– कमल रिजाल
प्रसङ्ग रामायणको हो । मर्ने बेला रावणले लोकवासीलाई भनेका थिए- ‘आजको कामलाई भोलि नभन्नु । जीवनमा स्वर्ग जाने सिंढी बनाउने विचार गरेको थिएँ । भोलि भन्दै टार्दै गएँ । आखिर त्यो भोलि आउँदै आएन । महाभारतमा व्यासजीले पनि यस्तै आशय प्रकट गरेका छन् । उनी भन्छन्- भोलि गर्छु भनेको काम आजै गर्नुपर्दछ । आज गर्छु भनेको काम अहिले नै गर्नुपर्दछ । जीवनको के भरोसा ? कति बेला के हुन्छ कसले भन्न सक्छ र ।
आजको कामलाई भोलि भन्दा पहिलो कुरो त त्यो भोलि नआउनै सक्छ । आइहाले पनि त्यस कामका लागि सो अवसर गुमिसकेका हुनसक्छ । अवसर गुमिसकेपछि भएका काम आफैँमा म्याद नाघेको औषधी सरह भइसकेको हुन्छ । धर्मशास्त्र भन्छ राम्रो काम भए आजको काम आजै गर्नु, भोलि नभन्नु । ‘राम्रो काम भए सकेसम्म भोलिलाई भनेर टार्दै जानु ।’ गीतामा कृष्णले यस्तै आशय प्रकट गरेका छन् । बुद्धले पनि सम्यक कर्ममार्फत यही आशय व्यक्त गरेका छन् ।
आजको कामलाई भोलि नभन्दा अर्थात् तोकिएको काम तोकिएकै समयमा सम्पन्न गर्दा विरोयन पुत्र दानवराज बलिले विष्णुलाई द्वारपाल बनाए । माता लक्ष्मी उनको दरबारमा कुचो लगाउन पुगिन् । प्रल्हादले नरसिंह भगवानको काख पाए हुनमानले रामको चाख पाएछन् । तिनै बालक धु्रव हुन एकताका जसको बाबु उदानपाद र विमाता सुरुचीसमेत विपक्षमा उभिएका थिए । तैपनि उनले हिम्मत हारेनन् र हाजको कामलाई भोलि नभनी अर्थात् अल्छी नगरी कर्तव्य पथमा उठिरहे, जसले गर्दा सारा लोख उनको अनुयायी बन्न पुगे । तिनै राजा उग्रसेन हुन्, जसको विपक्षमा छोरो केशसमेत पुगेका थिए । उनले पनि हिम्मत हारेनन् र निरन्तर कर्तव्यको पथमा खडा भइरहे । फलस्वरूप उनलाई अनायासै राज्य लक्ष्मीले वरण गर्न पुगिन् । त्यस्तै तिनै विभीषण हुन् । जसले एकपटक आफ्नै दाजु रावणबाट देश निकाला हुन परेको थियो । उनले पनि हिम्मत नहारी निरन्तर कर्तव्यपथलाई पछ्याइरहेकाले नचाहँदा नचाँहदै पनि लङ्काको राज्यलक्ष्मी उनलाई वरण गर्न पुगेकी थिइन् ।
प्रकृतिको कुनै पनि शक्तिले आजको कामलाई भोलि भन्दैन । हावा, पानी, आगो माटो कुनैले पनि आजको काम भोलि भन्दैन न रुख विरुवा वनस्पतिले भन्छ न सूर्य, चन्द्र, ग्रह नक्षेत्रले भन्छन् । उनीहरूले आˆनो कार्यलाई अखण्डता दिन सकेकैले उनीहरूको सत्ता अकण्टक छ । अहिलेसम्म कुनै पनि शक्तिले उनीहरूलाई चुनौती दिन सकेको छैन । हिजो पनि उनीहरूको विकल्प उनीहरू नै थिए, आज पनि छन् र भोलि पनि रहनेछन् । मानिसमा भने यसको स्थिति विपरीत छ । मानिस नराम्रो काम भए मात्र सकेसम्म छिटो सम्पन्न गर्न खोज्दछ । राम्रो कामका लागि त भोलिकै प्रवृत्ति हावी छ । उदाहरण खोज्न टाडा जानै पर्दैन । हाम्रो आसपासको गतिविधि नै काफी छ हामीले संविधान निर्माण गर्न भनेर चुनाव गरी दुई वर्षका लागि भनेर संविधानसभाको गठन गरेका थियौं हामीमा भोलिवाद हावी भएकैले तोकिएको समयमा काम सम्पन्न गर्न सकेनौँ एक वर्षको समय थप्यौं तर यहाँ पनि भोलिवादले नछोडेकाले थपिएको समयमा पनि काम सकिने छाँट देखिएको छैन । हिजोसम्म जिब्रो चपाउने पनि अब त खुलेरै थपिएको समयमा पनि संविधान बन्न सक्दैन भन्न थालेका छन् । नराम्रो कामका लागि भने कसैलाई पनि भोलिवादले छोएको छैन । संविधान बनाउन गएका सभासदहरूले पासपोर्ट बिक्री गर्न पनि भ्याएकै छन् र सत्ताका लागि महाभारतमा उत्रने समय पनि पाएकै छन् । अन्य हत्या, हिंसा, घुस, भन्दा आतङ्क आदि त झिनामसिना तथा नित्य कर्मजस्तै भइसकेको छ ।
मानिसले सत्ता टिकाउन के मात्र गरेका छैनन् ? रुसका जार शासक हुन् वा नेपालका राणा र शाहकालका ताना शाही प्रवृत्तिका शासक । इराकका सद्दाम हुसेन हुन् वा इजिप्टका हाँस्नी मुवारक । लिवियाका कर्नल गद्दाफी हुन् वा विश्वका अन्य कुनै यस्तै यस्तै तानाशाही हुन् । तैपनि सत्ता टिकाउन किन सकेनन् र किन सकिरहेका छैनन् ? किनकि सबैलाई राम्रो कामलाई भोलि भन्ने र नराम्रो कामलाई आजै वा अहिले नै भन्ने रोगले गाँजेको छ । कस्तो आश्चर्य प्रकृति केही पनि गर्दैन । उल्टै मानिसले नै उसको अस्तिìवमाथि बलात्कार गर्ने प्रयास गरिरहेको छ । तैपनि उसको सत्ता लिन त के हल्लाउन समेत कसैले सकेका छैनन् । मानिसले हरसम्भव प्रयास गरिरहेका छन् । तैपनि कसैले पनि टिकाउन सकेका छैनन् । कुन शक्तिले प्रकृतिलाई त्यति बढी शक्तिशाली बनायो र के कारणले मानिस यति बढी निरीह भए ? सोच्ने प्रयाससमेत भएको पाइँदैन ।
मानिसको मृत्यु निश्चित छ । गीता भन्छ जन्मेको मर्नका लागि हो मरेको जन्मका लागि हो । संसारमा पौराणिक पात्र अष्टचिरञ्जीवी बाहेक कसैले पनि मृत्यु जित्न सकेका छैनन् । मृत्यु जित्ने ट्याबलेट र क्याप्सुल संसारमा बनेकै छैनन् । रामले पनि संसारबाट विदा लिएकै हुन् । कृष्ण, बुद्ध, ईशु र अर्हन आदि पनि विदा भएकै हुन् । अहिलेकै कुरा गर्ने हो भने पनि जसलाई भगवान् मानेर भक्त प्रार्थना गरिरहेका छन्, तिनै साईबाबासमेत यतिबेला अस्पतालको शय्यामा जीवन र मृत्युको सङ्घर्षमा छन् । अर्थात् मृत्यु माथि कैको पनि वशमा छैन । जन्मेका जति एक न एकदिन मृत्युको वशमा पर्नै पर्दछ ।
एकजना सज्जनलाई मृत्युसित डर लागेछ र हावासमेत नछिरोस् भनेर झ्याल ढोका केही पनि नभएको घर बनाउन लगाएछन् । विडम्बना, जुन दिन उनी त्यस घरमा सरे, त्यसै दिन अक्सिजन नपाएर उनको मृत्यु भयो । यस्तोछ मृत्युको गति । तथापि के चाहिँ हो भने मानिसले चाहेमा जीवनरथको सवाललाई अकन्टक बनाउन नसके पनि यश र कीर्तिको सत्तालाई अमर बनाउन सक्दछन् । यसका लागि बुद्धले भने जस्तै ‘अप दीयो भव’ हुन सक्नुपर्छ र यसका लागि पनि फेरि कुरो त्यही आउँछ राम्रो र सर्वहितकारी काम भए आजै वा अहिले नै गर्नुपर्छ । नराम्रो वा परपीडनकीस काम भए सकेसम्म भोलि भनेर टार्दै जानुपर्दछ । अन्यथा रावणले जस्तै सबैले कालको मुखमा पुगेर पछुताउनुको विकल्प रहन्न ।
Posted by: Raju Gurung