काठमाडौं, १४ असार, सरकारले केन्द्रीकृत रूपमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरेपछि म्यानपावर व्यवसायीहरूलाई वैदेशिक रोजगार कम्पनीहरूको माग पूर्ति गर्न समस्या भएको छ । परराष्ट्र मन्त्रालयले अहिले दैनिक ७ देखि ८ सय प्रतिसम्म एमआरपी वितरण गरे पनि एक म्यानपावरलाई एउटामात्र राहदानी उपलब्ध हुने गरेकाले समस्या आएको व्यवसायीहरूको भनाइ छ । देशभर अहिले म्यानपावर एजेन्सीको संख्या ८ सयको हाराहारीमा पुगेको छ ।
यसअघि जिल्लास्तरमा वितरण हुँदै आएको साधारण राहदानीको ठाउँमा एमआरपी केन्द्रीकृत तरिकाले वितरण भएपछि म्यानपावर व्यवसायीलाई माग धान्न समस्या परेको हो । सरकारले हचुवाको भरमा नयाँ एजेन्सीलाई लाइसेन्ससमेत वितरण गर्ने गरेको व्यवसायीको आरोप छ ।
“अहिले म्यानपावर एजेन्सीको संख्या करिब ८ सय पुगेको छ,” फरेन इम्प्लोइमेन्ट एसोसिएसनका अध्यक्ष प्रेम कटवालले भने, “राहदानी पनि ७÷८ सयको हाराहारीमा मात्र वितरण हुन्छ ।” अध्यक्ष कटवालका अनुसार एउटा म्यानपावर एजेन्सीमा मात्र महिनामा हजारांै माग आउँछ तर राहदानी भने एक म्यानपावर व्यवसायीको भागमा एउटामात्र पर्छ । “कसरी मागअनुसार नेपाली कामदार पठाउन सकिन्छ ?” उनले प्रश्न गरे ।
उनले परराष्ट्र, श्रम मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसमक्ष केन्द्रीकृत राहदानी जिल्लास्तरमा वितरण हुनुपर्ने माग गर्दै आएको जानकारी दिए । “हाम्रो दबाबका कारण अहिले जिल्ला–जिल्लामा पनि राहदानी वितरणको पहल भइरहेको छ,” उनले भने । केन्द्रीकृत राहदानी वितरणका कारण समस्या व्यवसायीलाई मात्र होइन कामदार झन् हजारौं रकम तिर्न बाध्य छन् । कामदारले राजधानी आएर गाडी–भाडा, होटेलमा खान–बस्नलगायत गरी २० हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपरेको उनले बताए । यसका कारण उनीहरू राहदानी बनाउन पनि रुचि देखाउँदैनन् ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बटाजुले नेपालको श्रम गन्तव्य मुलुक खाडी मुलुक र मलेसिया आर्थिक मन्दीबाट मुक्त हुँदै गएकाले नेपाली कामदारको माग बढ्दै गएको बताए । “तर, राहदानी केन्द्रीकृत रूपमा मात्र वितरण हुँदा म्यानपावर व्यवसायीलाई माग पूर्ति गर्न समस्या परेको छ,” उनले भने । उनले सरकारले यसलाई समस्याका रूपमा लिई तत्काल राहदानी सबै जिल्लाबाट वितरण गर्नुपर्ने बताए । यस्तोे समस्याका कारण दुर्गम क्षेत्र र गरिबीमा परेका युवाहरू राहदानी लिन नआएको उनको दाबी छ ।
राहदानीका कारण मागअनुसार कामदार पठाउन नसक्दा नेपालमा आउने माग अन्य मुलुकमा सर्न सक्ने अध्यक्ष बटाजुले बताए । “विदेशी रोजगारदाताले आफूलाई चाहिएको समयमा कामदारको माग गर्छ,” उनले भने, “राहदानी अभावले महिनौंसम्म कामदार पठाउन नसक्ने स्थिति छ । त्यसका कारण रोजगारदाता कम्पनीले अन्य मुलुकमा कामदारको माग गर्ने धम्की दिन्छ ।”
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष बलबहादुर तामाङले पछिल्लो समय विदेशमा नेपाली कामदारको माग बढ्दै गए पनि राहदानी अभाव रहेको बताए । उनका अनुसार दैनिक १ हजारभन्दा बढी नेपाली कामदार विदेश जान्छन् भने बिदाको दिनबाहेक ८ सयमात्र राहदानी वितरण हुँदै आएको छ । राहदानी लिएका मध्ये पनि गैरकानुनी तवरले भारत हुँदै विदेश जानुका साथै व्यक्तिगत रूपले जाने गर्नाले म्यानपावर व्यवसायीलाई माग पूर्ति गर्न समस्या परेको व्यवसायीको भनाइ छ ।
Posted by: Raju Gurung