झस्किए सभासदहरू


आइतबार बिहान ५ बजे सभासद र दलका नेताहरू संविधानसभाको म्याद फेरि तीन महिनाका लागि थप्दै थिए । रातभर अनिँदो भएर बैठक पर्खेका सभासदहरू कोही आँखा मिच्दै थिए त कोही उँग्दै ! भर्खर संविधानसभाको म्याद थप्ने सहमति भएकाले बैठकस्थलमा चहलपहल बाक्लै थियो । एक्कासि ठूलो आवाज सुनियो- डयाङ्.. ड्याङ.. ड्याङ..।

आवाजले सबैको ध्यान तान्यो । ‘के भएको हँ ?’ उनीहरू झस्किए । राति १२ बजे नै सकिएको संविधानसभाको म्याद भोलिपल्ट बिहान थपिँदै थियो, राजनीतिक अन्योलले एउटा निकास पाउँदै थियो । त्यसैले पनि यस्तो आवाजले झस्काउनु स्वाभाविक थियो ।

 सुरुमा के र किन पड्कियो भन्ने कसैले ठम्याउन सकेनन् । पछि मात्रै धेरैको मुखबाट निस्किहाल्यो- ‘ए, आज १५ जेठ, गणतन्त्र दिवस !’ बिहान चियाको चुस्कीसँगै तोप पड्कँदा संविधानसभा भवनभित्रै थिए- प्रधानमन्त्री झलनाथ खनाल । भोक, निद्रा र थकान बिर्सेर संविधानसभा भवनमै रात कटाएका प्रधानमन्त्री खनाल साढे ६ बजे बैठक सकिएपछि सोझिए- सहिदमञ्च टुँडिखेल जहाँ सुरु भएको थियो गणतन्त्र दिवस समारोह ।

क्षणभरमै राष्ट्रपति रामवरण यादवदेखि उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवास नेम्वाङ, प्रधानन्यायाधीश खिलराज रेग्मी, प्रधानसेनापति, मन्त्री, सभासद, निजामती कर्मचारी, पत्रकारलगायत विशिष्ट व्यक्तिको भीड लागिसकेको थियो ।

अघिल्ला तीन वर्षमा जस्तै सेना, प्रहरी, सशस्त्र प्रहरी बल, विद्यालय, स्काउट र विभिन्न संघसंस्थाको आयोजनामा उस्तै खालको झाँकी र कवाजको प्रदर्शन भए ।

शनिबार पूरै रात संविधानसभा भवनमै बिताएका प्रधानमन्त्री, मन्त्री र सभामुखको मात्र होइन, राष्ट्रपति र अरू उपस्थितहरूको अनुहारमा पनि थिएन कुनै चमक, उत्साह र उमंग । नेपाली सेनाको टोलीले विमानबाट विगतमा जस्तै पुष्पवृष्टि गर्‍यो अनि अतिथिले शान्तिका प्रतीक सेतो परेवा उडाए ।  पहिलो गणतन्त्र दिवस मनाइँदाजस्तो टुँंडिखेल ’roundको फलामे बारमा न सर्वसाधारणको घुइँचो थियो न बाहिर अरू कुनै विशेष कार्यक्रम । सहिदमञ्चमा सामान्य कर्मकाण्डमै गणतन्त्र दिवसको रमझम सकियो ।

२०६५ जेठ १५ मा बसेको संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गरेको थियो । त्यसपछि हरेक वर्ष जेठ १५ लाई गणतन्त्र दिवस मनाउने गरिएको छ ।

गणतन्त्र निम्त्याउन ज्यान दिने सहिदको सम्झना नभएकामा आइतबार गणतन्त्र दिवस समारोह सहिद परिवारका लागि दुःख पोख्ने ठाउँसमेत बन्यो-

‘कहिले मुहार फेर्ला यो जगत्ले सराप्ला है सहिदको रगतले..’ प्रधानमन्त्री खनालले गणतन्त्रको उपलब्धिलाई अझ उन्नत स्तरमा अघि बढाउनु जरुरी रहेको बताए । यसैबीच, कांग्रेसले विज्ञप्तिमार्फत ‘लोकतन्त्रको स्थापना, पुनःस्थापना र यसको सुदृढीकरणका निम्ति प्राणको आहुति दिने ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जलि’ व्यक्त गरेको छ

Posted by: Dambar Rimal                                                               Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.