कन्सर्टहरू आयोजना गर्छन्। त्यसबाहेक जन्मदिन, ब्रतबन्ध र बिहेका अवसरमा आश्रममा खाना खुवाउन आउने र अरू बेला पनि चामल, दाल र पीठोका बोरा ल्याइदिने दानीहरूबाट केही भरथेग भएको छ। सहयोग गर्न चाहनेहरूले ९८४१४०४६५८ र ०१-६६१०२३७ मा फोन गर्न सक्छन्।
अहिले आश्रममा पक्षघातबाट पीडित ठमेलकी १११ वर्षीया वेदकुमारी कुँवर, अल्जाइमर भएकी बुटबलकी ५५ वर्षीया मीना प्रधानसहित मिर्गौला रोगी, मानसिक सन्तुलन गुमेका वृद्धवृद्धाहरू छन्। आस्तिक भएर पनि मन्दिर धाउन नभ्याउने सिस्टर ललिता यिनै बा-आमाको सेवामा ईश्वरसँग साक्षात्कार भएको अनुभूति गर्छिन्। अवकाशपछि अरू नर्सहरू पनि यस्तै बाटोमा आए हाम्रो समाज पूरै प्रेमपूर्ण हुनेथियो भन्ने ललिता धौभडेलको ठम्याइ छ। दुई छोरा र एक छोरीकी आमा ललिता भन्छिन्, “मेरो लागि हातखुट्टा चलुञ्जेललाई जीवनको नयाँ बाटो खुलेको छ।”
एउटा संयोग !!!
जितकुमार नकर्मी (६५)लाई चार महिनाअघि भक्तपुरको सडकमा बेहाल अवस्थामा भेट्दा सिस्टर ललिता स्तब्ध भइन्। यी त तिनै जितबहादुर दाइ रहेछन्, जसलाई ३० वर्षअघि ललिताका बुबाले घर बनाउने जिम्मा दिएका थिए।
त्यसबेला हट्टाकट्टा जितबहादुर आफ्ना हुर्कंदा छोराछोरीको भविष्यप्रति निकै चिन्तित भएर तिनकै लागि मरी-मरी काम गर्थे। उनका छोराबुहारी अहिले काठमाडौंमा राम्रै बन्दोबस्तका साथ बसेका छन्, तर बाबुलाई भेट्न आउँदैनन् ।
Posted by: Raju Gurung Source: HimalKhabar