माधव ढुङ्गेल, काठमाडौँ, असार २०- रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले एमाले सभासद् नारदमुनी राना थारुलाई उनकै अनामनगरस्थित डेराबाट आज बिहान पक्राउ गरेको छ। उनी एमालेका समानुपातिकमा चयन भएका सभासद हुन्। कुटनीतिक (रातो) पासपोर्ट दुरुपयोग गरेको अभियोगमा पक्राउ पर्ने उनी तेस्रा सभासद हुन्। यसअघि बीपी यादव र गायत्री साहलाई अख्तियारले मुद्दा चलाइसकेको छ। उनीहरु हाल धरौटीमा रिहा छन्।
कैलालीको धनगढी नगरपालिका निवासी राना २०४३ सालदेखि एमालेमा आवद्ध भएका हुन्। उनी संसदको नागरिक सम्बन्ध समिति र विकास समितिका सदस्य हुन्।
रानाको पासपोर्टमा फोटो टाँसेर ई-टिकेट नम्बर ६०७-२७४९६९४०५७ बाट उडेका व्यक्ति ११ डिसेम्बर २०१० मा अस्ट्रेलिया पुगेको र हालसम्म त्यहीँ रहेको नेपाल प्रहरी र काठमाडौंस्थित अस्ट्रेलियन दूतावासले पुष्टि गरेको बताइएको छ। प्रहरीसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यो विषयमा अनुसन्धान गरिरहेको छ। इतिहाद एअरको इएक्स २९१ नम्बरको उडानमा उनी अस्ट्रेलिया उडेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
दरबारमार्गस्थित जया ट्राभल एन्ड टुर्सबाट उनले टिकट काटेका थिए।
त्यसैगरी फोरम सभासद शिवपुजन राय यादवले पनि रातो पासपोर्ट दुरुपयोग गरेको विषयमा प्रहरीले छानबिन गरिरहेको छ। रानाको पासपोर्ट र यादवको पासपोर्ट किनेका व्यक्ति एकै दिन अस्ट्रेलिया पुगेको बताइएको छ।
सभासदको पासपोर्टमा अर्कै व्यक्तिको फोटो !
Posted by: Shiva Paudel
Source: nagarik