६ पूर्वगृहमन्त्रीलाई गाडी फर्काउन निर्देशन


काठमाडौ, वैशाख ३० – गृह मन्त्रालयले छ पूर्वगृहमन्त्रीलाई दिएको सरकारी गाडी सुविधा फिर्ता गर्न आग्रह गरेको छ । संसद्को सार्वजनिक लेखा समितिको निर्देशनबमोजिम गृहमन्त्री कृष्णबहादुर महराले मन्त्रालयस्तरीय निर्णय गरी उनीहरूलाई पत्र पठाएर गाडी सुविधा फिर्ता गर्न आग्रह गरेका हुन् । मन्त्रालयले पदबाट बाहिरिएको तीन वर्ष बढी भएका चार पूर्वगृहमन्त्री र पदमा बहाल रहँदा चढेको गाडी नै जबर्जस्ती लैजाने दुई पूर्वगृहमन्त्रीसित लिखित निर्देश गरेको हो ।

पदबाट बाहिरिएको तीन वर्षभन्दा बढी समयसम्म गाडी सुविधा लिइरहेकामा पूर्वगृहमन्त्रीहरू रामचन्द्र पौडेल, केपी ओली, खुमबहादुर खड्का र पूर्णबहादुर खड्का छन् । सरकारले पौडेललाई महेन्द्र स्कर्पियो, ओलीलाई निसान, खुमबहादुरलाई किया कार र पूर्णबहादुरलाई ल्यान्डक्रुजर गाडी सुविधा दिएको छ ।

‘गृहमन्त्री भएको तीन वर्ष बढी भइसकेका पौडेल, ओली, खुमबहादुर र पूर्णबहादुरलाई मन्त्रिपरिषद्को निर्णयअनुसार पूर्वगृहमन्त्रीको हकमा पदबाट बाहिरिएको तीन वर्षसम्ममात्र गाडी सुविधा दिने व्यवस्था छ, सार्वजनिक लेखा समितिले सरकारी निर्णय र मापदण्डविपरीत गाडी सुविधा नदिन निर्देशन दिएकोसमेत जानकारी गराइन्छ,’ गृहले लेखेको पत्रमा उल्लेख छ ।

उनीहरूलाई गृह मन्त्रालयमार्फत गाडी चालक, प्रतिमहिना २/२ सय लिटर पेट्रोल र गाडी मर्मत खर्चसमेत दिँदै आएको छ । ओलीलाई अगाडि/पछाडि गाडीसहितको सशस्त्र र नेपाल प्रहरीको सुरक्षासमेत दिइएको छ । त्यसका लागि सशस्त्र र नेपाल प्रहरीले २/२ सय लिटर थप इन्धनसमेत दिँदै आएको छ् । पूर्वगृहमन्त्रीहरू योगप्रसाद उपाध्याय, गोविन्दराज जोशी, बद्री मण्डल, कमल थापा, धर्मबहादुर थापा, दानबहादुर शाही, बुद्धिमान तामाङलगायतले भने सरकारी गाडी सुविधा लिएका छैनन् ।

मन्त्रालयले पदबाट बाहिरिएको तीन वर्ष नपुगे पनि पूर्वगृहमन्त्रीद्वय वामदेव गौतम र भीम रावललाई समेत गाडी सुविधा फिर्ता गर्न लिखित आग्रह गरेको छ । आफू पदमा बहाल हुँदा चढेको गाडी बहिर्गमन हुँदा जबर्जस्ती लान नमिल्ने सार्वजनिक लेखा समितिको निर्देशन रहेको उल्लेख गर्दै मन्त्रालयले गौतम र रावललाई गाडी फिर्ता गर्न आग्रह गरेको जानकारी गृहका अधिकारीले दिए ।

गौतमले इसुजु ट्रुपर र रावलले मित्सुबिसी पजेरो पदबाट बहिर्गमन हुँदा जबर्जस्ती लगेका थिए । रावलले निवर्तमान हुँदा गाडी लाने उद्देश्यले नै आफू पदमा बहाल हँुदा आफैंले मन्त्रालयबाट निर्णय गराई उक्तमित्सुबिसी पजेरो डेढ करोड रुपैयाँमा खरिद गराएका थिए । गृहले उनीहरूलाई पनि मासिक २/२ सय लिटर पेट्रोल र मर्मत खर्च दिँदै आएको छ ।

‘सार्वजनिक लेखा समितिले कुनै पनि पदाधिकारीले आफू पदमा बहाल हुँदा चढेको गाडी बहिर्गमन हुँदा लान नपाइने निर्देशन दिएको छ, समितिले मापदण्डबमोजिम पूर्वगृहमन्त्रीहरूलाई विलासी र महँगा होइन मितव्ययी गाडी सुविधा दिन निर्देश गरेको छ,’ गृहले गौतम र रावललाई लेखेको पत्रमा भनिएको छ ।

गौतम र रावलबाट विलासी गाडी फिर्ता गरेर पदबाट बाहिरिएको तीन वर्षसम्म मितव्ययी गाडी दिने तयारी गृह मन्त्रालयको छ । पदबाट बाहिरिएको तीन वर्ष नपुगेका अर्का पूर्वगृहमन्त्री कृष्ण सिटौलालालाई भने गाडी सुविधा फिर्ता गर्न आग्रह नगरिएको जानकारी स्रोतले दियो । उनलाई पदबाट बाहिरिएपछि गृह मन्त्रालय आफैंले गाडी दिएकाले सुविधा फिर्ता गर्न आग्रह नगरिएको हो।

पूर्वप्रधानमन्त्रीलाई इन्धनमा भेदभाव सरकारले पूर्वप्रधानमन्त्रीलाई दिने इन्धनमा समेत भेदभाव गरेको छ । एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरूमध्ये अरूलाई भन्दा माधव नेपाललाई बढी इन्धन सुविधा दिएको छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधव नेपाललाई गाडी सुविधा छ । २/२ सय लिटर पेट्रोल दिने प्रावधान भए पनि खनाल नेतृत्वको सरकारले केही दिनअघि मन्त्रिपरिषद्बाट निर्णय गराई नेपाललाई मात्र प्रतिमहिना तीन सय लिटर पेट्रोल दिने निर्णय गरेको हो । पूर्वप्रधानमन्त्री दाहालले गाडी सुविधा लिए पनि गृह मन्त्रालयबाट इन्धन र मर्मत खर्च लिएका छैनन् । पाँचै पूर्वप्रधानमन्त्रीले आफू पदमा बहाल हँुदा चढेको गाडी लगेका छन् ।

Posted By:  Narayan Nepal                                                        Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.