रिजल्टको लागि निम्न वेवसाईटहरु भिजिट गर्नुहोस् !!
http://www.slcresult.soce.gov.np, http://www.slc.ntc.net.np
http://www. moe.gov.np र http://www.doe.gov.np
अनमोलमणि / मकर
भक्तपुर, अषाढ ७ । २०६७ सालको एसएलसीमा ५५ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फको यो नतिजा गत वर्षभन्दा ९ प्रतिशतले घटी हो । आंशिकतर्फ १७ दशमलव ३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । केन्द्रीय परीक्षा समितिको सोमबारको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमका अनुसार ४ लाख ५४ हजार २२ परीक्षार्थीमध्ये २ लाख ३० हजार ४ सय ९९ सय उत्तीर्ण भएका छन् । नतिजाअनुसार २० हजार १ सय ११ जनाको विशिष्ट श्रेणी (डिस्टिङ्सन) र ८२ हजार ६ सय १९ को प्रथम श्रेणी छ । सबैभन्दा बढी १ लाख ९ हजार ७ सय ९५ जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन् । तेस्रो श्रेणीमा उत्तीर्ण हुनेको संख्या ८ हजार २ सय ४१ छ । नियमिततर्फ २ लाख २० हजार ७ सय ६६ उत्तीर्ण भएका छन् भने आंशिकतर्फ ९ हजार ७ सय ३३ छन् । परीक्षामा ४४ दशमलव ५ प्रतिशत फेल भएका छन् ।
‘झन्डै ४४ प्रतिशत फेल हुनु ठूलो शैक्षिक क्षति हो,’ नियन्त्रक गौतमले नतिजा सार्वजनिकपछि भने, ‘हरेक साल फरक सिकाइ क्षमता भएका विद्यार्थी अध्ययन गर्छन्, त्यसकारण नतिजा तलमाथि परिरहन्छ । यसले विद्यार्थीको क्षमताअनुसार विद्यालयको पठनपाठन प्रभावकारी छैन भन्ने देखाउँछ । प्रभावकारी शिक्षण चलाउन ध्यान दिनुपर्छ ।’
उनका अनुसार ५ नम्बर ग्रेस दिँदा १७ हजार ७ सय ४० विद्यार्थी उत्तीर्ण भएका छन् । उनले यसपालिको परीक्षा सुरुदेखि नै विगत वर्षभन्दा मर्यादित भएको तथा नतिजा प्रकाशनमा पनि मिसिङ कम भएको बताए ।
परीक्षा गत चैत १० देखि १८ सम्म चलेको थियो । प्रारम्भिक अनुमानअनुसार सामुदायिक विद्यालयको नतिजा बढी कमजोर भएको छ । यसको विश्लेषण भने भइसकेको छैन । छात्रा ५१ दशमलव ४४ र छात्र ५९ दशमलव १२ प्रतिशत उत्तीर्ण भएका छन् ।
पछिल्लो पाँच वर्षमा यसपालिको उत्तीर्ण दर कमजोर हो । २०६२ सालमा ४६ दशमलव ५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । २०६३ देखि उत्तीर्ण दर बढेर क्रमशः ५८ दशमलव ६, ६३ दशमलव ७, ६८ दशमलव ५ पुगेको थियो । गत वर्ष -२०६६ साल) को उत्तीर्ण दर ६४ दशमलव ३१ प्रतिशत थियो । शिक्षा सचिव शंकर पाण्डेले अध्ययनपछि मात्रै विद्यार्थी अनुत्तीर्ण कारण’bout विश्लेषण गर्न सकिने बताए । ‘अहिले नै यसको कारण बताउन सकिन्न,’ उनले कान्तिपुरसित भने ।
शिक्षाविद् विष्णु कार्कीले पाठ्यभार, पाठ्यक्रम र परीक्षा प्रणाली विगत वर्षकै जस्तो रहँदा पनि विद्यार्थी उत्तीर्ण दर घट्नु दुर्भाग्यपूर्ण भएको बताए । ‘४० प्रतिशत विद्यार्थीमाथि सरकारले गरेको लगानी खेर गएको छ,’ उनले कान्तिपुरसित भने, ‘यसमा कम मेहनती शिक्षक र विद्यार्थी दुवैको कमजोरी देखिन्छ ।’
यसपालि १ लाख ४४ हजार विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् । उनीहरूका लागि साउन २३ देखि ३० गतेसम्म पूरक परीक्षाको व्यवस्था गरिएको पनिकाले जनाएको छ । प्रत्येक वर्ष सबैभन्दा बढी विद्यार्थीले एकैसाथ राष्ट्रियस्तरको परीक्षा दिने भएकाले एसएलसी चासोका रूपमा लिइन्छ । विक्रम संवत् १९९० सालदेखि एसएलसी सुरु भएको हो । सरकारले सन् २००९ देखि लागू गरेको विद्यालय क्षेत्र सुधार कार्यक्रमअनुसार सन् २०१५ देखि विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुनेछ भने कक्षा १० को परीक्षा क्षेत्रीय रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ ।
बिहान सबेरैदेखि काममा जुटेका परीक्षाका कर्मचारीले अपराह्न नतिजा सार्वजनिक गरेका थिए । विगतमा झैं सर्वसाधारणको घुइँचो भने कम थियो । सञ्चारकर्मीको भने भीडभाड थियो । कार्यालयमा यसपालि नतिजा नटाँस्दा पनिकामा आएका विद्यार्थी निराश भएका थिए । ‘पोहोरको जस्तो टाँस गर्छ होला भनेर हेर्न आएका थियौं,’ लोकन्थलीबाट नतिजा हेर्न सानोठिमी पुगेकी अस्मिता राउतले भनिन् । टेलिफोन, मोबाइल र इन्टरनेटमा नतिजा सार्वजनिक गरिएकाले पनिकाले भित्तामा टाँस्ने परम्परा यसपालिदेखि हटाएको हाे ।
साइबरमा भीडभाड
पनिकाले सरकारी वेबसाइटमा मात्र नतिजा राखेपछि सर्वसाधारणले बेलैमा नतिजा हेर्न पाएनन् । विगतमा निजी संघसंस्थाको वेबसाइटमा समेत नतिजा दिने गरे पनि यस वर्षदेखि बन्द गरेको छ । सरकारी वेबसाइटमा नतिजा बेलैमा हेर्न नपाएको सर्वसाधारणको गुनासो थियो । पेन ड्राइभमा लगिएको नतिजा हेर्न पनिका वरिपरिको साइबरमा अबेरसम्म भीडभाड थियो । पास/फेल हेरेको पाँच रुपैयाँ लिने गरेका थिए । समाचार संकलन गर्न गएका सञ्चारकर्मीसमेत पेन ड्राइभमा ल्याएको रिजल्ट ल्यापटपमा राखेर हेर्न व्यस्त थिए । प्रहरी पनि हातमा नम्बर लिएर रिजल्ट हेर्न आतुर देखिन्थे । पनिकाको बोर्ड बैठकका सदस्य पनि पेन ड्राइभमा नतिजा लिन गोप्य बैठकमा कुरेर बसेका थिए ।
जुम्ल्याहा विशिष्ट श्रेणीमा
बैतडी पाटन स्थायी घर भएका जुम्ल्याहा छाया र किशोर कठायत विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् । उनीहरूले एसियन पब्लिक स्कुलबाट परीक्षा दिएका थिए । जुम्ल्याहाका बुबा दान सिंहले छोरी छायाको नर्सिङ र छोरा किशोरको व्यवस्थापन विषय पढ्ने इच्छा रहेको बताए ।
आकृतिको ९४.२ प्रतिशत
काठमाडौं (कास)- एसएलसीको सोमबार सार्वजनिक नतिजाअन्तर्गत भक्तपुर कटुन्जेकी आकृति पाण्डेले ९४ दशमलव २५ प्रतिशत अंक ल्याएकी छन् । स्थानीय ओम सेकेन्डरी स्कुल कटुन्जेमा अध्ययनरत उनको प्राप्ताङ्क सम्भवतः सबैभन्दा बढी भएको अनुमान गरिएको छ । कुल ८ सय पूपूर्णाङ्कमा उनले ७ सय ५४ ल्याएकी छन् ।
०२८१९०९ ‘क्यू’ सिम्बोल नम्बर भएकी उनले कुल सय पूणर्ाङ्कको विषयमा अंग्रेजीमा ९६, नेपालीमा ८४, गणितमा ९९, विज्ञानमा ९७, सामाजिकमा ९१, स्वास्थ्य जनसंख्या र वातावरणमा ९७, ऐच्छिक गणितमा ९६ र कार्यालय व्यवस्थापन तथा लेखामा ९४ ल्याएकी छन् ।
उनी कृषि विकास बैंकमा कार्यरत पिता सानुभाइ र गुन्डुको ज्योति निमाविकी शिक्षिका मुनाकी छोरी हुन् । विद्यालयकी पि्रन्सिपल सानु घिमिरेले उनी नर्सरीदेखि नै प्रथम छात्रा भएको बताइन् । आकृतिले आफू विज्ञान विषय लिएर पढ्ने बताइन् । सोमबार साँझ अबेरसम्म उनी बधाई लिन व्यस्त थिइन् ।
पुरक साउनदेखि
यसैबीच परीक्षा नियन्त्रण कार्यालयले दुई विषय अनुत्तीर्ण विद्यार्थीका लागि साउन २३ देखि ३० गतेसम्म पुरक परीक्षाको व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयल जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गरेको नतिजा कान्तिपुरको K’MAZZA सेवामा पनि SMS गरेर प्राप्त गर्न सकिने छ । नतिजा प्राप्त गर्नका लागि: SLC <स्पेश> सिम्बोल न. टाइप गरी ८०८० मा SMS पठाउनु पर्नेछ ।
Posted by: Jay Ale Source: Patrapatrika