समुन्द्र पौडेल,
खैरेनीटार, तनहुँ, असार २० -अविरल वर्षासँगै आएको बाढीले कजवे भत्किएपछि तनहुँको खैरेनीटार र भिमाद बजार जोड्ने म्याग्दे खोला तर्न सर्वसाधारणले २० रुपैयाँ तिर्ने गरेका छन्। स्थानीय युवनले बाँसको भर्याङ बनाई सर्वसाधारणलाई खोला तारेवापत २० रुपैयाँ लिने गरेका हुन्। ‘गाडी हिँड्ने बाटो बाढीले भत्काएको छ, खोलाबाट हिँड्नै सकिँदैन,’ खैरेनीटारबाट आइतबार दिउँसो भिमाद जाँदै गरेकी मन्जु परियारले भनिन्, ‘बाँसको भर्याङबाट खोला तर्दा २० रुपैयाँ तिर्नुपर्यो।’
तीन दिनसम्मको अविरल वर्षासँगै म्याग्दे खोलामा आएको बाढीले सवारीसाधन गुड्ने कजवे दुई मिटर गहिरिनुसाथै करिब ४० मिटर लम्बाइ भत्काएको छ।
‘बच्चा, सामान र बृद्धबृद्धा बोकेर पनि तारिदिन्छौं,’ स्थानीय युवा सागर गुरुङले भने, ‘खोला तारिदिएवापत प्रतिव्यक्ति २० रुपैयाँ उठाएका छौं।’ खोलामा पानीको बहाव बढेर खोला तर्न नसकिने भएपछि स्थानीय शान्तिनगरका नौ युवाले कजवेनजिकै निर्माणाधीन पक्की पुलमा बाँसको भर्याङ हालेर सर्वसाधारणलाई खोला तार्ने गरेका हुन्।
करिब ६ सय ५० रुपैयाँमा बाँसको भर्याङ बनाएका उनीहरूले शनिबार र आइतबारमात्र ३ हजार रुपैयाँ जम्मा गरिसकेका छन्।
कजवे भत्किएपछि आवतजावतमा कठिनाइ भोग्नु परेको स्थानीय अनन्तराज सुवेदीले बताए। उनका अनुसार खैरेनीटारदेखि भिमादसम्म चार ठाउँ पहिरो आएको छ।’ बाटो खुलाउन कम्तीमा डेढ महिना लाग्ने उनले बताए।
तत्काल बाटो खुलाउन पश्चिमाञ्चल सडक डिभिजन कार्यालय दमौलीले स्थानीय स्क्याभेटर सञ्चालकलाई काम गर्न लगाएको कार्यालय प्रमुख शालिग्राम रेग्मीले बताए। अन्य भागको पहिरो हटाएर एक साताभित्र भिमादसम्म यातायात सुचारु गरिने उनले बताए।
कजवे नजिकै कार्यालयले ३ करोड ३ लाख रुपैयाँ लागतमा दुई वर्षदेखि पक्की पुल निर्माण गर्न थाले पनि समयमा बजेट नआउँदा पूरा हुन सकेको छैन।
Posted by: Shiva Paudel
Source: nagarik